ताजा अपडेट »

मृत्युको आयु !

मंगलबार, २४ माघ २०७९, १७ : ५७
8 Shares

बुटवलको ऐतिहासिकता लामो छ । बटुलिएर बटौली बनेको भन्छन् कोही । कोही बट् वाल भन्दाभन्दै बुटवल भएको किंवदन्ती सुनाउँछन् । बटौलीको अपभ्रंस नै बुटवल भन्छन् कसैले । बुद्धवली नै बुटवल भन्नेहरु पनि छन् । चाहे जेहोस् बुटवल यतिबेलाको प्रख्यात सहर बनेको छ ।

हामी देशका धेरै जिल्लाबाट सिएमए पढ्नका लागि २०५२ सालतिर बुटवलमा बटुलिएका थियौं । एक वर्ष सैद्धान्तिक कक्षा र ६ महिना हामीले प्राक्टिकल गरेर करीव डेढ वर्ष बुटवलमा बितायौं । हामीले पढ्ने सिएमए क्याम्पस यतिबेला बुटवलमा छैन । तिनाउ पुलको छेउमै जीतगढी किल्ला जाने बाटोनिरै सो क्याम्पस थियो । दिनेश जोशीहरुले सञ्चालन गरेका थिए । दिनेशले नि संसार त्यागे ।

करीव २७ वर्ष अघि सिएमए पढ्दाका साथीहरुका कुरा गर्दैछु । त्यतिबेला पढेका साथीहरु यतिबेला देशका धेरै स्थानहरुमा स्वास्थ्यकर्मीका रुपमा सेवा गर्दैछन् । त्यसबाहेक केही साथीहरु स्थानीय सरकारका जनप्रतिनिधि भएका छन् । कोही जनप्रतिनिधिबाट बिदा लिइसकेका छन् । कोही साथीहरु शिक्षण,प्राध्यापन गर्दैछन् । कोही साथी कृषि मन्त्रालयमा रातो मसीले हस्ताक्षर गर्ने हैसियतमा पुगेका छन् । कोही साथीहरु मजस्तै निवृत्त जीवनमा खुसी मनाएर डुल्दै होलान् ।

२०७८ सालको बैसाख ११ गते हामी साथीहरुकाबीच पुनर्मिलन कार्यक्रमको आयोजना गरेका थियौं तर सरकारले कोरोना संक्रमणका कारण २५ जनाभन्दा बढी भेला हुन नदिने भएपछि स्थगित ग¥यौं । यसवर्ष हामीले यही फागुन ७ गते सक्दो साथीहरुको उपस्थितिमा हाम्रो पुनर्मिलन कार्यक्रम गर्दैछौं । सोही सन्दर्भमा हाम्रा प्रिय साथी विश्व पौडेलले एउटा कवितामार्फत सबैलाई पुनर्मिलन कार्यक्रममा भेटनका निम्ति अनुरोध गरेका छन् ।

सामाजिक सञ्जालको जमाना छ
मरिएछ भने सम्झनामा श्रद्धाञ्जली आउला
एक मिनेट मौनधारण गरेर शोक मनाउलान्
तर
मैले त कहाँ देख्न पाउँछु र साथी ?
त्यसैले
मृत्युपछिको श्रद्धाञ्ज्लीभन्दा
पुनर्मिलन कार्यक्रममा भेटौ न
उतिबेलाका सम्झनामा यतिबेला हाँसौला
खुसी साट्लौ, दुःख बाँडौला
आखिर मरि लानु पो के छ र ?

यो कविताले पनि हामीलाई पुनर्मिलन कार्यक्रममा भेट्ने सन्देश दिएको छ । सबै सधैं त को पो बाँच्छ र ? मृत्युको आयु कसलाई पो थाहा छ र ? हामीसँग पढ्दाका साथीहरु निर्मल भण्डारी(गुल्मी), देवी गोदार(पाल्पा), तिर्कामणि गैरे ( गुल्मी) हरिबहादुर जीसी(प्युठान), मुमाराम भुसाल( अर्घाखाँची) लाई गुमाएका छौं । उनीहरु हाम्रा प्रीय साथीहरु थिए । निर्मल मिलनसार थिए । देवी वजनदार थिइन् । तिर्कामणि गायन र नृत्यमा प्रखर थिए । हरिबहादुर गम्भीर खालका देखिन्थे । मुमाराम मुसुक्क हाँस्ने खालका थिए । तिर्कामणि जापानमा रहँदा ज्यान गुमाउन पुगेको उनका दाजु पर्ने दिनानाथ भण्डारीले बताएका थिए । सीता पराजुलीका अनुसार देवीको मृत्यु कोरोनाको दोस्रो लहरमा हुन पुग्यो । अरु साथीहरु कसरी बिते पुनर्मिलन कार्यक्रममा बताउलान् । उनीहरुप्रति हामीले श्रद्धाञ्जली ब्यक्त गर्नेछौं । सम्भव भएमा कुनैदिन उनीहरुका परिवारलाई भेट्न सम्बन्धित स्थानमा जान प्रयत्न गर्नुपर्नेछ ।

सिएमएमा पढ्दा हामीसँग ८० जना साथी थिए । देशका दूरदराजबाट पढ्न आएका थिए । पढेर पास भएपछि साथीहरु स्वास्थ्यकर्मी भए । गाउँले डाक्टर भए । दाम छापे धेरैले । मणि पंगेनीले वालिङ्ग बजारमा घर हेर्दा टोपी खस्ने बनाए । जगन्नाथ पराजुलीले सुनवल बजार नजिकै बिशाल घर बनाएका छन् । ऋषि आचार्यले काठमाडौंमा घरजग्गा जोडे । कुलबहादुर आलेले आले मेडिकल चलाएर भुसुक्कै दाम जम्मा गरे । छोटो समयमा पढिने सिएमए पढाइले साथीहरुको उन्नति प्रगति भुसुक्कै भएको छ । बुद्धिप्रसाद पन्थ,भागिरथ रानाले पनि राम्रो आम्दानी गरेका छन् जागिर र क्लिनिक चलाएर । सो पढाईले मलाई स्वास्थ्य विषयमा साक्षर बनायो । स्वास्थ्य विषयमा स्नातकोत्तर गर्न सजिलो भयो । सोही विषय पढाउने शिक्षक हुन पाएँ ।

त्यतिबेला हामी १६ देखि ३६ वर्षभित्रका थियौं । कसैमा केटाकेटीपना थियो । कोही पाकापुस्ताका थियौं । तैपनि हामी एकअर्काबीच मित्रतापूर्ण व्यवहार थियो । नजानेकालाई जान्ने बनाउने, नबोल्नेलाई बोल्न सिकाउने,एक आपसमा घुलमिल हुनका निम्ति हामीले २०५३ सालमा दार्जिलिङ्ग भ्रमण गरेका थियौं । भ्रमणमा डाक्टर प्रदीप ज्ञवाली (यतिबेला सदस्य सचिव,स्वास्थ्य अनुसन्धान विभागमा) लगायतका सरहरु पनि गएका थिए ।

हामीले बुटवलमा हुन गइरहेको पहिलो पुनर्मिलन कार्यक्रमलाई उत्साहपूर्ण तरिकाले सञ्चालन गर्ने,उपलब्धिपूर्ण बनाउने सोच गराएका छौं । सम्भव भएमा यसलाई आधार मानेर फाउण्डेसन बनाउने परिकल्पना गरेका छौं । दुःखमा परेका हाम्रा साथीहरुलाई सहयोग गर्ने,उत्पादनमूलक काममा लगानी गर्ने,निवृत्त जीवनलाई फाउण्डेसनमा समर्पित गरेर देशकै नमूना फाउण्डेसन बनाउने अभियानमा सरिक हुन सबैसँग अपील गर्ने योजना बुनेका छौं ।

पुनर्मिलन कार्यक्रम सम्पन्न गर्न भागिरथ रानाको संयोजकत्वमा सूचना सम्प्रेषण उपसमिति बनाएका छौं । उनले सम्बन्धित सबै साथीहरुलाई पुनर्मिलनका निम्ति सूचना प्रवाह गर्नेछन् । दिनानाथ भण्डारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरेका छौं । उनले कार्यक्रमलाई व्यवस्थित गर्दा लाग्ने खर्चको व्यवस्थापन गर्न पहल गर्नेछन् । उपस्थित साथीहरुसँग समन्वय गरेर आर्थिक व्यवस्थापन गर्नेछन् । मेरो जिम्मा उपस्थित साथीहरुलाई स्वागत र कार्यक्रममा प्रस्तुत गर्ने विषयवस्तुको तयारी रहेको छ । स्थायी खालको संरचना निर्माण,निरन्तर भेटघाट तथा कार्यक्रमको आयोजना अनि फाउण्डेसनका सन्दर्भमा छलफल गरिने छ ।

हाम्रो पुनर्मिलन कार्यक्रम हाँसोमजाक गर्ने खालकोमात्र हुने छैन । गम्भीर र विषयकेन्द्रीत हुने छ । हामीले २७ वर्षको दौरानमा हासिल गरेका उपलब्धि अनि प्राप्त सिकाईबाट अघि बढेर राज्यका निम्ति गर्न सकिने योगदानका बारेमा व्यापक छलफल गरिने छन् । पुराना कुरा सम्झेर हाँस्न नपाइने त मैले कहाँ भनेको छु र ? उतिबेला गरेको भ्रमणका कुरा सम्झेर मज्जा गरिनेछ । विगत सम्झेर रमाइला बात मारिने छन् । कतिपयका अनुहार बिर्सिएका होलान् । सम्झिने कोशिस गरिने छन् । सम्झनालाई पुनर्ताजगी बनाइने छ । नमरुञ्जेलसम्म भेट्ने वाचाका साथ बिदा हुने छौं ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।