ताजा अपडेट »

धार्मिक पर्यटन प्रवर्द्धन गर्न महायज्ञ महत्वपूर्णः उप–प्रधानमन्त्री लिङ्देन

विहीबार, १२ माघ २०७९, १४ : ०२
38 Shares

भैरहवा । लुम्बिनी तथा यस आसपाप आउने धार्मिक पर्यटकलाई लक्षित गरि भैरहवा नजिकै शक्ति पिठको स्थापनाको काम अगाडी बढाईएको छ । नेपालका प्रथम जगदगुरु बालसन्त मोहन शरण देवाचार्य महाराजको पहलमा भैरहवामा जगद्गुरुपीठ निर्माणको लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञ बिहिबार सम्पन्न भएको छ ।

ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा रहेको नवदुर्गा मन्दिरलाई बालसन्त मोहन शरण देवाचार्यले चौथो शक्ति पिठको रुपमा स्थापना गर्ने उद्देश्य सहित महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक विष्णु रायमाझीले बताए । सुनसरीको चतराधाममा वि.सं.२०५९ सालमा महाकुम्भ मेला प्रारम्भ गरी धार्मिक, साँस्कृतिक र वेदका आधारमा विश्व माझ नेपालमा कुम्भ मेला स्थापित गराउन सफल महाराजले भैरहवामा जगदगुरु दक्षिणपीठको स्थापना गर्न लागेको रायमाझीको भनाई छ ।

पुर्वमा चतराधाम बराहक्षेत्रमा प्रथम जगद्गुरुपीठ, दोस्रो शारदा पीठ महाकाली, तेस्रो निलाद्री पीठ मुक्तिनाथ क्षेत्र जोमसोम स्थापना भइसकेको र चौथो भैरहवा पीठ स्थापना हुने चरणमा रहेको बताइएको छ । यो पीठ जगदगुरुको अन्तिम पीठ हुने रायमाझीले बताए । महायज्ञमा रेडियो नेपालका पूर्व निर्देशक एवं धार्मिक कार्यक्रमका ख्याति प्राप्त विद्वान आचार्य पुुरुषोत्तम सापकोटा र कथा प्रवचन एवं भागवताचार्य कथा व्यास डा. यादव शरण गड्तौलाका मुखारविन्दबाट पाठ—पारायण भइरहेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ ।

पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्धारी, लुम्बिनी लगायत नेपालका धार्मिक स्थल दर्शन गर्न आउने लाखौ भारतीय भक्तजनलाई निःशुल्क आवास र खानाको सुबिधा सहित भैरहवा पीठ सञ्चालनको लक्ष्य राखिएको छ । चार पीठको स्थापनासँगै जगद्गुरुका विभिन्न स्थानहरु, चतराधाम, जगद्गुरु आश्रम शंखमूल र शारदा पीठमा जगद्गुरुकुलम् सञ्चालनमा रहेका छन् । जहाँ नेपाली धर्म, संस्कृति र परम्पराको ज्ञान दिनुका साथै नेपाली मन मस्तिष्कमा धार्मिक भावना, साँस्कृतिक चेतना, कर्तव्यबोध, नैतिकता, सौन्दर्यबोध, शीलस्वभाव र सदाचारको शिक्षा ज्ञान जगदगुरुकुलमा प्रदान गरिने गरेको छ ।

महायज्ञको पूर्ण आहूति कार्यक्रममा उप–प्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र प्रसाद लिङ्देनले धार्मिका कार्यक्रमहरुले धार्मिक पर्यटनमा वृद्धि गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए । “नेपालको ऐतिहासिक र एक मात्र जगदगुरुको पिठ निर्माण हुनुले यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनलाई महत्वपूर्ण योगदान पु¥याउने छ ।” उनले भने “यसले धर्म, संस्कृति र पराम्पराको रक्षा गर्ने काम संगसंगै यहाको पर्यटनमा पनि सहयोग पु¥याउने हुनाले मैले ब्यक्तिगत तरिका र नेपाल सरकारको तर्फबाट पनि सकेको सहयोग गर्नेछु ।”

उप–प्रधानमन्त्री लिङ्देनले नेपालमा गुरु पण्डितहरु पनि हिन्दु धर्मको पक्षमा खुलेर बोल्ने डराएको अवश्थामा पनि आफू अडिग भएर हिन्दुधर्मको पक्षमा लागेको बताए । उनले यस्ता हिन्दुत्व सम्बन्धि कार्यक्रम तथा धार्मिक कार्यक्रमहरुले आफुलाई आनन्द दिने गरेको बताए । सत्संगमा सहभागी हुन पाउदा अन्यको तुलनामा आफुलाई बढी आनन्द हुने गरेको उनले बताए । यस्तै कार्यक्रमका मूख्य वाचक बालसन्त मोहन शरण देवाचार्य महाराजले संसदबाट नै हिन्दुधर्मको पक्षमा बोल्न आग्रह गरे । उनले हिन्दुराज्यमा अन्य धर्मका नेपालीहरु पनि सुरक्षित महशुश गरेको बताउदै ती सबैको चाहना पनि नेपाल हिन्दु राज्य नै हुनु पर्ने जिकिर गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।