ताजा अपडेट »

भैरहवामा साईग्लोबल कप : यु होराइजनको विजयी सुरुवात, मिश्रले हाने सतक

बुधबार, ०६ पुस २०७९, १७ : २७
12 Shares

भैरहवा । भैरहवामा बुधबारबाट अन्तर कलेज ‘साई ग्लोबल कप-२०७९’ टि-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै न्यू होराइजन कलेज, बुटवलले विजयी सुरुवात गरेको छ । न्यू होराइजनले पहिलो दिनमै शतक प्रहार गरेको छ । अमर मिश्रको शतकको सहयोगमा होराईजनले साईग्लोबल कलेज, भैरहवालाई १ सय १५ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी यात्रा सुरुवात गरेको छ ।

सिद्धार्थ रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजनले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै २ सय २८ रनको बिशाल लक्ष्य खडा गरेको थियो । उसका लागि अमर मिश्राले आकर्षक ब्याटिङ गर्दै १ सय ३ रनको योगदान दिए । म्यान अफ द म्याच समेत रहेका मिश्राले ६० बलको सामना गर्दै ९ चौका र २ छक्काको मद्दतले शतक पुरा गरेका थिए । त्यसैगरी आशिष लोहनीले २३ रन बनाउँदा राहुल भण्डारी, अंकित बिएम तथा प्रकाश गिरीले समान १८/१८, र निश्चल ज्ञवालीको १२ रनको योगदान दिए । बलिङ्गमा साईग्लोबलका फराद अहमद, बिबेक कोहाँर र अजय रसाइलीले समान १/१ विकेट लिए ।

प्रतिउत्तरमा साईग्लोबलले ९ विकेटको क्षतिमा १ सय १३ रन मात्रै बनाउन सक्यो । साईग्लोबलका बिद्या गुप्ताले सर्बाधिक ५६ रन बनाए पनि त्यो टिमलाई जित दिलाउन प्रयाप्त हुन सकेन । त्यस्तै, अजय रसाइलीले ३० र सुरज यादवले १५ बाहेक अरु कसैले दोहोरो अंकको योगफल बनाउन सकेनन् । साईग्लोबललाई सस्तैमा रोक्ने क्रममा न्यू होराइजनका अमर मिश्राले ६ विकेट लिए भने प्रकाश गिरीले २ र बिशाल भुसालले एक विकेट लिए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले विधार्थी र खेलाडी बन्नेहरुका लागि यो प्रतियोगिता उत्प्रेरणााको स्रोत भएको बताए । उनले खेलले आफ्नो ठाउँ, नाम र मुलसकलाई चिनाउन मद्दत गर्ने जनाए । “क्रिकेटको पवद्र्धन गर्न यो प्रतियोगिता महत्वपूर्ण छ । क्रिकेट संघले धेरै खेलाडी जन्मायो । रुपन्देही र भैरहवालाई चिनायो । अब पनि धेरै खेलाडी उत्पादनमा ध्यान दिनुपर्छ”, उनले भने । खेलको निष्ठा जागृत गर्न विद्यालयहरुले खेललाई प्राथमिकता दिनुपर्नेम उनले जोड दिए । “धेरै विद्यालयहरुले खेललाई प्राथमिकता दिएका छैनन् । अब दिनुपर्छ । निजी क्षेत्र सधै साथमा छ”, उनले भने । शर्माले खेलमा अनुशासन जरुरी रहेको जनाउँदै सबै विद्यार्थी खेलाडीहरुलाई अनुशासनको पालना गर्न आग्र गरे ।

संघका अध्यक्ष हरिबहादुर थापाले अबका दिनमा पनि कुनै पनि विद्यालयसँग समन्वय गरेर यस्ता प्रतियोगिता आयोजना गरिरहने जनाए । ‘संघ सधैं क्रिकेटको विकासमा लागेको छ र लागिरहनेछ’, उनले भने, ‘खेलाडीका मर्म, इच्छा बुझ्ने कोसिस गर्नेछौं । धेरै खेलाडी उत्पादनमा लाग्नेछौं ।’ उनले विद्यालयस्तरका यस्ता खेलकुदले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए ।

संघका संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरीले खेलाडीको जन्म विद्यालयबाटै हुने भएकाले विद्यालयस्तरीय प्रतियोगिता धेरै आयोजना गर्नुपर्नेमा जोड दिए । ‘रुपन्देही क्रिकेटको उर्भरभूमि हो । सफलतालाई अझै बढाउनुपर्छ । खेल राष्ट्रका लागि पनि महत्वपूर्ण हो । क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई आगामी दिनमा पक्कै चिनाउने छ, यसका लागि राम्रा खेलाडी उत्पादनमा लागौं’, उनले भने ।

पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका निजी तथा सामुदायिक गरी २० वटा कलेजको सहभागिता छ । प्रतियोगितामा बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने संघका सचिव संजय गुरुङले जानकारी दिए । यस्तै, प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितालाई साई ग्लोबल एकेडेमीले मुख्य प्रायोजन गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।