ताजा अपडेट »

अन्तरविद्यालय क्रिकेटः सेमिफाइनल समीकरण पूरा

विहीबार, २२ मंसिर २०७९, १८ : १७
13 Shares

भैरहवा । भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितको सेमिफाइनल समीकरण पूरा भएको । आयोजक संस्था रुपन्देही क्रिकेट संघका अनुसार काशी नोबल एकेडेमी, भैरहवा, लुम्बिनी शिक्षा निकेतन, मायादेवी, शान्ति नमूना मावि, मणिग्राम र साइग्लोबल स्कूल, भैरहवा सेमिफाइनलमा पुगेका छन् ।

प्रतियोगिता अन्तर्गत बिहीबार भएका दुई खेलमा विजयी हुँदै काशी नोबल र शान्ति नमूना सेमिफाइनल पुगेका हुन् । काशीले जेसिज इङ्गलिस बोर्डिङ स्कूल, भैरहवालाई ८ विकेट र शान्ति नमूनाले ग्रिनप्लान्ट इङ्गलिस बोर्डिङ स्कूल, बुटवललाई १ सय ३९ रनले पराजित गरेको हो । सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको जेसिजले निर्धारित खेलमा ७ विकेटको क्षतिमा १ सय १८ रन बनायो । उसका लागि सागर कुँवरले ४८, गौरव शुक्लाले २७ र निश्चल भुसालले ११ रन बनाए । बलिङमा काशी नोबलका सुप्रित घिमिरेले ४, अभिनव कार्की, आदित्य शर्मा र सुजन रानाभाटले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको काशीले १९ दशमलव ४ ओभरम २ विकेटको क्षतिमा १ सय १९ रन बनायो । काशीका लागि सुप्रित घिमिरेले नटआउट ३८, सक्षम कार्कीले ३७, प्रज्वल चौधरीले १९ र सोनाम लामाले नटआउट १६ रन बनाए । बलिङमा जेसिजका सनम पाण्डे र निशान्त बस्यालले समान १–१ विकेट लिए । खेलमा काशीका सुप्रित घिमिरे म्यान अफ द म्याच घोषित भइ ५ सय रुपैयाँबाट पुरस्कृत भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको शान्ति नमूनाले ९ विकेटको क्षतिमा १ सय ५२ रनको योगफल बनायो । उसका लागि सागर भण्डारीले ३०, रोशन बश्यालले २१ र नविन भण्डारीले १२ रनको योगदान दिए । बलिङमा ग्रिनप्लान्टका प्रशिद्ध अर्यालले २ तथा अनिस भुसाल, आकाश केवट, अंकित चापागाईं र सिर्जन चापागाईले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको ग्रिनप्लान्ट १०.१ ओभरमा सबै विकेट गुमाएर १३ रमनै समेटियो । उसका लागि प्रद्धिश अर्यालले ६ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा शान्ति नमूनाका रोशन बश्यालले ४ ओभरमा २ मेर्डन राख्दै २ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । यस्तै, रुविन पराजुलीले ४ विकेट लिए । खेलमा शान्ति नमूनाका रोशन बश्याल म्यान अफ द म्याच भई पाँच सय रुपैयाँबाट पुरस्कृत भए ।

प्रतियोगिताको बिजेता टिमले नगद ३० र उपबिजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताको अन्तिममा अनुशासित खेल प्रदर्शन गर्ने एक टिमलाई पनि पुरस्कृत गरिने छ । मंसिर २४ गतेसम्म संचालन हुने प्रतियोगिताको मुख्य प्रायोजकमा पर्वत ज्वेलर्स, भैरहवा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।