ताजा अपडेट »

रुपन्देही-५ को कञ्चनमा सांसद बासुदेव घिमिरेको सम्पर्क कार्यालय

आइतबार, १८ मंसिर २०७९, १८ : १०
18 Shares

बुटवल । रुपन्देहीको क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित बासुदेव घिमिरेले कञ्चन गाउँपालिका वडा नं. २ कञ्चन चोकमा सम्पर्क कार्यालय स्थापना गरेका छन् । नागरिकसँगको भेटघाट तथा गुनासा र समस्याको बारेमा जानकारी लिएर त्यसको समाधानमा सहजीकरण गर्न सहयोग पुग्ने उद्देश्यले संघीय सांसद घिमिरेले सम्पर्क कार्यालय स्थापना गरेका हुन् । सम्पर्क कार्यालय रामापुर-लुम्बिनी सडकको कञ्चन नदी पुल नजिकैं रहेको छ ।

आइतबार सम्पर्क कार्यालयको शुभारम्भ गर्दै सांसद घिमिरेले सम्पर्क कार्यालय सञ्चालनले नागरिकका समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । स्थानीय, प्रदेश र संघीय सरकारसँगको सहकार्य र समन्वयबाट विकास निर्माणका काम र नागरिकका समस्या समाधान गरिने बताउँदै उनले क्षेत्र नं. ५ को योजनाबद्ध, व्यवस्थित विकासमा राजनीतिक दल, विकास साझेदार संघ-संस्था लगायत सम्पूर्ण नागरिकको यथेष्ट सहयोग रहने विश्वास व्यक्त गरे । रुपन्देही-५ का बासिन्दाले दिएको विकास, समृद्धि र जनताको सेवा गर्ने जिम्मेवारीलाई सदैव ईमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले लुम्बिनीलाई केन्द्रमा राखेर क्षेत्र नम्बर ५ को समग्र विकास गरिने स्पष्ट पारे ।

कार्यक्रममा प्रदेशसभा सदस्य भूमिश्वर ढकाल, गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, उपेन्द्र अधिकारीलगायतले बोलेका थिए । तिलोत्तमा नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहेका नेकपा एमालेका नेता घिमिरे मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका नेता भरत शाहलाई ९ हजार ७८२ मतान्तरले हराउँदै विजयी भएका थिए । यस पटकको निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ५ मा एमाले समानुपातिक निर्वाचन प्रणालीमा पनि पहिलो बनेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।