७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका–७ ले इन्फ्रारेड कुकर (विद्युतीय स्टोभ) चुल्हो वितरण गरेको छ । वडावासीलाई वितरण गरिएको सो कुकर चुल्हो कम एम्पिएरको लाइन, लो भोल्टेज र पटक–पटक बिजुली गइरहने समस्याले प्रयोगमा कठिनाइ देखिएको छ ।

Advertisement

विद्युत्को समस्या खेपिरहेको कोटहीमाईमा दुइ हजार दुई सय वाट क्षमताको उच्च पावरयुक्त चुल्हो वितरणपछि निकै आलोचना हुन थालेको छ । स्थानीयवासी तारा पासीले चुल्हो देखाउँदै बिजुलीको ‘लो भोल्टेज’ समस्याका कारण जाँच्न नपाएको बताइन् । बोरामा प्याक गरी थन्क्याएर रखिएको सो विद्युतीय चुल्हो देखाउँदै पासीले भनिन्, “एक त घरमा बिजुलीको समस्या छ, अर्काको घरमा सवमिटर हालेर बिजुली ल्याएकी छु । त्यसमाथि यति उच्च पावरको चुल्हो र सोका लागि छुट्टै वर्तन किन्नुपर्ने हुँदा हाम्रा लागि उपयोगी छैन ।” 

फुसको छानो भएको एक कोठेघरमा परिवारसँग बस्दै आएकी ताराले छिमेकी कहाँबाट सवमिटर जडान गरी घरमा दुई बल्ब, एक पङ्खा र मोबाइल चार्ज गर्नेसम्मको व्यवस्थापन गरेकी हुन् । “पङ्खासम्म चल्न नसक्ने स्थितिमा इन्फ्रारेड कुकरको त कामै छैन”, उनले भनिन् । छिमेकी अदालत यादवको भनाइ पनि ताराको जस्तै छ । उनले चुल्हो पाएदेखि घरमा रहेको भकारीमाथि थन्क्याएकी छन् । विद्युत्को समस्या सुनाउँदै उनले भनिन् ,“‘गर्मीले बेहाल छौँ, एक सय २० वाटको पङ्खा त राम्रोसँग चल्दैन यो उच्च पावरको चुल्हो जलाउन त सम्भव नै छैन ।” 

कुनै दिन काम देला भनेर वडा कार्यालयले निःशुल्क बाँडेपछि चुल्हो ल्याएको उनले बताइन् । उनले थपिन्, “बिजुली र पङ्खा वापतको रु दुई सय तिर्न नसक्नेलाई यसको व्यवस्थापन गर्न गाह्रो छ । चुल्होको सट्टा कुनै काम लाग्ने कृषि सामग्री दिएको भए हुन्थ्यो ।” पासी टोलकी ज्ञानमति पासीको श्रीमान्ले चुल्हो ल्याएर जाँचे । घरमा रहेको गोलाकार पिँध भएको भाँडो राख्न खोजेपछि चुल्होमा बसेन । छुट्टै भाँडो खरिद गर्नुपर्ने पैसाको व्यवस्थापन गर्न उहाँको सामर्थ्य छैन । ज्ञानमतिसँगै रहेकी स्कुले बालिका मनिता यादवले बुबाले ल्याएको चुल्हो जाँच्दा नचलेपछि वडामा फिर्ता गर्न लग्दा फिर्ता पनि नभएको गुनासो गरिन् । 

खाना पकाउने समयमा १० मिनेट मात्र बत्ती गयो भने पनि खाना बिग्रिने भएकाले यसमाथि भरोसा गर्न सकिने स्थिति नरहेको विद्युतीय चुल्होका जानकार जनार्दन बनियाले बताए । “कोटहीमाई–७ मात्रै होइन, मर्चवारका अधिकांश जसो विद्युत् ग्राहकको घरमा रहेको विद्युतीय पूर्वाधार पनि इन्फ्रार्रेड कुकर चुल्होका लागि चाहिने बिजुलीको खपत धान्न सक्ने खालको छैन ।”  “इन्फ्रारेडको लोड धान्न सक्ने गरी यहाँका अधिकांश ग्राहकले लाइन स्तरोन्नति गरेका छैन”, नेपाल विद्युत् प्राधीकरण मर्चवार शाखाका एक कर्मचारीले भने, “बिहान–बेलुका एकसाथ यसको प्रयोग बढ्दा प्रणालीले थेग्न नसकेर तार, ट्रान्सर्फमर, फिडर र ११ केभीका लाइन पड्किने, जल्ने समस्या हुनसक्छ ।” अव्यवस्थित प्रणाली त्यसमा पनि कम एम्पिएरका लाइन जोडिएकाले समस्या हुने देखिन्छ ।

त्यसैगरी दुवे कटया बस्ने रामउजागिर यादवले भने, “किसानहरू सिँचाइको समस्याले पीडित छन् । लो भोल्टेजका कारण कृषि मोटर र घरको पङ्खा चल्न सकेको छैन । यस्तो अवस्थामा हाइ भोल्टेजको विद्युतीय चुल्हो चल्ने सम्भावना नै छैन ।” सिँचाइका लागि मोटर र कृषि मिटरको व्यवस्थापनको सट्टा कमिशन र मतदाता लोभ्याउने चक्करमा पुरानो वडा समितिले खरिद गरेको विद्युतीय चुल्हो खरिद गरी अहिले वितरण गरिएको उनको आरोप छ । 

गाउँपालिकाले गत वैशाख १२ गते श्री बालाजी ट्रेडिङ सिद्धार्थनगर रुपन्देहीसँग रु ३६ लाख ९९ हजार छ सय ७६ मा खरिद गरेको एक हजार एक सय ५० थान इन्फ्रारेड कुकर चुल्हो स्थानीय तह निर्वाचन आचारसंहिताको कारणले वितरण हुन सकेको थिएन । अहिले सोही चुल्हो वितरण गरेपछि जनगुनासो बढेको वडाध्यक्ष पवनकुमार यादवले बताए । उनले भने, “त्यसको बजेट व्यवस्थापन र खरिद प्रक्रियामा मेरो कुनै संलग्नता छैन ।” कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले आफू आउनुभन्दा पहिला ग्यास सिलिण्डरका लागि विनियोजित बजेटलाई जनप्रतिनिधिको निर्णयअनुसार परिमार्जन गरी प्रक्रियाअुनसार इन्फ्रारेड कुकर चुल्हो खरिद गरिएको जानकारी दिए । 

यस वर्षको बजेट वक्तव्यमा सरकारले स्थानीय तहमार्फत एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा वितरण गर्ने घोषणा गरेको कार्यक्रममाथि सुरुबाटै प्रश्न उठिरहेको स्थितिमा कोटहीमाई–७ ले वडावासीलाई वितरण गरेको सो चुल्हो पनि उपयोगी हुने देखिएको छैन ।-रासस

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल शैलुन व्यवसायसँगै सुरु गरिन् मोनिकाले ‘स्किन एण्ड हेयर लेजर क्लनिक’ शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु : देवराज घिमिरे