ताजा अपडेट »

बिदेशको कमाइले गाउँमा जग्गा किनेर बेसार खेती

मंगलबार, २४ साउन २०७९, २२ : ०७
24 Shares

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका एक युवाले विदेशको कमाई गाउँकै उत्पादन र मौलिक कला–संस्कृतिको जगेर्नामा खर्चिदै आएका छन्। बीसं वर्षदेखि चेक रिपब्लिकको बैदेशिक रोजगारीमा रहेका मुसिकोट नगरपालिका–८ वामी–अर्जेवाका बैकुण्ठ रायमाझीले बिदेशको कमाई आफ्नो मौलिक कला संस्कृति र कृषि उत्पादनमा खर्चिदै आएका हुन् ।

नेपाली मौलिक लोक गीत र संस्कृतिको संरक्षण र संम्वद्र्धनका क्षेत्रमा उल्लेखनीय योगदान पुराउँदै आएका रायमाझीले पछिल्लो चरण गाउँ–छिमेकीको बाँझो जमिन किनेर त्यसमा ठूलो परिमाणमा बेसार खेती गरिरहेका छन् ।

जहाँ उत्पादित बेसार खेतीको बजारिकरण उनले आफू बसेको स्थान चेक रिपब्लिकदेखि युरोपका विभिन्न मुलुकमा गरिरहेका छन्। उनले खरिद गरेको बाँझो जमिनमा बहुउद्देश्यीय कृषि उत्पादनको सोँच राखेर सालिमे कृषि फार्म नामक संस्था नै दर्ता गरेर बेसार खेती सुरु गरेका हुन् ।

हाल आफू बिदेशमा भएपनि गाउँको बेसार खेती उत्पादनका सहजिकरण ज्वाइँ बिष्णु कार्की र दिदि सुन्तली कार्कीले गरिरहेका छन् । बिदेश गयो कि अरुले काठमाण्डौं बुटवल लगाएतका ठुला शहरमा घर बनाएर बस्ने गरेको अवस्थामा उनले भने गाउँमै अत्याधुनिक डिजाइनमा सुविधा सम्पन्न घर निर्माणको प्रकृया सुरु गरेका छन् ।

यूरोपमा मजदुरी गर्दा गर्दै अहिले आफ्नै रेष्टुरेण्टको मालिक भइसकेका रायमाझीले घर आएको प्रत्येक वर्ष गाउँ सेरोफोरोका नौमति बाजा महोत्सव राखेर संबन्धित पेशाको संरक्षणमा टेवा पुराउँदै आएका छन् । उनले गाउँका अन्य बाँझो जमिन पनि खरिद गरेर थप ब्यवसायीक कृषि पशुपालन गरि गाउँमै रमाउने तयारीमा रहेको बताउँछन् । उनले गाउँमा कामदार र बजारीकरणको समस्या रहेको अनुभव भने आफूले यस अवधीमा संगालेको बताउँदै ती दुई समस्याको विकल्प खोज्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।