लुम्बिनी प्रदेशको मुकाम,औद्योगिक नगरी अझै भनौं व्यपारिक, ऐतिहासिक शहर बुटवल । तर, तपाइँ गोलपार्कदेखि चौराहासम्म र चौराहादेखि गोल्पार्कसम्मको यात्रा गर्नुभयो भने तपाइँलाई बुटवल भन्ने भ्रम लाग्न सक्छ । करिब ३ किलोमिटरको यात्राले समग्र बुटवलप्रति र सरोकारवालाप्रति नैरमश्यता र आक्रोश उत्पन्न गर्दछ ।
देशकै मुख्य पूर्व–पश्चिम महेन्द्र राजमार्ग जोड्न सिद्धार्थ राजमार्गको यो भाग बुटवल शहरको मुख्य भागमा पर्दछ । दैनिक पूर्वपश्चिम, उत्तर–दक्षिण लामो दूरीका सयौं सवारीका साथै स्थानीय विभिन्न साधनमा यात्रा गर्ने हजारौं यात्रीहरुले सडक खण्डका सयौं खाल्डाखुल्डीका कारण निकै सास्ती भोग्नु परेको छ । विशेषगरी दैनिक तथा विहान साँझ निरन्तर यात्रा गर्ने स्थानीय र सडक किनारका साना तथा ठूला व्यवसायीहरु यस सडकका कारण ठूलो मर्कामा परेका छन् ।
बुटवलको सडक समयमा नबन्नुमा निर्माण कम्पनीको लापरवाही, विभिन्न तहका सरकार, राजनीतिक खिचातानी र होडबाजी,सडक डिभिजनको कमजोर निगरानी, परियोजनाको अपरिपक्क योजना, खाने पानी संस्थान, विद्युत प्राधिकरण ,टेलिकम, स्थानीय घरधनि, विरोध गर्ने संघ–संस्था लगाएत जिम्मेवार रहेका छन् । जसको निष्क्रियता,लापरवाही र गैरजिम्मेवारीले हजारौं जनताले सडकमा सास्ती बेहोरीरहेका छन् ।
देशकै मुख्य शहर मध्येको बुटवलको मुख्य भागको सडक किन यस्तो,आखिर कहिले बन्छ,किन बन्दैन ? उक्त सडकमा यात्रा गर्ने हरेक यात्रीदेखि उक्त सडक बारे,सुन्ने जान्ने जोकोहीको मनमा उव्जने जिज्ञासा तथा प्रश्न हुन् यी । लामो समयसम्म उक्त सडक निर्माण नहुँदा बुटवल उपमहानगरका तत्कालिन प्रमुखले निकै आलोचना खेपे । गत वैसाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सोही सडक विपक्षीलाई चुनावी मुख्य एजेण्डा बन्यो । यद्यपी उक्त सडक संघीय सरकार अन्तर्गत जिम्मेवारी र रेखदेखमा पर्दछ ।
सडक डिभिजन कार्यालय बुटवलको बेलहिया–बुटवल सडक परियोजना अन्तर्गत पर्ने उक्त सडक निर्माणका लागि वि.सं.२०७३ मा कञ्चनजंघा विरुवा जेभीलाई ठेक्का दिइएको थियो । ३ वर्षमा निर्माण सम्पन्न गर्नेगरी ठेक्का दिइएको सडकखण्ड सुरुमा ७२ फिट बाटो विस्तार गरी निर्माण गर्ने सम्झौता भएको थियो । सो क्षेत्रमा घरपर्ने घरधनी तथा सम्बद्ध संघसंस्थाको विरोध अदालतमा मुद्दा परेपछि निर्माण कार्य रोकिएको थियो । रोकिएको सडक विस्तार तथा निर्माणले लामो समय लियो । अर्थात् समय सकिएपछि पुनः २ वर्षका लागि दिइएको ठेक्का समय यसै असार मसान्तमा सकियो । तर, निर्माण भने सकिएन ।
ठेक्का दिइएको र निर्माण अवधी सँकिदा पनि सडक जस्ताको तस्तै भएपछि लामो समयदेखि स्थानी र यात्रुले सास्ती पाएपछि उनीहरुको आक्रोश बढ्दै आएको छ । त्यसैगरी उपमहानगर, सडक डिभिजन र सरकारप्रति पनि आक्रोश र आलोचना मात्रै होइन विरोध भइरहेपछि अन्ततः बुटवल उपमहानगरको पहलमा निर्माण कम्पनी, सडक डिभिजन, आयोजना प्रमुख लगाएत विभिन्न संघसंस्थाहरु, स्थानीयसहितको छलफल भएको छ । छलफल पछि पुनी निर्माण समय लम्बाइएको छ । अर्थात् आगामी भदौसम्ममा सो सडक निर्माण गर्ने सम्झौतामा सहमति भएको छ । सडक निर्माण कम्पनीले भदौसम्ममा सडक निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ ।
तोकिएको समयमा काम नसक्ने साथै थपिएको समयमा निर्माण सम्पन्न नगर्ने कम्पनीलाई पुनः काम गर्न दिनु सुन्दा पनि दुःखद हो । तर, किन त ? आखिर पहिल्यै काम किन भएन, निर्माण कम्पनी जवालफदेही हुनुपर्ने, काम नहुँदा उसलाई कारवाही गर्नुपर्ने होइन र ? हो, तर त्यसो भएन, हुँदा पनि थप समस्या हुने देखिन्छ । सडक निर्माण समयमै सम्पन्न नहुनुमा धेरै पक्षको लापरवाही र कमजोरी देखिएकको छ । सडकका खाल्डाखुल्डी,सास्ती र समस्याका पछाडि ठेक्दारको लापरवाही , राजनीतिक खिचातानी र होडबाजी, स्थानीय घरधनि, सडक डिभिजन कार्यालय, परियोजनाको हचुवाको योजना, खानेपानी, संस्थान, विद्युत प्राधिकरण, टेलिकम लगाएतका निकायहरु रहेका छन् ।
कुनैपनि साना वा ठूला योजना निर्माण तथा सम्पन्नका लागि विभिन्न क्षेत्र, तह र सरोकारावालाबीच समन्वय र सहकार्य आवश्यक हुन्छ । तर, ५३ करोडको ठूलो परियोजना मुख्य शहरको सडक, अति संवेदनशील र महत्वपूर्ण परियोजनामा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, मुख्य जिम्मेवार प्राप्त सडक डिभिजन, परियोजना प्रमुख, विद्युतका पोल व्यवस्थापन गर्ने प्राधिकरण, खानेपानी पाइप व्यवस्थापन गर्ने संस्थान, तार व्यवस्थापन गर्ने टेलिकम, निर्माणलाई सहज बनाउने स्थानीय तथा संघसंस्थाहरुले नै आफ्नो मात्रै अनुकूलता,सहजता हेर्ने लापरवाही गर्ने गर्दा समयमा काम नगर्ने ठेक्दारलाई काम नगर्ने आत्मबलप्रति टेवा पुगेको छ ।
त्यसैगरी जनता र विकासको पक्षमा बोल्नुपर्ने राजनीतिक दलका प्रमुख र दलहरुबीचको अस्वस्थ प्रतिष्पर्धाले पनि निर्माणका काममा समस्या देखिएको छ । यद्यपी बुटवलको सडक निर्माणमा ढिलासुस्ती र जनताले पाएको सास्तीमा सरोकारवालाको लापरवाही, गैरजिम्मेवारी र समन्वयमा अभाव मुख्य कारण रहेका छन् । यो नजिरबाट पाठ सिक्दै आगामी दिनमा नसुध्रे समस्या बल्झि रहन सक्छ ।
प्रतिक्रिया