ताजा अपडेट »

प्लास्टिकको बढ्दो प्रयोग र धर्तीको अस्तित्व

आइतबार, २२ साउन २०७९, १४ : ४६
28 Shares

बिहानैदेखि सुरू हुन्छ प्लास्टिकको प्रयोग अझै भनौँ चियाको चुस्किसँगै । सुर्तीजन्य पदार्थका खोल, तयारी प्याकिङ्ग खानेकुराका खोलहरू, पानी, कोल्ड ड्रिङ्सका बोत्तल, दुधका प्लास्टिकदेखि लिएर हरेक कामका लागि व्यापक रूपमा प्लास्टिकको प्रयोग हुन्छ । हामीले खाने प्रत्येक गास अनि प्रत्येक घुड्की पानीमा प्लास्टिकको प्रयोग भैरहेको छ । यत्रतत्र सर्वत्र अनियंन्त्रित रुपमा प्रयोग भैरहेको प्लास्टिक कहाँ गएको छ त ? त्यतातिर ध्यान गएको खासै देखिँदैन ।

धेरै जसो मानिसमा अलिकति चेतनासम्म पनि छैन कि, आफूले दैनिक रुपमा व्यापक प्रयोगमा ल्याउने गरेको प्लास्टिकको दिर्घकालिन असरको बारेमा । कुलो, कुलेसो, खोला, खोल्सा, खाली जमिन, पार्क जता पनि प्लास्टिक नभएको ठाउँ नै छैन । प्रत्येक किराना पसलेले मात्रै दिनको आधा केजीदेखि लिएर लगभग १०–१२ केजिसम्म प्लास्टिकको खपत गर्छ्न । भनेपछि प्रत्येक पसलमा अनियंत्रित रूपमा प्लास्टिकको प्रयोग हुन्छ ।
साँझमा पसल बन्द गर्ने बेलामा दिनभरीको फोहोर सडक छेउमा घोप्ट्याएर छोड्ने बानी परेको छ । एउटा राम्रो फोहोरमलाईको भाडा प्रायः कसैको पसलमा देखिदैन । नेपालमा दैनिक सयौं टनको फोहोर प्लास्टिक संकलन हुन्छ । यो फोहोरलाई पुनःप्रयोग गर्ने त नेपालमा कुनै प्रविधि नै छैन ।

कवाड संकलन गर्न आउनेले लिएर गएको प्लास्टिकजन्य वस्तु बाहेक अरू प्लास्टिक जाने भनेको कि त डम्पिङ्ग साइड कि त यत्रतत्र जतासुकै जमिनमा । एकछिनको सुबिधाको लागि प्रयोगमा ल्याइने प्लास्टिकले पार्ने दीर्घकालीन असरबारे कसैले पनि सोचेको छैन ।
अर्कोतिर यसरी छरिएको फोहोर हावाहुरी र पानीले बगाएर लैजाने ठाउँ भनेको खोला, कुलोकुलेसो, खोल्साखोल्सी हुँदै खेतीयोग्य जमिनसम्म हो । यसले माटोको उर्वाराशक्तीलाई प्रत्यक्ष असर पार्छ र पारेको पनि छ ।

मीठो खान मनलाग्छ हामीलाई । कता राम्रो छ ? कुन अर्गानिक छ ? अलिकति महङ्गो परेपनि खाना चाहिँ अर्गानिक खानुपर्छ भनेर अहिलेको मानिसहरू सचेत देखिन्छन् । तर, खानेकुरा उत्पादन हुने माटोको चिन्ता कसैलाई छैन ।

भान्सा असुरक्षित बनेको छ । तरकारी पकाउँदा पकाउदै अनौठो गन्ध आएर सबै तरकारी फ्याकेर दाल भात मात्रै खानुपरेको अनुभव सायद तपाईमा पनि होला । भविष्यको लागि धेरै गरिन्छ । जीवन विमा, स्वास्थ्य विमा, छोराछोरीको लागि पनि मरिमेट्छौ कसरी हुन्छ भनेर । तर माटो र पर्यावरणको लागि हामी सचेत मात्रै पनि छैनौ । यसको असर प्रत्यक्ष रुपमा हाम्रा सन्ततिलाई पर्नेछ । भनेपछि यसले पार्ने दीर्घकालीन असरका बारेमा बेलैमा सचेत हुन जरुरी छ ।

माटो छ र जीवन छ । अनियन्त्रित रूपमा बढदै गैरहेको प्लास्टिकको प्रयोगले नेपालजस्तो सुन्दर भूमिलाई विकृत पार्ने निश्चित प्रायः नै छ । विकसित देशहरूमा प्लास्टिकको प्रयोग हुन्छ तर त्यहाँ जति मात्रामा प्लास्टिक उत्पादन भएको छ त्यति नै मात्रामा प्लास्टिकको पुनर्प्रयोग हुन्छ।

नेपालमा अहिले देखिएको अनियन्त्रित प्लास्टिकको प्रयोगले यहाँको माटोलाई प्रत्यक्ष असर पारेको छ । सुर्तीजन्य पदार्थ, चाउचाउ, बिस्कुट, चक्लेट, प्याकिङ खानेकुरा आदि धेरै प्रकारका खोल र बोतलहरू खेत बारीको माटोमा मिसिएको देखिन्छ ।

ठूला–ठूला नदिहरूमा पनि प्लास्टिक र प्लास्टिकका बोतलहरू तैरिरहेको देख्न सकिन्छ । यहि तरिकाबाट प्लास्टिकको प्रयोग हुने हो भने धर्ती छोपिने त निश्चित नै छ । एकमुठी माटो हातमा लिदा एउटा प्लास्टिक आउनेछ । अनि सोचौँ धर्तीको अस्तित्व र हाम्रा सन्ततिको भविष्य !

यसैको एउटा ज्वलन्त उदाहरण हो बन्चरे डाँडा र सिस्डोलमा रहेको डम्पिङ साइड ।१७ वर्षदेखिको फोहोर थुपारदिएर काठमाडौबासीले बन्चरेडाँडा र सिस्डोलजस्ता सुन्दर बस्तिहरूलाई रोग र शोकको उपहार दिएका छन् । अहिले त्यो डम्पिङ साइड भरिदा काठमाडौका शहरभरी फोहोरको डङ्गुर थुप्रीरहेको छ ।

मात्रा मात्रै थोरै हो अहिले जतासुकै प्लास्टिक देख्न सकिन्छ । यसले पार्ने विकराल समस्याको बारेमा बेलैमा सचेत हुन अत्यन्तै जरुरी छ । प्रयेक सहरको फोहोर फ्याक्ने डम्पिङ साइड बनेका जमिन वरपरका बस्तीहरूमा बसोबास गर्ने त्यहाँका बासिन्दाहरूलाई यसबाट पर्ने प्रत्यक्ष असरको बारेमा पनि सोचौं हैँ ।

वास्तवमा भन्ने हो भने अनियंत्रित प्लास्टिकको प्रयोग गर्न दिनु र गर्नु भनेको बिनास निम्ताउनु हो । जति प्लास्टिकजन्य वस्तुहरू पुनःप्रयोगमा ल्याउन सकिन्छ त्यति नै प्लास्टिकजन्य बस्तुको प्रयोग गर्नुपर्छ । त्यो पनि अत्यावश्यक चिजको लागि मात्रै ।

कति सौखिन भयौ हामी ! मिनेटको सुबिधाको लागि हातमा प्लास्टिकको झोला झुन्डयाएर शानले घरभित्र पस्छौ । फोहोर थुपार्छौ । गाडी आउँछ शानले गाडीमा हाल्छौँ । एउटा प्लास्टिक कुहिन १०० वर्ष लाग्छ । तर, यसरी हालेको फोहोर कता गएको छ ? कुन सुन्दर ठाउँ विकृत बन्दैछ भन्नेतिर मतलब हुँदैन । हामीलाई हाम्रो घर आँगन सफा भए पुग्यो । धर्तीको के चासो किनेर खान पाइएकै छ ।

जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै किनमेल गर्न जाँदा वातावरण मैत्री झोला लिएर जाने त्यसलाई धुन मिलोस लामो समयसम्म प्रयोग गर्न सकियोस् । दुग्धजन्य पदार्थको विक्रीमा प्लास्टिकको प्रयोग गर्न दिनुहुँदैन । पसलहरूमा फोहोर मलाइका भाडाहरू अनिवार्य रुपमा राख्नुपर्ने । जथाभावी फोहोर फ्याक्न नपाइने अभियान चलाउन जरुरी छ ।

कुहिने फोहोर र नकुहिने फोहोर अलग अलग राख्नुपर्ने, अत्यावश्यक चिजमा बाहेक सकेसम्म प्लास्टिकको प्रयोग गर्न नपाइने अभियान राज्यस्तर बाट नै सुरु गर्नुपर्ने तड्कारो रूपमा देखिएको छ । सानो देश प्राकृतिक सुन्दरता धनी देशलाई प्लास्टिकको बढ्दो प्रयोगले विकृत बनाइरहेको छ र यसले विकराल रुप लिने कुरा नकार्न सकिन्न ।

केही गर्नुपर्दैन बेस्सरी गाह्रो कुरा पनि होइन । सकेसम्म म प्लास्टिकको प्रयोग गर्दिन भनेर आफ्नो बानीमा परिवर्तन ल्याउनुस । आफ्नो साथमा एउटा झोला नछुटाउनुस । लाज मान्नुस् प्लास्टिकका झोला प्रयोग गर्न । प्रकृति संरक्षणक लागि केही योगदान गरौं । सकेसम्म प्लास्टिकको प्रयोग नगरौं अनि नगराऔं । माटो जोगाऔं ।

प्लास्टिक जस्तो हानिकारक बस्तुको प्रयोग दिनानुदिन बढ्दो छ । यसले स्वास्थ्य,वातावरणमा र जमिनमा निकै असर गर्दछ भन्ने थाहा हुँदाहुँदै पनि प्रयोग भने गरिरहेका छौं । वर्षौंसम्म पनि नकुहिने,उचित प्रबन्ध नगरे मानव र प्रकृतिलाई हानी पुर्याउने प्लास्टिकको विकल्प सहज छ । तर, किन लापरवाही ?

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।