ताजा अपडेट »

बाल मनोविज्ञानमा प्रतिष्पर्धाको सकस

शुक्रबार, १३ साउन २०७९, १८ : ५९
23 Shares


बालाबालिकाहरू जब विद्यालय जाने उमेरका हुन्छन् त्यतिबेला आमाबाबुहरू धेरै नै उत्साहित देखिन्छन् । अब आफ्नो सन्तान स्कूल जाने भयो, यसलाई त धेरै पढाउनुपर्छ, राम्रो मान्छे बनाउनुपर्छ भन्ने हुटहुटी हुन्छ । सबैभन्दा राम्रो स्कूलमा भर्ना गरिसकेपछि एउटा ठूलो जिम्मेवारी पूरा हुन्छ । पहिलो दिन कुनै बच्चा बेस्सरी रुन्छन् भने कोही खासै रुँदैनन् ।

जसको बच्चा अलिक धेरै रुन्छ उसका बाबुआमालाई अलिक धेरै तनाव, कसरी होला स्कूल पठाउने र पढाउने भन्ने । जसका रुँदैनन् उनीहरु पनि दङ्ग पर्छ्न– ल है छाँट त राम्रो देखियो, पढ्छ जस्तो छ। यसरी सुरू हुन्छन् संघर्षका दिनहरू ‘जुरुक्क उठ्यो स्कूलको तयारी, त्यो पनि जबर्जस्ती बढिमा ६ ७ गाँस खाना खाएर हतार–हतार । धेरै कापी, किताब, खाजा, पानी बोकेर भारी ब्याग सहित ।’

कक्षाकार्य, गृहकार्य अब सबै कार्यहरू सुरु भए ।
कोही भेट हुन्छ पहिलो प्रश्न यो हुन्छ कि कतिमा पढ्छौ ?
स्कूलको नाम के हो ? कस्तो छ पढाइ ? फस्ट हुन्छौं कि नाई ?

पढाइमा अलिक तेज बच्चाको अभिभावकको कुरा गर्ने रौनक नै अर्कै हुन्छ अनि शानदार तरिकाले ‘फस्ट हुन्छ अहिलेसम्म फिस तिर्न परेको छैन ।’ त्यस्तै अलिक कमजोर बच्चाको अभिभावक नियास्रो मानेर ‘पढ्दै पढ्दैन खाली खेल्नको मात्रै ध्यान छ । टेर्ने पटक्कै होइन अब त होस्टेल नराखी नहोला जस्तो छ । कस्तो साँेचेको थिएँ ,आफ्नो बच्चाको बारेमा पढ्ला भनेर खै यो पाराले त! ’

पढाईमा राम्रो विद्यार्थीलाई ‘तिम्रो स्थान तल झर्नु हुँदैन है यसपाली पनि फस्ट नै आउनुपर्छ ’ भनेर बारम्बार पढ्नेलाई पनि पढाईको प्रेसर। अझ झन् अलि कम पढ्न आउने अथवा नपढ्ने बिद्यार्थीलाई त झन् कुरै छाडौँ । जुनसुकै बेलामा पनि खाली पढाई कै कुरा । भएन भनेर चाडपर्वमा अनि जन्मदिनको दिनमा समेत पहिलो वाक्य पनि धेरै पढ्नु पर्छ है भन्ने हुन्छ ।

यसरी हेर्दा धेरै पढ्ने विद्यार्थीका अभिभावक पनि तनावमा श्रेणी तल झर्ने हो कि भन्ने । कम पढ्ने अथवा नपढ्ने विद्यार्थीका अभिभावक पनि तनावमा– लौ बर्बाद हुने भो के होला यस्तो पाराले खर्च उस्तै पढाइ छैन ! आफ्ना अभिभावकको यस्तो प्रतिक्रियाले अभिभावकको कुरा सुनिरहेको बालमानसपटलमा कस्तो असर परेको छ भन्नेतिर ध्यान गएको देखिँदैन । यो सोधिँदैन कि तिमी कसरी खुशी हुन्छौ ? तिमीलाई के गर्न मन लाग्छ ? म के गरू तिम्रो लागि भनेर ?

कहिलेकाही पढाई बाहेकका कुरामा पनि धेरै नै आनन्द आउँछ । यो त एउटा उदाहरण मात्रै भो । हामीले सुन्नै नसक्ने घटना स्कूलमा घरमा जतापनी , स्कुल पढ्ने नानीबाबुहरूले आत्महत्या गरेका समाचार सुन्नमा आइरहन्छन् । किन हुन्छन् यस्ता घटना ?

सबै सुबिधा दिएर सुखमा बच्चालाई राखेका छौ भन्ने भ्रममा त छैनौ ? पढाई बाहेकका धेरै कुरा हुन्छन् । यी कुराहरूबाट बालबालिकालाई बञ्चित त गराइरहेका छैनौ ? सोच्नपर्ने बेला आएको छ । आफ्ना छोराछोरीको प्रगति विवरण नम्बरसहित सामाजिक संजालमा पोस्ट्याउँदा थोरै नम्बर ल्याउने किशोर किसोरीको बारेमा पनि केही सोचौँ है । यस्तै परिपाटीले भोलि कुनै ठूलो दुर्घटना कसैले भोग्नु नपरोस्।

एक पटक सौचौं कि पढ्न दबाब दिएर, कतै नानीबाबुहरूलाई पढाईकै प्रेसरले टाढा त बनाइरहेका छैनौ ?प्रतिष्पर्धा आँफैमा अनौठो हुन्छ । बेस्सरी पढ्ने पछि गएर नपढ्ने पनि हुन्छ । लगातार फेल हुनेले पनि पछि गएर अपत्यारिलो तरिकाले पढेको हुन्छ । यो देखेको अनि भोगेको पनि कुरा हो । प्रतिष्पर्धा आफैमा अनौठो हुन्छ । बेस्सरी पढ्ने पछि गएर नपढ्ने पनि हुन्छ । लगातार फेल हुनेले पनि पछि गएर अपत्यारिलो तरिकाले पढेको हुन्छ । यो देखेको अनि भोगेको पनि कुरा हो । साना–साना हात र खुट्टाबाट सुरु भएको स्कूले जीवन हेर्दाहेर्दै किशोर अवस्थामा प्रवेश गर्छ ।

किशोर अवस्थाका केटाकेटीलाई आफ्नो उमेरलेपनि सताइरहेको बेलामा त्यसमाथि घरले पनि सताउने, विद्यालयले पनि सताउने, समाजको त झन कुरै नगरम के गर्दा हुने हो, के गर्दा नहुने हो रु अन्योलको स्थिति । यस्तै परिस्थितिले जन्माइरहेको छ दुर्घटनाहरू । कुनै पनि नानी बाबुहरूलाई बाहिर देखेको भरमा मूल्यांकन नगरौं । सबै बालबालिकामा कुनै न कुनै क्षमता हुन्छ त्यसलाई चिन्न तर्फ ध्यान दिने कि ? बालबालिका र किशोर किशोरीको मनोविज्ञानलाई बुझ्ने प्रयास गरौँ । देखिनेगरी र अरूलाई असर पर्ने गरि प्रतिष्पर्धा नगराऔँ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।