ताजा अपडेट »

तिलोत्तमामा विवाह गरेको २ महिनामै शंकास्पद रुपमा मृत भेटिइन् अस्मिता

आइतबार, २६ असार २०७९, २० : २१
64 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । तिलोत्तमा-३ शंकरनगर बस्दै आएकी अन्दाजी २२ वर्षीया अस्मिता पटहरा शर्मा आइतबार तिनाउ नदीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले ग्लोबल आवाजलाई जानकारी दिए ।

शनिबार दिउँसो करिब १२ बजेदेखि हराएकी भनिएकी अस्मिता तिनाउ नदीको बीच भागमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ माइत भएकी अस्मिताले गत वैशाख २६ गते विवाह गरेकी थिईन । गुल्मीको दरबार गाउँपालिका-४  घर भई हाल तिलोत्तमा-३ शंकरनगरमा सासुसँग घर भाडामा बस्दै आएका थिए ।

उनका श्रीमान अनिल चुँदाली शर्मा रोजगारका लागि भारतमा रहेका छन् । अस्मिताको परिवारले शनिबार दिउँसो करिब ३ बजेको समयमा छोरी हराएको खबर आफूहरुलाई सुनाएको अस्मिताका बुवा नागेन्द्र पटहरालले बताए । हराएको खबर पाएलगत्तै खोजीकार्यमा लागेका उनीहरुलाई अस्मिताको घरबाट नै आइतबार फोन गरि छोरी मृत भेटिएको जानकारी गराएका थिए ।

खबर पाएसँगै घटना स्थल तिलोत्तमा-६ पश्चिम पहुनी स्थित तिनाउ नदिमा पुग्दा छोरीको शवलाई उठाएर पोस्टमार्टमका लागि अस्पताल लगिएको पाइएपछि घटना शंकास्पद भएको माइती पक्षको आरोप छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केसीले घटना बारे थप अनुसन्धान अघि बढेको बताएका छन् । शवको पोस्टमार्टम पछिमात्रै अन्य कुरा जानकारी हुने उनले बताए । शव खोदामा घोप्टो अवस्थामा भेटिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।