ताजा अपडेट »

स्वास्थ्य राज्यमन्त्री विमला वलीमाथि कारबाही गर्न उनकै ‘प्रेमी’ भनिने एकराजको माग

शुक्रबार, १० असार २०७९, १५ : ५६
4 Shares

बुटवल । आफ्ना ‘प्रेमी’ भनिने एकराज बस्नेतको घरमा पुगेर ‘मेरो पोई खोई ?’ भन्दै उदण्ड मच्चाएकी लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य राज्य तथा परिवार कल्याण मन्त्री विमला वलीमाथि कारबाही हुनु पर्ने माग आएको छ । मन्त्री वलीसँग आर्थिक लेनदेनको कारोबार रहेको स्वीकार्दै ‘प्रेमी’ भनिने एकराज बस्नेतने उनीमाथि कारबाही माग गरेका छन् ।

गएको जेठ ३१ गते बिहान राज्यमन्त्री वली तुलसीपुर उपमहानगरपालिका वडा नं ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा गई एकराजकी श्रीमती मीना र साढे ३ वर्षकी छोरीमाथि कुटपिट गरेकी थिइन । घटना भएको दोस्रो दिन प्रदेश सरकारको असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री वली घटनाबारे सत्य तथ्य छानबिन गर्न कार्यदल गठन गरेको थियो । त्यही छानबिन समितिलाई दिएको बयानमा वाइसियलका नेता समेत रहेका बस्नेतले आर्थिक लेनदेनको कारोबार वलीसँग भएको स्वीकार गर्दै कारोवार आफूको भएकोले छोराछोरी र श्रीमतीसँग गरिएको दुर्व्यवहार र कुटपिटको सजाय उनले पाउनु पर्ने बताएका छन् ।

आफू घरमा नभएको अवस्थामा परिवार र बच्चामाथि गरेको व्यवहार असोभनिय रहेको भन्दै राज्यमन्त्री वली त्यस बापत कारबाहीको भागिदार हुनुपर्ने उनले छानबिन समितिलाई भनेका छन् । ‘मेरो र उहाँकाबीचमा साढे ६ लाख जतिको लेनदेन भएको हो तर त्यो रकम पनि मैले राज्यमन्त्रीज्यूकै आग्रहमा उहाँकै काममा खर्चिएको हो ।’ उनले छानबिन समितिलाई भनेका छन् । उनले राज्यमन्त्री वलीसँग हिसाब मिलान गर्छु भन्दा भन्दै पनि घरमै गएर गरिएको व्यवहार आफूलाई पनि सैह्य नभएको बताएको स्रोतले बतायो ।

पछिल्लो समय राज्यमन्त्री वलीले आफूले सापटी दिएको पैसा पटक-पटक माग्दा पनि नदिएको हुँदा बाध्य भएर पैसा माग्न घरै जानु परेको र आफूलाई त्यहाँ षड्यन्त्रपूर्वक फसाउन खोजिएको दाबी गर्दै आएकी छन् । तुलसीपुर पुगेको राज्यमन्त्री वलीमाथि छानबिन गर्न गठित आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा नेतृत्वको आयोगको टोलीले सरोकारवालाहरूसँग बिहीबार छलफल गरेको थियो । कार्यदलमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्ती मगर र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।