ताजा अपडेट »

'प्रेमी' खाेज्दै महिलामाथि कुटपिट गर्ने मन्त्री बिमला वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना

बुधबार, ०१ असार २०७९, १४ : ४२
6 Shares

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली उपचाका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी छन् । मुख्यमन्त्री कार्यालय श्रोतले दिएको जानकारी अनुसार मानसिक पीडापछि एक्कासी बेहोस भएको अवस्थामा उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।

मँगलबार विहान वाईसिएल नेता एकराज बस्नेतकी श्रीमती र छोरीलाई कुटपिट गरे लगत्तै उत्पन्न परिस्थितीलाई साम्य पार्न मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा उनलाई रातारात बुटवल ल्याइएको थियो । मुख्यमन्त्री निवासमा राखिएको उनलाई एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालको क्याविन नम्बर १ मा राखिएको मन्त्री वलीलाई बुधबार दिउसो करिब २ बजे भर्ना गरिएको अस्पताल श्रोतले जनायो ।

कुटपिटमा परेकी पीडित मिना भण्डारी बस्नेतले मन्त्री वलीविरुद्ध मंगलबार दाङमै किटानी जाहेरी दिएकी थिइन् । किटानी जाहेरी परेपछि मुख्यमन्त्री केसीले दाङका प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई बारम्बार फोन गरी हिरासतबाट छुटाएर बुटवल ल्याउन दवाव दिएका थिए । मुख्यमन्त्रीको दवाबपछि वलीलाई प्रहरी हिरासतबाट छुटाएर बुटवल ल्याइ मुख्यमन्त्री निवासमा राखिएको थियो ।

मंगलबार बिहान करिब ८ बजे अंगरक्षकसहित झण्डावाला गाडी लिएर दाङ तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी उनकी पत्नी मिना र नावालिक छोरीलाई कुटपिट गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो । राज्यमन्त्री वलीले आफ्नो फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरिएको तथा पैंसासमेत नदिएकोले आवेगमा आएर बस्नेतको घर पुगेको प्रहरीसमक्ष बताएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

पीडित मिनाले वलीविरुद्ध उजुरी दिए पनि दर्ता भएको छैन । हदम्याद भित्र प्रहरीले उजुरी दर्ता गर्ने प्रहरी स्रोतले बताएको छ । बाहालवाला मन्त्रीलाई पक्राउ गर्न र थुन्न पाउने कानुन नभएकाले दर्ता नभएको प्रहरीको दावी छ । “प्रदेश सभा चलिरहँदा सभामुखको पत्र वा आदेशबिना हामीले केही गर्न सक्ने अवस्था रहँदैन”–एक प्रहरी अधिकारीले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।