ताजा अपडेट »

प्रहरी नियन्त्रणमा रहेकी मन्त्री वली विरुद्ध जाहेरी लिन अस्वीकार, स्थानीयद्वारा कारबाही माग गर्दै नाराबाजी

मंगलबार, ३१ जेठ २०७९, १२ : २६
11 Shares

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई कारबाहीको माग गर्दै दाङको ईलाका प्रहरी कार्यालय तुलसिपुर अगाडी स्थानीयले नाराबाजी गरेका छन् । प्रेमी खोज्दै अर्कैको घरमा पुगेर हातपातमा उत्रिएकी मन्त्री वलीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै नाराबाजी भएको हो ।

वाईसिएल नेता एकराज बस्नेतको तुलसीपुर–५ अवस्थित घरमा पुगेर एकराज पत्नि मिना भण्डारी र उनकी ६ वर्षिया छोरीमाथि कुटपिट गरेको भन्दै पीडित तथा आफन्तले कारबाही माग गरेका छन् । घटना लगत्तै मन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय तुलसीपुर पुर्याएपछि स्थानीयहरुले कारबाहीको माग गर्दै जाहेरी दर्ता गराउनका लागि नाराबाजीसहित पुगेका थिए । एद्यपी प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको बताइएको छ । तुलसीपुरमा नाराबाजी हुन थालेपछि प्रहरीले कडा सुरक्षा दिएर मन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराही लगेको छ । जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी सुरेश प्रसाद काफ्लेको नेतृत्वमा स्कटिङ गरेर कडा सुरक्षाका बीच मन्त्री वलीलाई घोराही लगिएको हो ।

मँगलबार विहान वाईसिएल नेता बस्नेतको घरभित्रै गएर श्रीमती र छोरीलाई कुटपिट गरेपछि छिमेकीहरुले उनलाई घेराउ गरेका थिए । एकराजकी पत्नी मीना भण्डारीका अनुसार विमलाले उनको घरमा आएर एकराजलाई आफ्नो श्रीमान दाबी गर्दै कुटपिट र तोडफोडमा उत्रेकी थिइन् । आफू र आफ्नी ६ वर्षकी छोरीलाई उनले हातपात गरेको मीनाको भनाइ छ ।

मिनाले प्रहरीलाई वयान दिँदै भनिन्–‘बिहानै आएर गेटमा बेस्सरी हल्लाइ । को रहेछ भनेर गएँ । बाहिरबाट ‘ढोका खोल, ढोका खोल, भनेको सुनिनस्’ भन्दै चिच्याइरहेकी थिई । मैले ढोका खोलेँ । भित्र आउनासाथ ‘मेरो एकराज खोइ ?’ भन्दै पर्दाहरु तानेर छिनाइ । झुल पनि तानेर फाली । ‘मैले किन्देको लुगा’ भनेर सबै लुगा मिल्काइदिइई। अनि मलाई गालामा हानी । मेरो लुगा पनि च्यातचुत पारी । अर्को कोठामा गएर नानीलाई पनि हानिछे । नानी स्कुल जान ड्रेस लगाएर बसेकी थिई । अहिले रोइरहेकी छे । उसले एकराज मेरो पोइ हो भनिरहेकी थिई ।’

घटनापछि मीनाले आफ्नो जेठाजुलाई खबर गरेकी थिइन् । जेठाजुले प्रहरी बोलाएका थिए । ईप्रका तुल्सीपुरको प्रहरी आएर एकराजको कोठाबाट विमलालाई नियन्त्रणमा लिएको थियो । घटना हुँदा एकराज घरमा थिएनन् । एकराज र मीनाका एक छोरा र एक छोरी छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।