ताजा अपडेट »

विद्यालयमा किवी खेतीसहित विद्यार्थी अध्ययन गर्दै

मंगलबार, २२ चैत्र २०७८, १४ : ५०
4 Shares

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामस्थित धारा माध्यामिक विद्यालयका विद्यार्थी पढ्दै किवी खेती गर्न थालेका छन् । विद्यालयले विद्यार्थीलाई व्यावसायिक शिक्षाअन्तर्गत विद्यालय परिसरमै नर्सरी स्थापना गरी फलफूल तथा तरकारी खेती गर्न प्रोत्साहन गरेको हो।

कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थी पठनपाठनको अतिरिक्त व्यावसायिक शिक्षाको लागि किवी खेतीको व्यवहारिक अभ्यास गर्ने विज्ञान विषयका शिक्षक नरबहादुर पच्याले बताए । किवी उत्पादनबाट प्राप्त हुने आम्दानी विद्यालयको खातामा जम्मा गरिन्छ । 

किवी खेती व्यावसायिक शिक्षासँगै पाठ्यवस्तुसँग पनि जोड्ने गरिन्छ । विशेष गरी किवीको फूल खेल्ने बेला विद्यार्थीहरूलाई विरुवाको प्रजनन् (परागसेचन)बारे जानकारी दिइने गरिन्छ । किवीको भाले बिरुवाले उत्पादन दिँदैन । पूmल लाग्ने समयमा माहुरी, भमराजस्ता जीवले कसरी परागकण पोथी अंगमा पु¥याउन मद्दत गर्छ भन्ने विषयमा विद्यार्थीहरूलाई ‘फिल्ड’मै पुगेर अध्ययन गर्न लगाउने गरेको शिक्षक पच्याको भनाइ छ । 

विशेष गरी कक्षा ६ र ७ मा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी विद्यालयको जग्गामा करेसाबारी निर्माण गरिएको थियो । पूर्वव्यावसायिक शिक्षा अन्तर्गत विद्यार्थीलाई अभ्यास शिक्षणको लागि तयार गरेको नर्सरी विद्यालयलाई पनि आम्दानीको स्रोत बनेको छ । तल्लो कक्षामा पढने विद्यार्थीले किवीको बिरुवा आसपासमा सिमी लगायतका तरकारी खेती पनि गर्ने प्रधानध्यापक कमला थापाले बताइन् । पहिलो वर्ष १६० किलो किवी बिक्री भएको थियो ।

गत वर्ष मौसम प्रति कुल हुँदा ९९ किलो किवी २५० रुपैयाँको दरले बिक्री गरेको प्रअ थापाको भनाइ छ । उत्पादन भएको किवी सुरुमा विद्यार्थीलाई बाँडेर बाँकी रहेको मात्रा स्थानीय समुदायलाई सस्तो मूल्यमा बिक्री गरिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।