ताजा अपडेट »

नारीलाई पीडामाथि पीडा दिने कुसंस्कार !

आइतबार, २० चैत्र २०७८, १७ : ४६
18 Shares

पसलमा धेरै थरीका ग्राहकहरू आउनुहुन्छ । किनमेलकै क्रममा धेरै कुराकानीहरू पनि हुन्छन् । व्यापार आफ्नो ठाउँमा छ । बोलीचाली अनि ग्राहकसँगको सम्बन्ध साँच्चिकै मीठो र आत्मिय हुन्छ । मान्छे अनुसारको हुन्छ लुगा लगाउने तरिका । आफ्नो रोजाइको लुगा कसलाई मनपर्दैन र ? रहर भन्ने कुरा अचम्मको हुन्छ । आफ्नो रहर पूरा गर्न पाउँदा मान्छेको मन प्रफुल्ल हुन्छ।

जसरी पनि आफू राम्री देखिनु पर्यो । कोही आफूलाई मनपर्ने लगाउनुहुन्छ । कोही आफ्नो श्रीमानलाई मनपर्ने लगाउनुहुन्छ । कोही आफ्नो साथीलाई सोधेर मलाई कस्तो देखियो भन त ? भनेर साथीले सुहाएको छ भनेपछि मात्रै लिनुहुन्छ भने कोही मलाई नै सोध्नुहुन्छ । ‘मलाई कुन राम्रो देखिन्छ ? म हजुरले भनेको लिन्छु ।’भन्नुहुन्छ । यति अधिकार पाइसके पछि म पनि उहाँलाई सुहाउने मलाई मनपरेको लुगा दिन्छु ।

मेरो दैनिकी यसरी नै बित्छ कर्मथलोमा । धेरै थरीका महिलाहरूसँगको सम्पर्कमा रहने पेशा मेरो । साँच्चिकै मलाई केटी मान्छे असाध्यै मनपर्छ । एकछिनको बसाइँ पनि सारै रमाइलो हुन्छ । दुःख सुखका कुराहरू पनि हुन्छन् रमाइलो लाग्छ । अनि सोँच्छु, महिलाहरू कति भाग्यमानी ! यति राम्रा–राम्रा लुगा लगाउन पाउने ।’ महिलाको तुलनामा पुरुषहरूको लुगाको खासै धेरै भेराइटी देख्दिन म ।

प्रकृतिको सुन्दर रचना नारी आँफैमा कति राम्रा । दिनप्रतिदिन नयाँ–नयाँ फेसन श्रृङ्गारले महिलाको सुन्दरता अझै निखारिदै गएको छ । बजारमा देखिने झिली–मिलीमा करिब ९०% सामान महिलाकै हुन्छन्। पुराना कथाहरुमा पनि नारीको सुन्दरताको वर्णन धेरै नै गरिएको हुन्छ । फूलहरुले आफूलाई सिंगार्ने नारीहरू आजको युगमा धेरै फड्को मारिसके । सुन्दर हुन मन नपराउने नारी विरलै हुन्छन् ।

फेरि प्रसङ्ग पसलकै जोडेँ । एकजना महिला ग्राहक आउनुभयो । अनि सरसर्ती सबै लुगाहरू हेर्दा उहाँको आँखा टक्क उज्यालो सेतो रङ्गको कुर्था सुरुवालमा रोकियो । मैले खोलेर देखाइदिएँ सारै मनपराउनुभयो । मन परेको लुगा देखेर होला अनुहार पनि लुगाजस्तै चमक्क चम्कियो ।

‘हजुरलाई यो लुगा असाध्यै सुहाउँछ लिनुहोस् ।’ भनेँ । अनि अलिकति रातो मिसिएको भए हुने सेतै भो । मलाई सेतो रङ्ग असाध्यै मनपर्छ तर,…म एकछिन् भावुक र आश्चर्य भएँ रङ्गमा के आपत्ति छ ? र भने ‘लगाउनुहोस् आफूलाई मनपरेको रङ्ग …’उहाँले त्यो सेतो कुर्था सुरुवाल नहेरी अरु नै रङ्गको अलिकति रातो मिसिएको लुगा लिएर जानुभयो मैले हेरिरहेँ ।

त्यस्तै अर्काे आउनुहुन्छ, मान्छे राम्री हँसिली कुराकानीकै क्रममा थाहा भयो उहाँको श्रीमानको दुर्घटनामा मृत्यु भएको रहेछ, दुःख लाग्यो । उज्यालो रङ्ग मनपराउने उहाँ आफूलाई मनपर्ने रङ्ग रोज्न हिच्किचाउनु भयो । ‘धेरै दिन भएको छैन मान्छेले के भन्छन् ?’ म सोँचमग्न भएँ ।

त्यस्तै अर्को –
अकालमा श्रीमानको मृत्यु हुन्छ । सानासाना केटाकेटी छन् । आफ्नो उमेर त्यहीँ २७ –२८ वर्षको होला । कति ठूलो बज्रपात । आगनमा शव हुन्छ, मान्छेहरूको ओइरो लागेको छ । पार्टीका मान्छे आउँछन् , झण्डा ओडाउँछ्न्, मौन धारण गर्छन् । एउटा मान्छेको आवाज सुनिन्छ । ‘अब अन्तिम संस्कारको बेला भयो, चुरा पोते सिंदुर ल्याएर शवमा चढाउनुहोस् ।’ म झसङ्ग हुन्छु । एउटा कुनाबाट हेरिरहेकी थिएँ । त्यहाँ उपस्थित पार्टीका नेतृत्वगण, जसले समाज परिवर्तनका कुराहरु गर्छन् । तर…

कसैले पनि भन्न सकेनन् कि ‘यसरी चुरा–पोते सिन्दुर शवमा चढाउनु पर्दैन, यो कुसंस्कार हो । म मुकविहीन भएँ । सतिप्रथा अझै पनि कायमै भएको अनुभूति भयो । त्यो दिनभर मेरो मनमा धेरै कुराहरु आए । एउटा मनपरेको रङ्ग लगाउन नसक्ने नारी,
अर्की समाजले लादेको कुसंस्कारलाई चुपचाप जे गर भन्छन् त्यहीँ गर्ने अबला नारी ….
आफ्नो प्यारो मान्छेसङ्गै आफ्ना रहर, इच्छा सबै शवमा चढाउन बाध्य एक निर्दोष नारी …
श्रीमानको मृत्यु पश्चात् यो गर्न हुन्छ, त्यो गर्न हुन्न भनी सिकाउने समाज ,
पाप लाग्छ !

यो सिसाको चुरा कहिले बनेको होला,यो पोते कहिले कहाँ बनेको होला, यो रङ्गको आविष्कार कहिले भएको होला,यो सिन्दुर टीका कहिले बनेको होला ? मेरो मन बेचैनी भयो । मैले धेरै सोँचे सिसाको चुरा त अहिलेसम्म नेपालमा बनेकै छैन होला । वर्षेनी कति अर्बको चुरा आयात भएको समाचारमा सुन्छु । आफ्नो प्यारो मान्छेसँगको सम्बन्धलाई यो चुरा,पोते र रातो रङ्गले किन जोडेको छ ? कसले बनायो यो नियम ?

यदि भगवानले बनाएको नियम भए पतिको मृत्युपछि शरीरमा बगेको रातो रगत पनि सेतो हुनुपर्ने, बाहिरी आवरण सेतो , शरीरभित्रको रगत रातो किन? सानो सानो कुरामा खुसी हुने अरुको खुसीलाई जीवन समर्पित गर्ने नारीलाई आफू रमाउने र खुसी हुने अधिकार किन छैन ? कसले रोकेको छ ?

मान्छेको जीवन कर्कलाको पानी हो । पति/पत्नी एक रथका दुई पाङ्ग्रा हुन् । समान नियम किन लागू हुँदैन ? मृत्यु भनेको अन्तिम सत्य हो । यो कतिखेर कसको हुन्छ ? कसैलाई थाहा हुँदैन । समाजमा अबला नारीको बारेमा पतिको मृत्युपछि नचाहिँदो विषयमा चर्चा परिचर्चा हुनेगर्छ ।अझै भनौँ चर्चा गर्नै नपर्ने विषय कस्तो लगाई ,के लगाई, खुसी छ कि दुःखी छ ? अनि सारै नराम्रो त उनलाई गरिने व्यवहार र हेर्ने दृष्टिकोण आदि इत्यादि । यसलाई म अज्ञानता भनुँ कि, हेपाहा प्रवृत्ति ?आधा अङ्ग अर्थात् अर्धाङ्गिनी । ल नियमकै कुरा गरौँ, पत्नीको वियोगमा जुन नियम पतिलाई लागू हुन्छ । त्यही नियम पतिको वियोगमा पत्नीलाई पनि लागू हुनुपर्छ ।

घर–धन्दा चलाउन सार्है गार्हो भयो । अब त अर्को बिहे गर्नुपर्छ भनेर पत्नी मरेको १ महिना नबित्दै घरजम गरेका उदाहरण पनि धेरै छ्न् हाम्रो समाजमा । महिलाबिना एकछिन बाँच्न नसक्ने पुरुष । पत्नी मरेको बेलामा पतिलाई मलामी पनि लैजादैनन् । किनभने अर्को बिहे गर्नुपर्छ भनेर । पत्नी मरेकै दिन पतिलाई बाटो खुलाइदिन्छ समाजले अर्को बिहे गर्नुपर्छ भनेर ।

तर, पति मरेपछि पत्नीको जीवन जीउँदै मरेतुल्य बनाइदिन्छ्न् बेरङ्गी । हो यहीँ नियम महिलामा पनि लागू हुनुपर्छ । कति गार्हो हुन्छ, आफ्नो प्यारो मान्छेको वियोग त्यसैमाथि नचाहिँदा कुसंस्कार थोपरेर , आफ्ना इच्छा चाहनालाई मारेर उराँठ जिन्दगी जिउनुपर्ने यो कस्तो नियम हो ?

नचाहिने, बिनाप्रमाण र बिना तुकका नियमले अहिले पनि यो समाजले महिलालाई जिउँदै जलाइरहेको छ । दुस्ख आफ्नो ठाउँमा छ । त्यसमै पनि हाम्रो दैनिक चलिनैरहेको हुन्छ । यसमा आफूले लगाइरहेको सामानहरूसँग श्रीमानको मृत्युको कुनै सम्बन्ध छैन ।

बिहे हुनु अघि पनि श्रृङ्गारका सामानहरू लगाइरहेकै हुन्छन् धेरै जसो सामानहरू । बिहेमा अलि धेरै राम्री देखिनको लागि अलि बढी नै लगाइएको मात्रै हो । दुःख,सुखलाई आत्मसात् गर्दै आफूखुसी बाँच्न पाउनु मान्छेको नैसर्गिक अधिकार हो । कसैको जीवनलाई लिएर अनावश्यक हस्तक्षेप गर्नु जघन्य अपराध हो । मानवता बिरोधी कार्य हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।