ताजा अपडेट »

दीपेन्द्रकाे शतकमा मलेसियामाथि नेपालकाे सानदार जित, उपाधिको लागि पीएनजीसँग भिड्ने

शनिबार, १९ चैत्र २०७८, १६ : ५०
14 Shares

काठमाडौँ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी शतकमा नेपालले त्रिकोणात्मक टि-२० आई सिरिजमा मलेसियालाई ८५ रनले पराजित गरेको छ ।

नेपालको सानदार जितसँगै रनरेटको आधारमा मलेसियालाई पछाडि पार्दै पपुवा न्युगिनी (पीएनजी) फाइनलमा पुगेको छ । उपाधिको लागि सोमबार नेपाल र पीएनजी भिड्नेछन् ।

जितका लागि २ सय २४ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १९.५ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । मलेसियाका लागि ओपनर विरनदीपसिंहले २६ बलमा ९ चौकासहित सर्वाधिक ४७ रनमा आउट भए ।

कप्तान अहमद फैज ३१ बलमा ३ चौकासहित ३३ रनमा आउट भए । सैद अजिज १७ र अनुल अफिज १८ रनमा आउट भए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कप्तान सन्दीप लामिछानेले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले २ ओभरमा २० रन खर्चेर २ विकेट लिए । शतक प्रहार गरेका दीपेन्द्रले ३ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेल र रोहित पौडेलले १-१ विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २३ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले ५७ बलमा १० चौका र ६ छक्कासहित सर्वाधिक १ सय १० रनमा अविजित रहे । दीपेन्द्रले ५५ बलमा शतक पूरा गरेका थिए । 

उनी नेपालबाट टि-२० आईमा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टि-२० आईमा शतक प्रहार गरेका थिए । यसअघि टि-२० आईमा उत्कृष्ट प्रदर्शन फिलिपिन्सविरुद्ध ८३ रन थियो ।

योसँगै दीपेन्द्र नेपालबाट टि-२० आईमा एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । उनले पूर्व कप्तान ज्ञानेन्द्र मल्लको भुटानविरुद्ध १ सय ७ रनको कीर्तिमान तोडेका हुन् । ज्ञानेन्द्रले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ५५ बलमा ५ चौका र ९ छक्कासहित १ सय ७ रनको इनिङ खेलेका थिए ।

रोहित ३४ बलमा ५ चौकासहित ५१ रनमा आउट भए । रोहितले ३२ बलमा टि-२० आई करिअरको पहिलो अर्धशतक पूरा गरेका थिए । तेस्रो विकेटका लागि दीपेन्द्रले रोहित पौडेलसँग ९६ रनको साझेदारी गरेका थिए । तल्लोक्रमका आदिल अन्सारी १४ रनमा आउट भए ।

तेस्रो ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर मोहम्मद वाफिकको बलमा १२ रनमा एलबीडल्लू आउट गरे । उनले ८ बलमा २ चौका प्रहार गरे । अर्का ओपनर आसिफ शेख बायाँ हाते स्पिनर पवनदीप सिंहको चौथो ओभरको दोस्रो बलमा मिडअफमा शर्विन मुनीआन्दीबाट १८ रनमा क्याच भए । 

मलेसियाका लागि मोहम्मद वाफिक, पवनदीप सिंह, स्याजरुल इद्रस र मोहम्मद आमिरले १–१ विकेट लिए । नेपाल अपराजित रहँदै फाइनलमा पुगेको हो । नेपालले पीएनजीलाई १५ रन र ३७ रनले हराएको थियो । मलेसियालाई पहिलो खेलमा ६ विकेटले पराजित गरेको थियो । मलेसिया र पीएनजी दुबैको २-२ अंक रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।