ताजा अपडेट »

आफ्नै कारणले जोखिममा मुटु

शनिबार, १३ कार्तिक २०७८, ०७ : १४
46 Shares
शनिबार, १३ कार्तिक २०७८
46 Shares

काठमाडौँ । गत जेठमा काठमाडौंका २९ वर्षीय युवकको छाती एक्कासि असह्य हुनेगरी दुख्यो। उनलाई उपचारका लागि सहिद गंगालाल हृदय केन्द्र पुर्‍याइयो। आकस्मिक कक्षका चिकित्सकले उनलाई हृदयाघात भएको पत्ता लगाए। उनको मुटुको नसा बन्द भएको थियो। एनजिओप्लास्टी गरी उनको बन्द भएका नसा खुलाइएको उपचारमा संलग्न केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए।

हृदयाघातको उपचारपछि चिकित्सकले मुटु सञ्चालन प्रक्रियाको जोखिम अवस्था तथा कारण खोजे। थप जोखिम छ कि छैन भनेर पत्ता लगाउन उनको एनजिओग्राफी (मुटुको अवस्था हेर्ने जाँच) गरियो। हृदयाघातको कारण खोजी गर्दा उनले नियमित चुरोट सेवन गरेको पाइएको डा. अधिकारीले बताए।

उपचारपछि अहिले उनको स्वास्थ्य अवस्था सामान्य छ। ती युवकको उपचारलगत्तै डा. अधिकारीले सामाजिक सञ्जालमा चुरोट सेवनका कारण हृदयाघात भएको र कोरोना महामारीबीच पनि उनको उपचार गर्न अस्पताल सफल भएको पोस्ट गरेका थिए। उनले लेखेका थिए, ‘कम उमेरमै हृदयाघात भएका ती युवक चुरोटे थिए।’ डा. अधिकारीका अनुसार ती युवकले दैनिक धेरै चुरोट सेवन गर्थे।

त्यस्तै, तीन वर्षअघि नुवाकोटका ३२ वर्षीय युवकको पनि एक्कासि छाती दुख्यो। उनलाई आफन्तले उपचारका लागि तत्कालै मनमोहन कार्डियो थोरासिक तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्ज पुर्‍याए।उपचारक्रममा चिकित्सकले मुटुको नसा बन्द भएर हृदयाघात भएको पत्ता लगाए। उनको मुटुका तीनवटा नसा बन्द भएका थिए। उपचारमा संलग्न चिकित्सक डा. रत्नमणि गजुरेलका अनुसार ती युवकलाई उच्च जोखिमको हृदयाघात भएको थियो। एनजिओप्लास्टी गरी उनको मुटुका बन्द नसा खोलेर बचाउन सफल भएको डा. गजुरेलले बताए।

ती युवकको उपचारपछि चिकित्सकले हृदयाघातको कारण खोजी गरे। उनको शरीरमा कोलस्ट्रोल थिएन, मधुमेह पनि थिएन। त्यसपछि चिकित्सकले बिरामीको जीवनशैलीबारे खोजी गरे। ती युवकले पनि दैनिक दुईबट्टा चुरोट सेवन गरेको पत्ता लाग्यो।

यसैगरी छाती दुखेपछि मनमोहन कार्डियो थोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेकी काठमाडौं बालाजुकी २८ वर्षीया महिलालाई पनि हृदयाघात भएको पत्ता लाग्यो। डा. गजुरेलका अनुसार सामान्यतया गर्भावस्थामा र ४५ वर्ष कम उमेरका महिलामा हृदयाघात हुँदैन भन्ने मान्यता छ।

तर ती महिलामा यसको ठीक उल्टो भएका थियो। उनी गर्भावस्थाकी थिइन् र उमेर पनि २८ वर्षमात्रै थियो। ती महिलाको एनजिओप्लास्टीबाट उपचार गरियो। गर्भावस्थामा यो उपचार गर्नु जोखिमपूर्ण मानिन्छ। तर गर्भलाई सुरक्षित राखी उपचार गर्न सफल भएको डा. गजुुरेलले बताए।

उपचारअघि चिकित्सकले गर्भावस्थाका कारण मुटुको नसा आफैं फाटेको हुनसक्ने अनुमान लगाएका थिए। तर जाँचका क्रममा यो अनुमान सही देखिएन। चिकित्सकले उनलाई हृदयाघात हुनुको कारण खोजी गर्दा मधुमेह भएको पाए। त्यसमाथि उनले नियमित चुरोट सेवन गर्दिरहिछन्।हृदयाघात भएका उल्लिखित मानिस प्रतिनिधि पात्रमात्र हुन्। हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या पछिल्ला वर्षमा बढ्दै गएको मुटुरोग विशेषज्ञ बताउँछन्।

सहिद गंगालाल हृदय केन्द्रमा हृदयाघात भएर पुग्ने युवा तुलनात्मक रुपमा २४ वर्षदेखि ४५ वर्ष उमेरसम्मका धेरै रहेको केन्द्रका निर्देशक डा. अधिकारीको अनुभव छ। ‘अस्पतालमा दैनिकजसो युवा हृदयाघात भएर आइरहेका हुन्छन्, कतिपय २४/२५ वर्षका पनि छन्’, उनले भने।

सन् २०१८ मा केन्द्रमा भएको अध्ययनअनुसार हृदयाघात भएर भर्ना भएका मध्ये १२ प्रतिशत ४५ वर्ष उमेरमुनिका युवा थिए। तीमध्ये २ दशमलब २ प्रतिशत ३५ वर्षमुनिका थिए। सन् २०१५ मा हृदयाघात भएका २४ देखि ४५ वर्ष उमेरभित्रका युवाको संख्या १०.९ प्रतिशत थियो।

अध्ययनले हृदयाघातबाट पीडितमध्ये ५४ प्रतिशत धूमपानका अम्मली, ३६.६ प्रतिशत उच्च रक्तचापका रोगी, २५.३ प्रतिशत मधुमेहका रोगी, ७.८ प्रतिशत कार्डिसियल र डाइस्लिपिडेमिया भएका थिए। अध्ययनले हृदयाघात भएका मध्येमा ३९ प्रतिशत धूमपान गरिरहेका, ४३.६ प्रतिशत धूमपान नगरेका र १४.८ प्रतिशत पहिला धूमपान गरेर छाडेका देखाएको छ। 

अध्ययनले धेरैजसोमा आधुनिक जीवनशैलीका कारण कम उमेरमै हृदयाघात तथा मुटुसम्बन्धी अन्य रोग निम्तिएको देखाएको छ। केन्द्रले सन् २०१८ मा गरेको सो अध्ययनले हृदयाघातका कारक तत्वहरू उच्च कोलस्ट्रोल, उच्च रक्तचाप, मधुमेह, धूमपान र तनाव देखाएको थियो। यो समाचार आजको नागरिक दैनिकमा छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।