ताजा अपडेट »

कांग्रेस अधिवेशन : कार्यकर्ता ओसार्न मात्रै ३४ लाख ५० हजार खर्च

बुधबार, २० असोज २०७८, १७ : २२
8 Shares

बाजुरा । जिल्ला अधिबेशनमा सहभागी गराउन भन्दै गाउँबाट कार्यकर्ता ओसार्न बाजुरा कांग्रेसले ३४ लाख ५० हजार खर्च गरेको छ । यस्तै, प्रचारप्रसार, पम्पप्लेट छपाइमा ३४ लाख, सादा खानामा मात्रै एक करोड ५० लाख, खाजा खर्चमा १७ लाख ५० हजार, पेयपदार्थ र स्न्याक्समा एक करोड जाति खर्च हुने नेपाली कांग्रेस बाजुराले जनाएको छ ।

यसमाथि उम्मेदारले कति खर्चे गर्छन भन्ने बारे कुनै हिसाब छैन । उनीहरूले मतदाता रिझाएर तान्न समेत रकम खर्चेको घटना सार्वजनिक भएको छ ।  सदरमुकाममा भोटर भन्दा बढी शुभेच्छुकको चहलपहल छ । हालसम्म अधिबेशनका नाममा तीन करोड ३६ लाख रुपैयाँ औपचारिक रुपमा खर्च भइसकेको छ । महाधिबेशनका कारण मार्तडीको होटल र व्यापारलाई पनि राहात पुगेको छ । कोरोना महामारीले लामो समयदेखि थलिएको व्यापार व्यवसाय केही मात्रामा भए पनि राहत मिलेको एक व्यापारीले बताए । 

जिल्लाका नौ स्थानीय तहका ६९ वडाका १२ सय सात प्रतिनिधि सदरमुकाम आइपुगेका छन् । पुर्वी उत्तर क्षेत्रका सभापति रामबहादुर बोहराका अनुसार यस क्षेत्रका मात्रै पाँच सय दुई जना प्रतिनिधि छन् । उनीहरूको कोल्टी–मार्तडीसम्मको यातायात भाडा एक जनाको एक हजारका दर खर्च गरेको बताए । निर्वाचन क्षेत्र नम्बर ख का ६ सय ९६ जना प्रतिनिधि छन् । मार्तडी बाहेककाले तीन सय भाडा तिरेर सदरमुकाम आएका छन् ।

मतदाता १२ सय तर तीन गुना कार्यकर्ता सदरमुकाममा

कांग्रेसका एक नेताका अनुसार बजुरामा जम्मा १२ सय मतदाता छन् । तर, त्यसको तीन गुणा बढी कार्यकर्ता सदरमुकाममा भेला भएका छन् । करिब तीन हजार पाँच सय कार्यकर्ता सदरमुकाममा छन् । 

प्रदेश ख को प्रदेश प्रतिनिधिका उम्मेदवार रामप्रसाद रेग्मीले केही खर्च नगर्दा पनि ३५ हजार रुपैयाँ खर्च भइसकेको बताए । ‘अरुको पनि त्यसरी नै खर्च भएको छ । सभापति र ठूला पदका उम्मेदारको खर्च अझै बढी छ,’ उनले थपे । जिल्ला अधिवेशनमा एक सय ७० जना उम्मेदवार छन् । 

जिल्ला सदरमुकाममा १० दिनदेखि ३५ सय नेता कार्यकर्ता र प्रतिनिधि भेला भइरहेका छन् । उनीहरूले एक दिनमा दुई छाक सादा खाना मात्रै खाए पनि (एक सय पचासका दर) एक दिनमा १० लाख पचास हजार लाग्छ । यही हिसाबमा १० दिनको एक करोड ५० लाख खर्च हुने एक नेताले बताए । उनीहरूले चिया र खाजामा दैनिक ५० रुपैयाँ खर्च गरे एक लाख ७५ हजार हुन्छ भने १० दिनमा १७ लाख पचास हजार रुपैयाँ खर्च हुन आउँछ । यसमा मदिराजन्य सामग्री र स्न्याक्सको हिसाब नै छैन । महाधिबेशनको मत गणना भइरहेको छ । बाजुरामा हिजो मंगलबार महाधिबेशन सकिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।