ताजा अपडेट »

रुपन्देहीमा राजनीतिक स्वार्थ अनुसार खोप वितरणको आरोप

शुक्रबार, ०४ भदौ २०७८, १७ : २१
4 Shares

बुटवल । रुपन्देहीमा कोरोना भाइरसविरुद्धको खोप राजनीतिक पहुँचका आधारमा लगाउन थालिएको भन्दै आलोचना हुन थालेको छ । संघसंस्थामार्फत लगाइने खोपमा सरोकारवाला निकायले नै राजनीति गरेको आरोप लागेको हो ।

खोपमा राजनीति गरिएको भन्दै केही दिनअघि मात्रै तिलोत्तमा चेम्बर अफ कमर्शले प्रमुख जिल्ला अधिकारी र जनस्वास्थ्य प्रमुखको ध्यानाकर्षण गराएको थियो । तिलोत्तमा उद्योग बाणिज्य संघ र तिलोत्तमा चेम्बर अफ कमर्शले आफ्ना व्यवसायीहरुलाई प्रमुख जिल्ला अधिकारीको तोक आदेशका आधारमा खोप उपलव्ध गराएका छन् । जिल्ला प्रशासनको तोक आदेशमा जनस्वास्थ्य कार्यालयले उपलव्ध गराएको खोप दुई संस्थाबीच नै विभेद गरेको देखिएको छ ।

करिव एक हजार व्यवसायी रहेको तिलोत्तमा उद्योग बाणिज्य संघलाई दुई हजार डोज खोप उपलव्ध गराइएको छ भने १८ सय भन्दा बढी व्यवसायी आवद्ध रहेको तिलोत्तमा चेम्बर अफ कमर्शलाई एकहजार डोज मात्र उपलव्ध गराइएको छ । त्यसमा पनि पाँचसय डोज तिलोत्तमा नगरपालिकाको पहलमा उपलव्ध भएको संस्थाका अध्यक्ष बाबुलाल भुसालले बताए ।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा जिल्ला प्रशासनमार्फत जनस्वास्थ्यले दुईहजार डोज खोप उपलव्ध गराएको तिलोत्तमा उद्योग बाणिज्य संघका एक सदस्यले बताए । यता, चेम्बर अफ कमर्शले भने कोरोना विरुद्धको खोपमा पनि भोटको राजनीति गरिएको आरोप लगाएको छ । संस्थाले तिलोत्तमा नगरपालिकालाई पत्र लेख्दै राजनीतिक पहुँचका आधारमा खोप उपलव्ध गराउने काम तत्काल रोकी नगरपालिकामार्फत यसको व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ ।

संस्थाका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डेले व्यवसायीका नाममा राजनीतिक स्वार्थ अनुसार खोपको दुरुपयोग रोक्न माग गरे । “हाम्रा १८ सय भन्दा बढी व्यवसायी छन्, बल्लतल्ल एकहजार डोज पाइयो, तर एक हजार व्यवसायी भएको उद्योग बाणिज्य संघलाई दुईहजार डोज दिइयो, यो सरासर विभेद हो, खोपमा राजनीति बन्द गर्नुपर्छ”–उनले भने ।

तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष माधव भण्डारीले संघमा १३ सय व्यवसायी आवद्ध रहेको तर २७ सय डोज खोप लगाइएको बताए । “व्यवसायीलाई मात्र लगाएर भएन, कर्मचारी, कामदार र तिनका परिवारलाई पनि लगाउनै प¥यो, यसले गर्दा धेरै देखिएको हो”–उनले भने ।
जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जनस्वास्थ्यले पालिकामार्फत मात्रै खोप उपलव्ध गराएको बताए । “कसैले बढी पाएको भए मन्त्रालयसँग समन्वय गरेर लगेका होलान्, नभए हामीले पालिकामार्फत नै उपलव्ध गराएका छौं”–उनले भने । उमेर समूह छाडेर संघसंस्थामा जाँदा खोपमा विकृती देखिएको उनले स्वीकार गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।