ताजा अपडेट »

प्रहरीले फेरि शुरु गर्यो ‘तपाईंको मास्क खोइ ?’ अभियान

सोमबार, २५ साउन २०७८, १० : ३१
8 Shares

काठमाडौँ । कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन ।

सरकारको ‘नेपाल मास्क अभियान’ घोषणासँगै प्रहरीले पनि आफ्नो अभियानलाई तीव्रता दिएको हो । सरकारले सहीरूपमा मास्क लगाउन र नलगाउनेलाई मास्क लगाउनका लागि प्रेरित गर्न शनिबारमात्रै उक्त अभियान घोषणा गरेको थियो । कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ ’ कार्यक्रमअन्तर्गत आइतबारमात्रै १० हजार ७६ लाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार प्रहरीले गत वैशाख ६ गतेदेखि हालसम्म पाँच लाख ३७ हजार ७४९ लाई मास्क वितरण गरिसकेको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसलाई रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘सङ्क्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित उक्त अभियान थालेको थियो ।

यस्तै कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने १६१ लाई कारवाही गरी रु १६ हजार जरिवानासमेत गरिएको जनाइएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने तीन हजार ७१७ लाई रोकी सम्झाइबुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चा पम्प्लेटसहितको १४६ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत १४ हजारभन्दा बढीलाई सचेत गराइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आइतबार काठमाडौँ उपत्यकामा ९५१ जनामा कोभिड–१९ सङ्क्रमण भएको छ । मुलुकभर गरेर दुई हजार ५४५ मा सङ्क्रमण भएको छ । आइतबारको २४ घण्टामा केही साताकै उच्च ५५ जना सङ्क्रमितको निधन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ९३ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमित भई निको हुने दर ९३ दशमलव छ प्रतिशत छ । हालसम्म छ लाख ६९ हजार २९९ जनाले कोरोना जितेका छन् । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।