ताजा अपडेट »

एकैपटक ८ जना क्यान्सर तथा मृगौला पीडितका लागि उपचार सहयोग जुटाउँदै टोण्टा फाउण्डेशन

आइतबार, २४ साउन २०७८, १८ : ४६
4 Shares

बुटवल । विभिन्न सामाजिक कार्य गर्दै आएको टोन्टा फाउण्डेशन नेपालले एकैपटक ८ जना विरामीको उपचारको लागि अभियान चलाएको छ । फाउण्डेशनले विपन्न परिवारका गम्भीर रोग लागेकाहरुको उपचाररर्थ आर्थिक सहयोग तथा उपचारका लागि अभियान सञ्चालन गरेको छ ।

टोण्टा फाउण्डेशनको सामाजिक कार्य अन्तर्गत ‘नागरिक बचाऊ अभियान’ चलाउँदै यस अघिपनि मिर्गौला, क्यान्सर पीडितहरुलाई उपचारका लागि सहयोग पुर्याउँदै आएको छ । त्यसैगरी कोरोना महामारी र लकडाउनमा ५० बढी परिवारलाई खाद्यान्न सहयोग गरेको थियो।

हाल फाउण्डेशनले ४ क्यान्सर, एक मिर्गौला पीडित किशोरी, एक युवती सहित क्यान्सर र मिर्गौला पीडित ८ जनाको उपचारका लागि आर्थिक संकलन तथा अन्य सहयोगका लागि अभियान सञ्चालन गरेको फाउण्डेशनका अध्यक्ष सुरेश विश्वकर्माले बताए । उनले भने 'नागरिक बचाऊ भन्ने संस्थाको उद्देश्य अनुसार हामीले गम्भीर रोग वा कमजोर शारीरिक अवस्थाबाट गुज्रेका विपन्न तथा गरिबहरुका लागि सहयोग तथा उपचारको लागि अभियान सञ्चालन गर्दै आएका छौं ।’

रुपन्देहीको तिलोत्तमामा केन्द्रिय कार्यालय रहेको टोण्टा फाउण्डेशनले रुपन्देही,कपिलबस्तु,गुल्मी,नुवाकोट,कास्की का ८ जना क्यानसर र मिर्गौला पीडितहरुको उपचाारका लागि सहयोग अभियान सुरु गरेको छ । फाउण्डेशनले उनीहरुका नाममा विवरणसहित पम्पलेट छापेर सहयोगका लागि अपील गरेको छ ।

१. देवदहका १० वर्षिय क्षितिज नेपाली (क्यान्सर पीडित)
फाउण्डेशनले ५ महिना अघिदेखि क्यान्सरबाट पीडित भएका रुपन्देहीको देवदहका १० वर्षिय क्षितिज नेपालीको उपचारका लागि पनि सहयोग जुटाउन लागेको छ । देवदह–२ का क्षितिज विपन्न परिवारका सन्तान हुन् । उनको चितवनको भरतपुर स्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अभावका कारण उनको उपचारमा समस्या हुँदै आएको छ । उनको उपचारको लागि फाउण्डेशनले उनकी आमा रेखा भुसालको नाममा रहेको गरिमा विकास बैंकमा सिँधै सहयोग गर्न अपील गरेको छ ।

२.बुटवलका ११ वर्षिय शुसान्त परियार (ब्लड क्यान्सर पीडित)
टोण्टा फाउण्डेशनले ब्लड क्यान्सरबाट ग्रसित रुपन्देहीको बुटवल उपमहानगर–११ का ११ वर्षिय बालक शुसान्त परियारको उपचारका लागि सहयोग जुटाउँदै छ । उनको पनि चितवनको भरतपुर स्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उनका परिवारको पनि आर्थिक अवस्था निकै कमजोर भएको र उपचारका लागि आवश्यक खर्च अभाव रहेको हुँदा फाउण्डेशनले सहयोग जुटाउन लागेको फाउण्डेशनकन कार्यक्रम संयोजक केशव बेल्बासेले बताए । निषेद्याज्ञामा जिविकोपार्जनका लागि समेत धौं–धौं भएपछि फाउण्डेशनले उनको परिवारलाई खाद्यन्न पनि सहयोग गरेको बेल्बासेले बताए ।उनको उपचारको सहयोगको लागि फाउण्डेशनले उनको आमा सञ्जु परियारको नाममा कामना विकास बैंकमा रहेको खातामा सिधा सहयोगका लागि अपील गरेको छ ।

३.कपिलबस्तुकी १६ वर्षिया आशिका पुन (मिर्गौला पीडित)
टोण्टा फाउण्डेशन नेपालले मिर्गौला पीडित कपिलबस्तु बुद्धभूमि –१ की १६ वर्षिया आशिका पुनको उपचारका लागि पनि सहयोग संकलनका लागि आह्वान गरेको छ । मिर्गौला रोगका कारण लामो समयदेखि ग्रसित आशिकाको उपचारका लागि आर्थिक समस्या पर्दै आएको छ । परिवारले उनको उपचारमा लाग्ने खर्च व्यवस्थापन गर्न नसक्दा १६ वर्षिया किशोरीको जीवन रक्षाका लागि फाउण्डेशनले उनको आमाको नाममा एनएमबी बैंकमा रहेको खातमा आर्थिक सहयोग गर्न देश–विदेशमा रहने सम्पूर्णमा अनुरोध गरेको छ ।

४.गुल्मीकी २३ वर्षिया शर्मिला गन्धर्व (मिर्गौला पीडित)
२३ वर्षिया मृगौला पीडित शर्मिला गन्धर्व बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत छिन् । धुर्कोट गाउँपालिका–६ ,गुल्मीकी शर्मिलाका दुबै मिर्गौला बिग्रेर समस्या भएपछि उनलाई उपचारका लागि रुपन्देही ल्याइएको हो । नियमित मिर्गौला डायलासिस गराउँदै आएकी उनलाई एक मिर्गौला तत्काल प्रत्यारोपण गर्नुपर्ने छ । तर, अािर्थक अभावका कारण उनको उपचार र मृगौला प्रत्यारोपणका लागि समस्या छ । उनको उपचारका लागि फाउण्डेशनले सहयोग संकलन अभियान चलाएको छ । सहयोग गर्न उनको श्रीमानको नाममा रहेको एनआइसी एशिया बैंकको खातामा रकम पठाई उनलाई सहयोग गर्न फाउण्डेशनले अपील गरेको छ ।

५. पोखराकी ३ वर्षिया दिप्ती सापकोटा (ब्लड क्यान्सर)
भर्खरकी कोपिला कास्कीकी तीन वर्षिया दिप्ती सानैमा ब्लड क्यान्सर ग्रसित छन् । पोखरा उपमहानगरपािलका –३१ की दिप्ती गम्भीर रोगबाट ग्रसित छिन् । उनको उपचारका लागि आवश्यक खर्च जुटाउन उनको परिवारलाई धौं–धौं छ । आर्थिक अभावका कारण उपचारका लागि समस्या परेकी उनलाई टोण्टा फाउण्डेशनले सहयोग गरेको छ । उनको लागि आर्थिक संकलन अभियान सुरु गरेको फाउण्डेशनले गरिमा विकास बैंकमा उनको वुवाको नाममा रहेको खातामा सहयोग जम्मा गर्न देश–विदेशमा रहेका सम्पूर्णलाई अनुरोध गरेको छ ।

६.नुवाकोटका ५ वर्षिय फुर्वा दोर्जे तामाङ (क्यान्सर)
सानैमा क्यान्सर रोगबाट ग्रसित बनेका नुवाकोटका ५ वर्षिय फुर्वा दोर्जे तामाङलाई उपचारको खाँचो छ । र,उपचारका लागि अािर्थक अभाव भएको हुँदा फाउण्डेशनले ‘फूवा दोर्जे तामाङ बचाउ अभियान ’ सुरु गरेको छ । जिल्लाको ककनी गाउँपालिका –रानीपौवाका तामाङको परिवार आर्थिक रुपमा कमजोर भएको हुँदा उनको उपचारका लागि आवश्यक खर्च जुटाउन फाउण्डेशनले आर्थिक संकलन अभियान चलाएको हो । उनलाई सहयोग गर्न एभरेष्ट बैंकमा रहेको सुजता मगरको खातामा रकम संकलन गर्न फाउण्डेशनले सहयागीहरुसँग आग्रह गरेको छ ।

७.कपिलबस्तुका ३९ वर्षिय सूर्य गुरुङ (मिर्गौला पीडित)
टोण्टा फाउण्डेशनले दुबै मिर्गौला पीडित कपिलबस्तुका सूर्य गुरुङको उपचारका लागि पनि ‘सूर्य गुरुङ बचाउ अभियान’ जारी राखेको छ । शिवराज नगरपालिका–१ बस्ने गुरुङ २ वर्षदेखि सिद्धार्थनगर सिटी अस्पताल ,बुटवलमा डायलासिस गराउँदै आएका छन् । उनको घरमा ८६ वर्षिय वृद्ध आमा मात्रै छिन् । आर्थिक र अन्य साहारा नभएका उनलाई उपचारमा समस्या पर्दै आएको छ । उनको सहयोगका लागि एभरेष्ट बैंकमा रहेको उनकै नामको खातामा सहयोग जुटाउन फाउण्डेशनले सबैमा आग्रह गरेको छ ।

८. पर्वतका २१ वर्षिय विनोद बि.क. (मिर्गौला पीडित)
२१ वर्षिय युवा केहि गर्ने भविष्य बनाउने अभियानमा लाग्ने समयमा गम्भीर समस्या कारण अस्पतालमा छन् । मिर्गाैला पीडित पर्वतका विनोद बि.क. चरक मेमोररियल हस्पितल पोखरामा मृगौला डायलासिस गर्दै आएका बि.क. फलेबास नगरपालिका–११, पाङराङका कासिन्दा हुन् । उनलाईमृगौला प्रत्यारोपणको आवश्यकता छ । यसका लागि आर्थिक अभाव भएको हुँदा टोण्टा फाउण्डेशनले ‘ विनोद बि.क. बचाउ अभियान चलाएको छ । उनलाई सहयोग गर्न ग्लोबल आइएम ई बैंकमा बिमलराज बि.क.को खातामा रकम जम्मा गर्न फाउण्डेशनले सबैमा अपील गरेको छ ।

गत वर्ष स्थापना भएको टोण्टा फाउण्डेशनले आर्थिक अभावका कारण स्वास्थ्य उपचार,शिक्षा,रोजगारबाट बञ्चितहरुका लागि सहयोग तथा सहयोग अभियान चलाउँदै आएको फाउण्डेशनका अध्यक्ष सुरेश बि.क.ले बताए । त्यसैगरी जिविकोपार्जनका लागि समस्यामा परेकाहरुलाई खाद्यन्न सहयोग र लागुऔषधमा फसेका युवायुवतीहरुको उद्धारमा पनि सक्रिय भूमिका निर्वाह गर्ने उनले बताए । फाउण्डेशन अन्तर्गत कृषि फार्म पनि सञ्चालन भएको र सो बाट आउने मुनाफा र अन्य सहयोगी दाताहरुको सहयोगबाट विपन्न,गरिब तथा असहायहरुको सेवा गरिने उनले जनाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।