१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

काठमाडौँ । काठमाण्डू उपत्यका र देशका अन्य भागमा पछिल्ला केही दिनहरूमा बत्ती जाने क्रम बढेको गुनासो सर्वसाधारणले गरिरहेका छन्। एकै दिनमा पटक पटक बत्ती जाने गरेको कहिलेकाहीँ एक घण्टा भन्दा बढी समय बत्ती जाने गरेको गुनासो सामाजिक सञ्जालहरूमा उपभोक्ताहरूले पोस्ट गर्ने गरेका छन्।

Advertisement

कतिपयले १८ घण्टाभन्दा बढी लोडशेडिङको मार खेपिसकेको नेपाल पुनः त्यही बाटोमा फर्कन लागेको हो की भन्ने किसिमका आशङ्का पनि व्यक्त गरिरहेका छन्। तर नेपाल विद्युत् प्राधिकरणले भने पछिल्लो समय उत्पन्न भएको अवस्था र लोडशेडिङबीच सम्बन्ध नरहेको जनाएको छ। देशमा हाल विद्युत् उत्पादनको अवस्था ”राम्रो रहेको” र भारतबाट गरिँदै आएको आयात समेत ”घटेको” प्राधिकरणको भनाइ छ। त्यसो भए झ्याप्प झ्याप्प बत्ती जाने समस्या किन उत्पन्न भइरहेको छ?

के हो कारण?

काठमाण्डूमा हाल त्यसरी बत्ती जानुको कारणमध्ये एक भक्तपुर – बानेश्वर – पाटन ६६ केभी प्रसारण लाईको क्षमता अभिवृद्धि आयोजना रहेको अधिकारीहरूको भनाइ छ। हाल भक्तपुरको कटुन्जे – बानेश्वर ६६ के भी प्रसारण लाइन खण्डको पुरानो तथा जीर्ण कन्डक्टर बदल्ने कार्य भइरहेको र प्रत्येक दिन त्यसैका कारण बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म उक्त प्रसारण लाइन बन्द गरिएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिए।

”धेरै पुरानो प्रसारण लाइन रहेछ। पट्क पटक समस्या आउने हुँदा कन्डक्टर फेर्ने क्रममा वरपरको लाइन बन्द गर्नुपर्ने हुन्छ,” उनले भने। लगनखेल र लुभु लगायतका स्थानहरूमा स्थित फीडरहरू त्यसबाट प्रभावित भएको उनले जानकारी दिए। त्यसबाहेक सडक विस्तारका क्रममा वितरण लाइन स्थानान्तरण गर्नुपर्दा पनि समस्या परेको उनले जानकारी दिए।

बत्ती झ्याप्प झ्याप्प जानुमा जमिन मुनिबाट बिजुलीको तार बिछ्याउने कार्य पनि कारक रहेको बताइएको छ। काठमाण्डू उपत्यका बाहिर पनि मर्मत सम्भारका कामका कारण समस्या आएको हुन सक्ने उनले जानकारी दिए।

उत्पादनको अवस्था कस्तो छ?

बिजुली गइरहने समस्या काठमाण्डू सहित विभिन्न स्थानमा देखा परेको भए पनि विद्युत् उत्पादनमा भने समस्या नरहेको प्राधिकरणले जनाएको छ। हाल ४५६ मेगावाट जडित क्षमता रहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको चार वटा युनिट ग्रिडमा जोडिएको बताइएको छ।

हरेको युनिटले ७५ मेगावाट विद्युत् उत्पादन गर्नेहुँदा हाल उक्त आयोजनाले ३०० मेगावाट विद्युत् उत्पादन गरिरहेको तिम्सिनाले जानकारी दिए। त्यसकै कारण पछिल्लो समय भारतबाट हुँदै आएको विद्युत् आयात भने १०० मेगावाट भन्दा कममा झरेको बताइएको छ।

पछिल्लो समय नेपालको आन्तरिक बजारमा विद्युत्को माग पनि बढेको प्राधिकरणको भनाइ छ। तिम्सिनाका अनुसार नेपालमा दैनिक झन्डै ३ करोड युनिट विद्युत् खपत हुन्छ। त्यो सङ्ख्या गत वर्ष २.५ करोडको हाराहारीमा थियो। त्यस्तै अत्यधिक माग १,४०० देखि १,५५० मेगावाटको बीचमा छ भने न्यूनतम माग १,००० मेगावाटको आसपासमा रहेको बताइएको छ। नेपालमा बेलुकाको समयमा सबैभन्दा बढी विद्युत् खपत हुने अधिकारीहरू बताउँछन्।

”लोडशेडिङ भनेको जति माग छ त्यसलाई परिपूर्ति गर्न नसकेपछि लोड काट्दा हुने हो। त्यो त अवस्थै छैन नि। आन्तरिकबाट (उत्पादन) भएन भने भारतबाट भए पनि … त्यो गरेको त चार पाँच वर्ष भइसक्यो,” तिम्सिनाले भने।

कसरी समाधान गर्न सकिन्छ यस्ता समस्या?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका अध्यक्ष कृष्णप्रसाद आचार्य भने उक्त भनाइसँग सहमत छैनन्। उनी भन्छन्, ”बत्ती बाल्ने कुरामा हामी लोडशेडिङ मुक्त भएको अवस्था हो। अन्य- औद्योगिक खपत, कृषि, सिँचाइ, व्यापार, व्यवसायमा हुने खपत त हामीले कुरा गरेकै छैनौँ।”

आचार्यका अनुसार प्रसारण लाइन र ट्रान्सफर्मरहरूको कमजोरीका कारण काठमाण्डू लगायतका स्थानहरूमा बेला बेलामा बत्ती गइरहने समस्या देखिएको हो। ”पहिले पहिले आवश्यकता अनुसारको विद्युत् उपयोग हुनै पाउँदैन थियो। प्रसारण लाइनमा प्रसारण नै हुँदैन थियो। तर अहिले ‘फुल फ्लेजेड’ बिजुली छ, तर प्रसारण लाइन कमजोर छ। त्यसलाई अपग्रेड नगरेसम्म समस्या रहिनै रहन्छ,” उनले भने। नेपालमा विद्युत् व्यापार गर्ने अधिकार प्राधिकरणसँग मात्रै छ।

विद्युत् व्यापारका धेरै पाटा एउटै निकायले हेर्दा भार परेका हुँदा अपेक्षाकृत रूपमा मर्मत संहार र व्यवस्थापन लगायतका कार्यहरू हुन नसकेको आचार्य बताउँछन्। प्राधिकरण एक्लैले धान्न नसक्ने अवस्थामा निजी क्षेत्रलाई पनि विद्युत् व्यापारका लागि बाटो खुला गरिदिनुपर्ने उत्पादकहरू बताउँछन्। निजी क्षेत्रको सरोकार ”नाफा र नोक्सानसँग सम्बन्धी हुने हुँदा” सेवामा सुधार हुने उनीहरूको भनाइ छ।

बजारमा प्रतिस्पर्धा भएको अवस्थामा नयाँ प्रदायकहरूले दिने सेवामा मात्रै नभएर सेवा दिँदै आएको प्रदायकको गुणस्तरमा पनि सुधार हुने आचार्यले तर्क गरे।-बीबीसी

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य