१३ आश्विन २०७९, बिहीबार

Sep 29, 2022

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा मानिस हराउने क्रम बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा भन्दा गत आव २०७७/७८ मा हराउने मानिसको सङ्ख्यामा वृद्धि भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा जिल्लाबाट ३०४ मानिस हराएका थिए भने यो सङ्ख्या अघिल्लो आवमा २२९ थियो ।

Advertisement

जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार अघिल्लो आवमा भन्दा गत आवमा ७५ जना बढी मानिस हराएका छन् । मानिस हराएको भनेर प्रहरीमा निवेदन दर्ता हुने गरेको भए पनि हराएका सबै मानिस भेट्टाउन नसकिएको गिरीले बताए । आव २०७७/७८ मा हराएकामध्ये २२१ जना सम्पर्कमा आएका भए पनि ८३ मानिस अझै पनि सम्पर्कविहीन रहेका गिरीले जानकारी दिए । “प्रहरीमा मानिस हराएको भनेर निवेदन दर्ता हुने गरेको छ”, गिरीले भने, “तर, केही घटनामा हराएका मानिसलाई उनीहरुकै घरपरिवारले भेटाएपछि प्रहरीमा जानकारी नगराउँदा बेपत्ता हुनेको सङ्ख्या बढेको जस्तो देखिएको हो ।”

जिल्लामा हराएका निवेदन परेकामध्ये सबैभन्दा धेरै महिला र बालबालिका छन् । “बढ्दो सामाजिक सञ्जालको प्रयोग, बालबालिकाप्रति अभिभावकले कम समय दिनु, बेरोजगारी लगायतका विभिन्न कारणले मान्छे घर छाडेर हिँड्ने र सम्पर्कविहीन हुने गरेका छन्”, प्रहरी प्रवक्ता गिरीले भने, “यस वर्षमात्रै १८१ महिला, ४५ बालिका, १० बालक तथा ३० ज्येष्ठ नागरिक बेपत्ता भएका छन् ।” सामाजिक सञ्जाल प्रयोगका कारण परिवारका सदस्यबीच संवादहीनता बढ्दै जानु र एकअर्काको मनोभावना नबुझ्ने प्रवृत्तिका कारण बेपत्ताका घटना बढ्ने गरेको गिरीले बताए ।

परिवारका सदस्यको मनोभावना बुझ्ने, सदस्यबीच संवाद बढाउने, पारिवारिक मनमुटाव समयमा नै हल गर्ने, परिवारका सदस्यका बारेमा जानकारी राख्ने हो भने पनि धेरै समस्या हल हुने उनले बताउँछन् । आव २०७६/७७ मा जिल्लामा २२९ व्यक्ति हराएका थिए । अघिल्लो आवमा हराएकामध्ये ९० जना अझै सम्पर्कमा आएका छैनन् । प्रहरीको तथ्याङ्कअनुसार जिल्लामा अघिल्लो वर्षभन्दा गत वर्ष मानिस बेपत्ता हुने तथ्याङ्क बढ्नाका साथै बेपत्ता हुनेको सूचीमा महिला तथा बालिका धेरै छन् ।

“मानिस हराएका भन्दा भेटिनेको सङ्ख्या न्यून हुँदा प्रहरीले खोजीमा चासो नदेखाएको भन्ने गुनासोसमेत आउने गरेको छ”, गिरीले भने, “प्रहरीले सक्दो खोजी गरिरहेको छ, अपराध अनुसन्धानका सबै पद्धति अपनाएर हराएकाको खोजी जारी भए पनि हराउने सबै मानिस भेट्न सकिएको छैन ।” सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसको दुरुपयोग बढ्दासमेत मानिस हराउने गरेका उनको भनाइ छ । जिल्लाबाट हराएका व्यक्तिको खोजी गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) तथा जिल्लामा सादा पोशाकका प्रहरीसमेत परिचालन भइरहेका जनाउँदै गिरीले जिल्लाबाट हराएका मानिस अन्य जिल्लाबाट समेत भेटाएर उद्धार गरिएको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

कबीर अटो मोबाइल्सको चाड–पर्व अफर : ‘स्वदेशी उत्पादन प्रयोग गरौं, नगद सस्तोमा किनौं’ यु-१७ पुरुष फुटबल टिम घोषणा लुम्बिनीसम्मको धम्म यात्राले रामग्रामबासी हर्षित बुटल बजारको मुख्य समस्या पार्किङ, खस्किँदै ब्यापार बुटवलमा डेङ्गु संक्रमण बढ्दै गएपछि रगत अभाव रोक्न रक्तदान पैदल यात्राकाे सुरक्षा महानगरकाे जिम्मेवारी हो, फुटपाथ व्यापारीमाथि लचिलो हुँदैनौं: बालेन देउवाप्रति गोकुल बास्कोटाको कटाक्ष– सरकार चलाउन सिकाउनेलाई देउवाले उल्टै तोरीको फूल देखाई दिए नवौं राष्ट्रिय खेलकुदको समापनमा प्रमुख अतिथि बन्न प्रधानमन्त्री देउवालाई निम्तो प्रहरी सहायता कक्षकै अगाडि यात्रुको तानातान लुम्बिनीका विद्युतीय बस सूचारु, चाड पर्वको अवधिभर नि:शुल्क दसैं लागेसँगै हरेक दिन एक लाखले छाड्दैछन् काठमाडौं रामग्राम नगरपालिकाले सुरु गर्यो वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो, साढे तीन अर्ब बढी रकम बाहिरियो आज कति छ सुनचाँदीको मूल्य ? गठबन्धनको भागबन्डा टुंगियो, कुन दलले कुन क्षेत्र पाए ? (सूचीसहित) त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु एमाले सचिवालय बैठक बस्दै, उम्मेदवार टुंग्याउने चटारो दसैंको मुखमा चामल बिक्री बन्द भारतमा पनि आईफोन १४ उत्पादन सुरु