ताजा अपडेट »

देशले खोजेको राजनीति…

शनिबार, १९ असार २०७८, २१ : ३०

२०६२/६३ को जनआन्दोलनमा प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुखको नारा बोकेर सडकमा हाम्रा सामु आएका पुरानो दलका नेताहरु प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुखको मुद्दा खल्तीमा च्यापेर नागरिकले नदिएका म्यान्डेडमा जनभावना बिरुद्ध निर्णय गरेर घात गर्दै आधा प्रतिगमन सच्चियो भन्नेहरुले चङ्गुलमा देश फसाएका हुन्।

संविधानमा पनि आफू अनुकुल धारा तयार गरेर जिन्दगीभर राजनीतिलाई आफ्नो ब्यापार बनाउन मिल्ने बनाएका छन्। कात्रो बाँधेर सडकमा निस्केका हामी नागरिकलाई शहिद र घाइते बनाएर आफूहरु सत्ता लिप्त भएका छन्। नागरिक प्रति कुनै दायित्व छैन।

दुई तिहाई जनमत पाएर पनि त्यसको सहि सदुपयोग गर्न नसकेर देशको सबै क्षेत्रलाई कमजोर बनाएर के पाएनौं भनेर चुनावमा जाने हुन् ? प्रधानमन्त्री केपी शर्मा ओलीले मलाई अल्पमतमा पारे भनेर वा नेकपा एमालेका अर्का नेता माधव कुमार नेपाल पक्षले ओलीलाई कारबाही गर्नुपर्यो भनेर चुनावमा जाने हुन् ? कांग्रेस सभापति शेर बहादुर देउवा त सधैंका लोकतान्त्रिक भै हाले, उनले भ्रष्टाचार विरुद्धको अभियान चलाउन बेर लगाउँदैनन्। यिनीहरुको ब्यापार मिल्ने अवस्था भएपछि आफूहरुले बोलेका असंवैैधानिक र अलोकतान्त्रिक कदम सच्चिए भनेर नागरिकलाई सुताइरहेका नै छन्।

देशले यो वा त्यो मानेमा धेरै दशक झेल्नुपरेको छ। कुरा नीतिको मात्रै त होइन नियतको पनि हो । तर, नीति पनि ठिक भएन भने नियत बदलिँदो रहेछ भन्ने गतिलो प्रमाण अहिले हामीले पाएका छौं। अबका दिनमा साच्चिकै यो देशको उन्नति र प्रगति चाहने अनि देशलाई सर्वोच्च स्थानमा राखेर विचार गर्ने हो भने ‘राइट टू रिकल र राइट टु रिजेक्ट’को प्रावधान सहितको उन्नत लोकतान्त्रिक पद्धतिलाई अंगिकार गर्नु अहिलेको आवश्यकता हो। अहिलेको परिस्थिति किन आयो भन्ने नागरिकलाई बुझाउनु जरुरी छ।

नागरिकका कतिपय चित्त नबुझेका कुरालाई सम्वोधन गर्ने गरि अगाडि बढ्नु अहिलेको आवश्यकता हो। ‘राइट टू रिकल’ प्रावधान लागू गर्न सकेमा सक्षम र इमानदार नेतृत्वलाई काम गर्न कसैले पनि रोक्न सक्ने छैन। असक्षम नेतृत्व त्यहाँसम्म पुग्न सक्ने अवस्था रहदैन यदि पुगिहालेमा राइट रिकलको प्रावधानलाई जनताले उपयोग गर्न पाउने छन् र अहिलेको जस्तो देशमा अन्योलको अवस्था बन्ने छैन।

नागरिकको दैनिकी सहज बनाउने, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने तथा रोजगारी, सामाजिक सुरक्षा र यातायातको गुणस्तरीय सेवा सहितको जीवन बिताउन पाउने सुनिश्चितता कायम गर्न सक्ने अबको राजनीति लक्ष्य हुनुपर्छ ।

राजनीतिको धर्म भनेको बहुमत संख्यामा धर्मावलम्बीको आफ्नो धर्म मान्न सक्ने अवस्था बनाउनु र धार्मिक सहिष्णुता कायम गर्नु हुन्छ। नेपाल जस्तो विश्वको एक मात्रै सनातन हिन्दु राज्यलाई स्वार्थ र प्रलोभनमा बेचिएको छ। नेपाल लाई धार्मिक सहिष्णुता सहितको हिन्दु राज्य स्थापित गर्न पनि ढिलो गर्नु हुँदैन।

सेरेमोनियल राष्ट्राध्यक्ष, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री अनि उसको मताहतमा विशेषज्ञता र उत्कृष्टताको आधारमा मन्त्रीपरिषद, विधायकीय अधिकार मात्रैको संसद, स्थानीय र केन्द्रिय गरि दुई तहको संघीय संरचना सहितको हिन्दु राज्य अबको उत्तम निकास हुन सक्छ जसले सबै पक्षलाई समेटेर लैजान सक्छ।

कल्याणकारी लोकतन्त्र सहितको सु–सस्कृत राजनीति र समतामूलक समृद्धि भएको ‘कल्याणकारी राज्य’का बारेमा नेपाली नागरिकलाई बुझाउनु अहिलेको आवश्यकता हो। त्यो गर्न सकेमा मात्रै नेपाल र नेपालीको अस्तित्व सहितको देश रहन सक्छ। देश रहे हामी रहन्छौ, देश बने हामी बन्छौं।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।