ताजा अपडेट »

तीन महिनामा ३८ करोडथान स्मार्टफोन बिक्री

सोमबार, ३१ जेठ २०७८, १३ : ३४
2 Shares

बुटवल । सन् २०२१ को पहिलो त्रैमासिकमा संसारभरि करिब ३८ करोडथान स्मार्टफोन बिक्री भएको छ। यो गत वर्ष सोही अवधिको दाँजोमा २६ प्रतिशतले बढी हो।कोरोना भाइरस महामारीका कारण विश्वअर्थतन्त्रमा गम्भीर प्रभाव परेपछि गत वर्ष २०२० मा उल्लेख्य परिमाणमा स्मार्टफोन बिक्री घटेको थियो।

प्रविधि विश्लेषक कम्पनी गार्टनरले गत जनवरीदेखि मार्चसम्मको तथ्यांक समेटेर तयार पारेको विवरणअनुसार विश्वव्यापी रूपमा ३७ करोड ७९ लाख ८० हजारथान स्मार्टफोन बिक्री भएका थियो।गार्टनरले संसारका पाँच ठूला स्मार्टफोन निर्माता कम्पनीका बिक्री तथ्यांक समेटेको छ। जसमा अमेरिकाको एप्पल, दक्षिण कोरियाको सामसङ तथा चीनका तीन ठूला कम्पनी शाओमी, भिभो र ओप्पो छन्।

गार्टनरका अनुसार चालू वर्ष पहिलो त्रैमासमा सामसङले सबैभन्दा बढी संख्यामा स्मार्टफोन बेचेको छ। उक्त अवधिमा सामसङले ७ करोड ६६ लाख ११ हजारथान सेट बेचेको थियो।दोस्रो स्थान ओगटेको एप्पलले ५ करोड ८५ लाख ५० हजारथान सेट बिक्री गरेको थियो। त्यस्तै ४ करोड ८९ लाख ३८ हजारथान सेट बेचेर शाओमी तेस्रो स्थानमा आएको छ।

त्यसैगरी गत तीन महिनमा ३ करोड ८७ लाख १५ हजारथान स्मार्टफोन बिक्री गरी भिभो चौथो स्थानमा आएको छ भने ३ करोड ८३ लाख ९३ हजारथान सेट बेचेर ओप्पो पाँचो स्थानमा आएको गार्टनरले जनाएको छ।उत्कृष्ट पाँच कम्पनीबाहेक अन्य धेरै स्मार्टफोन निर्माता कम्पनीले भने सोही अवधिमा कूल ११ करोड ६७ लाख ८१ हजारथान सेट बेचेका थिए।

२०२० को पहिलो त्रैमासमा सामसङले ५ करोड ५३ लाख ३२ हजारथान, एप्पलले ४ करोड ९ लाख २० हजार, शाओमीले २ करोड ९६ लाख ७८ हजार, ओप्पोले २ करोड ३९ लाख ४८ हजार र भिभोले २ करोड २३ लाख २४ हजार र अन्य कम्पनीहरूले १२ करोड ७८ लाख ३६ हजारथान स्मार्टफोन बिक्री गरेका थिए।

गार्टनरका अनुसार गत वर्ष पहिलो त्रैमासमा विश्वभरि ३० करोड ४१ हजारथान स्मार्टफोन बिक्री भएको थियो।चालू वर्ष पहिलो तीन महिनामा सामसङले २०.३ प्रतिशत बजार हिस्सा ओगटेको थियो भने एप्पलले १५.५ प्रतिशत बजार कब्जा गर्न सफल भएको थियो।

तेस्रो स्थानमा रहेको शाओमीले १२.९ प्रतिशत, चौथो र पाँचौं स्थानमा रहेका भिभो र ओप्पोको बजार हिस्सा समान १०.२ प्रतिशत रहेको थियो। त्यस अवधिमा अन्य कम्पनीका बजार हिस्सा भने ३०.९ प्रतिशत रहेको गार्टनरले जनाएको छ।

गत वर्ष सोही अवधिको दाँजोमा सबै कम्पनीको बजार हिस्सा यो वर्ष सुरुमा बढेको हो। गत वर्ष पहिलो त्रैमासमा सामसङको बजार हिस्सा १८.४, एप्पलको १३.६, शाओमीको ९.९, भिभोको ७.४ र ओप्पोको ८ प्रतिशत बजार हिस्सा थियो। अन्य कम्पनीका बजार हिस्सा भने ४२.६ प्रतिशत थियो, यसपालि घटेको हो।

‘कोरोना भाइरस महामारीका कारण उपभोक्ताले अफिसको काम घरबाटै (वर्क फ्रम होम) गरेको र माग बढेका कारण स्मार्टफोन बिक्री यो वर्ष पहिलो त्रैमासमा आशालाग्दो हिसाबमा बढेको हो,’ गार्टनरका सिनियर रिसर्च डाइरेक्टर अन्सुल गुप्ताले भने, ‘त्यसबाहेक विश्वका धेरै भागमा महामारीको अवस्था सुध्रँदै गएर बजार खुल्दै गएका कारण पनि स्मार्टफोन बिक्री बढेको हाम्रो विश्लेषण छ।’

गार्टनरका अनुसार सामसङले बिक्रीमा पहिलो स्थान ओगट्नुमा उसको मध्यम मूल्यका स्मार्टफोनको योगदान ठूलो छ। १ सय ५० अमेरिकी डलरभन्दा कम मूल्यका स्मार्टफोन बिक्री व्यापक बनाउनु र सँगै उसको ५जी स्मार्टफोनमा उपभोक्ताको आकर्षण बढ्नुले सामसङ पहिलो स्थानमा आएको हो।यो वर्ष पहिलो त्रैमासमा दोस्रो स्थानमा रहेको एप्पल गत वर्ष अन्तिम त्रैमासमा भने पहिलो स्थानमा थियो। एप्पलले गत वर्ष सार्वजनिक गरेको ५जी स्मार्टफोनको माग अहिले पनि व्यापक छ।

‘यो वर्ष पनि एप्पलको बजार वृद्धिका लागि ५जी स्मार्टफोन एक महत्वपूर्ण हिस्सा हुने निश्चित छ,’ गुप्ताले भने, ‘शाओमी, ओप्पो र भिभो तीनवटै कम्पनीका ५जी स्मार्टफोनको माग उच्च भएका कारण अर्का स्मार्टफोन निर्माता कम्पनी ह्वावे र एलजी कमजोर देखिएका छन्।’

एजेन्सी
लेखकको बारेमा
एजेन्सी