ताजा अपडेट »

नदिजन्य पदार्थको मनपरी दोहन,स्थानीय सरकार मौन

शुक्रबार, २८ जेठ २०७८, २० : २८
4 Shares

गुल्मी । जिल्लाका विभिन्न खोलाहरुमा ठेकेदारहरुले गिट्टी–बालुवा उत्खनन् मनपरी ढङ्गले गरिरहेका छन्। छल्दीखोलामा ईस्मा गाउँपालिका संग ठेक्का आयोजनाको नाममा वातवरणीय प्रभाव मूल्यांकन परीक्षणले तोकेको मापदण्ड मिचेर ५ देखि ७ मिटरसम्मको गहिराइबाट हजारौं घनामिटरको परिमाणमा गिटी–बालुवा उत्खनन् हुँदै आइरहेको छ ।

तर,स्थानीय सरकारसँग ठेकेदारहरुले वातवरणीय प्रभाव मूल्यांक परीक्षण अनुसार ० दशमलव ५ मिटर गहिराइसम्म मात्र नदीजन्य पदार्थ झिक्न मिल्ने गरि सम्झौता गरेका छन् । त्यस्तै दूरीनै कायम नगरी जथाभावी दोहोन भइरहेको छ । ठाउँनै पिच्छे दर्जनौं डोजर–एक्साभेटरले धमाधम गिट्टी वालुवा उत्खनन् गर्दै सयौं ट्याक्टरहरुले ओसार्दै गरेको दृश्य तम्घास हुँदै छल्दी पनाह सिमलटारीको मुख्य सडकमा ओहोर–दोहोर गर्ने जनप्रतिनिधिहरुले देखि रहेका हुन्छन् । तर, उनीहरुले नदेखे जस्तै गरिरहेको पाइन्छ ।

स्थानीय सरकारकबाट अनुगमन नहुने र प्रहरी प्रशासनको पनि ध्यान नगएका कारण नदिजन्य पदार्थ दोहनमा ठेकेदारहरुको दादागिरी जमेको स्थानीयबासीको गुनासो छ । कानून बिपरित नदिजन्य पदार्थ उत्खनन गर्न स्थानीयबासीले अवरोध गरे पनि ठेकेदार र उनका मान्छेहरुले धम्काएर पठाउने गरेका छन् । ईस्मा गाउँपालिका ३ , छल्दीका चुरा मुखिया भन्छन् –‘ यस खोलामा जता मनलाग्यो त्यतै एक्साभेटरले खनेर गिटी वालुवा झिक्ने गरेका छन हामीले जथाभावी खनेर ननिकाल्न अनुरोध गर्दा यो खोलामा तेरो लालपूर्जा छ भने ल्याएर आइज भन्छन् ।’

अर्का स्थानीय खिमानन्द खनालको गुनासो पनि उस्तै छ । उनको खेत र कुलो माथि भएको र एक्साभेटरले गहिरोगरी खन्दा खोला तल बग्ने हुँदा अब खेतमा सिञ्चाई कसरी गर्ने हो भन्ने चिन्ता उनमा छ। ‘गिटी वालुवा निकाल्नेहरुलाई यसरी तलसम्म गहिरो नबनाई निकाल्नुस् भन्दा पालिकाबाट ठेक्का लिएर निकालेको हो भन्दै उल्टै धम्काउँछन् ,उनले भने –‘ यसरी त हामी मारमा परियो ।’

स्थानीयवासीको ब्यापक गुनासो आएपछि जिल्लाबाट प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईलाई बोलाएर ईस्मा गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक बिमला खत्री विहिवार छल्दीखोला मापदण्ड विपरित उत्खनन् गर्ने एक्साभेटर हटाउन पुगेकी थिइन्। उनले भनिन– यहाँ धेरै टिकाटिप्णीहरु आए म एउटा ईस्मा गाउँपालिकाको उपाध्यक्ष र अनुगमन समितिकी संयोजक पनि भएकोले म मुकदर्शक भएर बस्न सकिन र यहाँ आएको हो । यहाँ हेर्दा यस्तो छ । यहाँबाट गिटी बालुवा उत्खनन गर्ने ठेकेदारहरुको म नामै लिएर भन्न चाहन्छु नारायण पोखरेल, हरिकुमार श्रेष्ठ, चुरा – ( चुरा भण्डारी ) उपेन्द्र ( उपेन्द्र अर्याल ) हरु हुन । उहाँहरुलाई मैले पटक–पटक ब्यक्तिगत रुपमा पनि फोन गरेर भने उहाँहरुले नटेरेको अवस्था छ ।’ उनले आफूहरु जनप्रतिनिधिहरुको पनि कम्जोरी रहेको स्वीकार गर्दै प्रहरीले समातेको बेला फोन गरेर छाडि दिन आफूहरुले दबाब दिनु गल्ती भएको उनको भनाई छ ।

छल्दीखोलामा जथाभाबी भईरहेको उत्खनन्न बन्द गराउन पुगेका जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले भने–‘ सम्भव भए सम्म हामीले रोक्ने प्रयास गर्दै आएको तर, विकास निर्माणको काम यहि समय बढी हुने भएकोले बढि नै दोहन भएको देखियो । आजदेखि जेसिभी लगायतका उत्दखनन् गर्ने साधनहरु हटाएका छौं । अब देखि पूर्णरुपमा बन्द गराउउने म बिश्वास दिलाउन चाहन्छु ।’

त्यस छल्दीखोलमा मात्र होईन बडिगाड खोलमा मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकाले दिएको ठेक्कामा पनि ठेकेदारले मनोमानी नदिजन्य पदार्थको दोहन गरिरहेका छन । चन्द्रकोट गाउँपालिकाको मजुवा मगर क्षेत्रमा ठेक्का नलिएका ब्यक्तिले समेत गिटी बालुवा दोहोन गरेर प्रशस्त कमाई कमाउेने माध्यम बनाएकोस्थानीयवासीले बताइरहेका छन् ।

उता रुद्रावेणी, रिडी र खज्र्याङ्गखोलामा पनि त्यसरी नै अवैध रुपमा नदिजन्य पदार्थको दोहन भई रहेको छ । अवैध रुपमा सञ्चालनमा आएका क्रेसर उद्योगका बिषयमा पटक पटक सञ्चार माध्यमले उठान गर्दा पनि न त सरोकारवाला निकायको ध्यान जान सकेको छ न त ठेकेदारहरुले नै नैतिकता देखाएर वैधरुपमा सञ्चालन गर्ने चासो देखाएका छन्। ठाउँ-ठाउँबाट उत्खनन गरिएका गिट्टी–बालुवा सिमिचौर स्थित निर्माणधिन रेसुङ्गा विमान स्थल , तम्घास रेसुङ्गा सडक , जोहाङ्ग मजुवा वामीटक्सार सडक , लगायतका आयोजनाले डम्पिङ्ग गर्दै आएको छ । छल्दी हुँदै सदरमुकाम कै बाटो ट्याक्टर र टिपरका ताँतीले गिट्टी –बालुवा ओसार–पोसार गरिरहेको दृश्य देख्न सकिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।