ताजा अपडेट »

को भन्दा को कम ?

मंगलबार, १८ जेठ २०७८, १५ : १५
4 Shares

विज्ञान र प्रविधिले विश्वमा चामत्कारिक परिवर्तन ल्याएको छ । आधुनिकता उत्तरआधुनिकताको काखमा खेल्दै छ । अहिले उत्तरी ध्रुव र दक्षिणी धु्रव एउटै डिभाइसको वल्लो कुना र पल्लो कुनामा भेटिन्छन् । विश्वबजार प्रतिष्पर्धाको सगरमाथा उक्लिरहेछ । जसरी युद्ध मैदानमा उत्रेको सिपाही शत्रुलाई पराजित गर्ने हुङ्कार बोक्दछ त्यसरी नै समाजका हरेक क्षेत्रमा प्रभाव, दबाब, अस्तित्व र अहम्का लागि होडबाजी चलिरहेछ ।‘म हुँ र म छु’ भन्ने अहम् हरेक व्यक्तिको पहिचानसँग गाँसिएको हुन्छ ।

व्यक्तिगत, सामाजिक, धार्मिक, क्षेत्रीय, सांस्कृतिक, राष्ट्रिय लगाएत व्यक्तिका विविध पहिचान हुन सक्छन् । पहिचान अर्थात् परिचय । अझ भनौँ चिनारी । नेपालको संविधान २०७२ ले हरेक जाति, भाषा, धर्म, भूगोल, लिङ्ग आदिका आधारमा सबैको पहिचान सुनिश्चित गरेको छ । बहुल पहिचानको बाहुल्यता भएको नेपाली समाजमा व्यक्तिगत अहम् र अरुभन्दा म के कम भन्ने प्रवृत्ति अहिले खहरे खोलाको साउने भेल झैँ बैँशले उन्मक्त छ ।

समाजमा नजान्ने कोही छैनन् किनकि सबैले सबै क्षेत्रको विशेषज्ञता हासिल गरेको प्रतिलिपि सामाजिक सञ्जाल, पत्रपत्रिका, भाषण आदि आदिबाट प्रदर्शन गरिरहेछन् । जमाना यसैमा मस्त छ अनि व्यस्त छ । कसैको मुखबाट निस्केको बोली भुइँमा खस्न पाउँदैन । विचारको मसी सुक्न भ्याउँदैन । कसैको भनाइ वा विचारको पूर्णपाठ गर्नै पर्दैन । आँ गर्दा अलङ्कार बुझ्ने आधुनिक अर्जुनहरूको यहाँ कमी छैन । दोर्णलाई आधा राज्य दिन बाचा गर्ने दु्रपदहरू गल्ली, चोक र बजारमा अड्डा जमाइरहेका छन् ।

एउटाले भन्छ, ‘ढिस्कानो पार्टीले यसो ग¥यो । हाम्रो जनमत अल्पमतमा पर्यो।’ अर्कोले भन्छ,‘जे भइरहेछ त्यो ठिक भइरहेको छैन।’ सल्लाहकार र समर्थकहरूको विज्ञता, अनविज्ञता के भनौँ ? सर्वज्ञता प्रदर्शन सुरु हुन्छ । भान्सामा बुढीले के पकाउँदै छ ? घरको अवस्था के छ ? त्यो बुझ्ने फुर्सद बरु नहोला ? रातमा न निद, दिनमा न भोक कसैको सुर्तामा आफ्नो कुर्ता फुस्किएको ख्याल गर्दैन आजको मान्छे । कुन दिन अन्धानुकरणको विस्फोटमा परेर भान्सा रोकिने हो, पत्तै पाउँदैन । जय जयकार अनि जिन्दावाद र मुर्दावादको नारामा अड्किएको छ उसको गाँस, वास र कपास । त्यसैले त ऊ कोही भन्दा कम हुन जान्दैन । अरुको कुरा पटक्कै मान्दैन । किनकि उसको दृष्टिमा लगामपेटी बाँधिएको छ।

उसले लेख्यो । मैले किन लेख्न नसक्ने ? उसले बोल्यो । मैले बोल्न किन नसक्ने ? लेख्नुपर्छ । बोल्नुपर्छ । लेखे केही जानिन्छ । बोले केही पाइन्छ । बोल्नेको पिठो बिक्छ त्यसै कहाँ भनिएको हो र ? के गर्नु ? यहाँ लेख्नका लागि लेखिन्छ अनि बोल्नका लागि बोलिन्छ । लेखाइमा सन्देश र बोलाइमा कर्मको गन्ध भेटिने कुरा चामलमा बियो जस्तै छ । लेखे जति पालना गर्ने हो भने र बोले जति पूरा गर्ने हो भने नेपालको संविधानमा के कमी छ ? कुन संस्था, कुन पार्टी र कुन क्षेत्रको लक्ष्य, उद्देश्य र आचारसंहिता कमजोर छ ? सैद्धान्तिक कुरामा कमजोरी ठम्याउन त विद्याकी अधिष्ठात्री सरस्वतीले समेत के सक्लिन् र ?

सूचनाको संवाहक सञ्चार । सञ्चारका माध्यम रेडियो, टेलिभिजन, पत्रपत्रिका अनि ई पत्रिका आदि–आदि । यिनीहरूका अपरेटर अझ भनौँ सारथि पत्रकार । मौकामा चौका नहान्ने समाचार के समाचार । मान्छेको अन्तिम श्वास रोकिन पाउँदैन । संसद् होस् कि सडक, कार्यपालिका होस् कि न्यायपालिकाको निर्णय । पर्खाइमा बस्ने कुरा पट्यारलाग्दो हुन्छ । समाचारका हेडलाइनहरू तयारी अवस्थामा हुन्छन् । अनि सुरु हुन्छ अरुलाई उछिन्ने होडबाजी । अनि कहीँकतै आस्थाको डिलमा बसेर प्राथमिकता र सामान्यीकरण सिद्धान्तको डन्डी बियो चल्छ । सञ्चार सम्प्रेषणको स्वतन्त्रतामा बुद्धिचाल खेलिन्छ । कलमहरू निरीह बन्छन् या बनाइन्छन् । समाचार एक, दृष्टिकोण अनेक भेटिन्छन् ।
पाठकको दृष्टिगोचर पनि कम्तिको छैन । तिनै समाचारमा होली खेल्छन् । समाचार बदलिन्छ अनि कित्ता काटाकाट हुन्छ । अनि काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झैँ सत्य र तथ्यमा आधारित निष्पक्ष समाचारको झिल्को जनताको दैलोमा पुग्दै पुग्दैन । सत्य र तथ्य धु्रवीकृत सञ्चार गृहहरूको भुँमरीमा फस्छ । थाहा छ, तर कोही बोल्दैनन् । सायद समाचार मनले लेखिँदैन, कलमले लेखिन्छ । तर पनि कोही भन्न छुटाउँदैनन्,“सत्य, तथ्य र निष्पक्षतामा आधारित हाम्रो समाचार।”

को वकिल ? को वरिष्ठ अधिवक्ता ? को न्यायाधीश ? को प्रधानन्याधीश ? छुट्याउन मुस्किल छ । बोली सुन्दा सबैको उस्तैउस्तै लाग्छ । रिट दायर हुन्छ अनि न्यायालय बाहिर फैसला सुरु हुन्छ । न्यायालयभित्र न्यायको आयातन खोजिन्छ, न्यायाधीश रोजन्छ । मुद्दामा भन्दा समकोण र दृष्टिकोणमा अल्मलिन्छ न्यायालय । अधिकार र सीमाका कुराले गिजोलिन्छ न्याय । आफूलाई कोही कमजोर सम्झिन्नँ । कतै न्यायालयमा पनि को भन्दा को कम को नशा त चलेन ?

यो समाजमा कोहीभन्दा कोही कम छैनन् । शिक्षकले विद्यार्थीलाई सञ्जीवनी बुटीका निम्ति हनुमानले झैँ ज्ञानको पहाड थुपारी दिन्छन् । विद्यार्थीले उत्तर लेख्छन्, प्रश्न थुपारिदिन्छन् । कर्मचारीले चुस्तदुरुस्त फाइल उतारिदिन्छन् । सहकारी र बैङ्कले राहत प्याकेजमा ब्याजको पहाड थुपारिदिन्छन् । नेताले जनतालाई आशाको मृगमरिचिका देखाइदिन्छन् । अभिनेताले दर्शकलाई मनोरञ्जनसँगै भुलाइदिन्छन् ।
त्यति मात्रै कहाँ हो र ? दुराचारी होस् कि भ्रष्टचारी ? डाक्टर होस् कि नर्स ? ड्राइभर होस् कि पाइलट ? कृषक होस् कि व्यापारी ? उद्योगी होस् कि बेरोजगार ? अभियन्तादेखि अधिकारकर्मी ? नागरिक समाज होस् कि बौद्धिक समाज ? कोही पनि कोही भन्दा कम छैनन् । इज्जत जोगाउने एक, गल्ती गर्ने अनेक । हाम्रा भन्दा बाहिर परेका राम्राले नै देश धानेका छन् । तर बोलीमा अभिमान र व्यवहारमा झन्झटिलो व्यवधान निम्त्याउने हिँङ बाँधेको टालोले चलेको छ मेरो देश ।

कनिष्ठदेखि वरिष्ठसम्म र कमजोरदेखि बलिष्ठसम्म कसैले आफूलाई सानो भन्दैन । भ्यागुतो पानीमा उत्रिएर बरु कुवा बाहिर आउला तर कुनै विचारधाराबाट दीक्षित आजको मान्छले दायाँवायाँ नदेख्ने लगामपेटी उतार्न मान्दैन वा जान्दैन । आफ्नो ल्याकत हेर्ने ऐनातिर फर्किँदै फर्किनँ । यता तानातान, उता हानाहान । देखेर नि मान्छे नदेखे झैँ गर्छ जानाजान । किनकि मान्छे को भन्दा को कम भन्ने प्रतिस्पर्धाको मैदानमा छ । देख्छ, चिन्दैन । बुभ्mछ, बोल्दैन । लेख्छ, पढ्दैन । रोक्छ, छेक्दैन । सायद आजको मान्छे प्रतिस्पर्धाको बजारमा आफू कमजोर साबित नभइयोस् भनेर को भन्दा को कमको होडमा दम दिइरहेको छ । कतै म पनि त्यही बाटोमा दौडिरहेको त छैन ?

https://www.globalaawaj.com/archives/108581
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।