ताजा अपडेट »

त्रिविमा अनियमितता : अध्यक्षसहित १० विरुद्ध मुद्दा दायर

बुधबार, १८ असार २०७६, १८ : ३९
4 Shares

असार १८,

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जना विरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुयोग अनुसन्धान आयोगले परीक्षाको नतिजा फेरबदल गरेको आरोपमा सेवा आयोगका अध्यक्ष शर्मासहित १० विरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका सहप्रवक्ता मदन कोइरालाले जानकारी दिए।

'सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मा, सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी ईन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सह-प्राध्यापक राजेश्वर न्यौपाने, सह-प्राध्यापक तारा प्रकाश पौडेल र रामबहादुर पाण्डे क्षत्री गरी दश जनाले पदीय मर्यादा अनुरुप पूरा गर्नुपर्ने दायित्व पुरा नगरी उक्त पदहरूको लिखित परीक्षाको परिणाममा फेरबदल गरे गराएको देखिन आएको' अख्तियारले जनाएको छ। 

'निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ को कसूर अपराध हुँदा ऐनको दफा २४ बमोजिम थप सजायको समेत मागदाबी लिई विशेष अदालतमा आरोप-पत्र दायर गरिएको', अख्तियारले जनाएको छ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगको २०७३ फागुन २८ गते प्रकाशित विज्ञापन नं. १८/२०७३/०७४ अन्तर्गत विभिन्न १६ किसिमका प्रशासनिक तथा प्राविधिक पदहरूका लागि विज्ञापन गरी परीक्षा सञ्चालन भएकोमा शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी ६ वटा पदहरूको लिखित परीक्षा सञ्चालनको क्रममा उत्तरपुस्तिका परीक्षणमा अनियमितता भएको अख्तियारको ठहर छ।

शाखा अधिकृत पदको लागि कूल पदसंख्या २४ का लागि भएको लिखित परीक्षामा सम्मिलित परीक्षार्थीहरूमध्ये ६ जनाको उत्तर पुस्तिकामा शंकास्पद किसिमले केरमेट गरेर अङ्क थपघट गरी परीक्षाको परिणाम फेरबदल गराएको अनुसन्धानका क्रममा भेटिएको अख्तियारले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।