ताजा अपडेट »

अभिव्यक्ति स्वतन्त्रताका सीमाहरु

शुक्रबार, १४ जेठ २०७८, १९ : ००
171 Shares



‘तिम्रो भनाइसँग म सहमत हुनै पर्छ भन्ने छैन, तर तिम्रो अभिव्यक्ति स्वतन्त्रताको लागि जीवनभर प्रतिरक्षा गरिरहने छु ।’यो भनाई हो फ्रान्सेली लेखक/दाशर्निक भोल्टेयरको । त्यस्तै हाम्रो पूर्वीय मूल्यमान्यतामा पनि ‘वादे वादे जायते तत्वबोध’ आत्मसात गरिएको छ ।

०६३ पछि ०७२ सम्मको उकुस–मुकुसपूर्ण राजनीतिक संक्रमण पार गरेर शान्ति र स्थिरताको अपेक्षा गरेको नेपाली समाज यतिबेला फेरि भयभित र त्रसित हुँदैछ । राजनीतिक अस्थिरताले कोभिड कहरका बीचमा जेनतेन तङ्ग्रीने प्रयास गरेको अर्थतन्त्र दोस्रो लहरको प्रभावले फेरी प्रभावित भएको छ । युवापुस्तामा चरम निराशा छाएको छ । एउटा लय बसेर गतिमान बन्दै गरेको सामाजिक सद्भाव पुनः खल्बलिने हो कि भन्ने चिन्ता र चासो छाएको छ । पार्टी, नेता जुट्दा जुट्ने, उनीहरु फुट्दा फुटेर तुरुन्तै कित्ताकाँट भएर हिजोसम्म महिमामण्डन गरेका आप्mनै नेताको उछितो काढ्ने परिदृश्य निर्माण हुनु बिडम्बनापूर्ण हो ।

आजभोलि हामी देख्दैछौं –स्वतन्त्र हुनुपर्ने बुद्धिजीविहरु स्वार्थबाट अभिप्रेरित भएर पार्टी, नेता र गुट सापेक्ष भैदिँदा सर्वसाधारण अलमलमा छन् । बौद्धिक चिन्तन गर्ने र निस्वार्थ भावले खबरदारी गर्ने नागरिक समाज पनि पार्टीसापेक्ष छन् । पत्रकारिता जगत पनि पीतपत्रकारिता उन्मुख देखिन्छ । समाचार, विचार तथ्यपरक, सन्तुलित र विश्वसनिय छैनन् । आम नागरिकमा अन्यौल त्रास बढ्दो छ ।

दुई वर्षसम्म स्थिररुपमा चलेको नेपालको राजनीति गत वर्षदेखिको अस्थिरता र अन्यौलताको भूमरी छिचोल्दै ‘अर्ली इलेक्सन’ अर्थात् आवधिक चुनावभन्दा केही छिटो निर्वाचनमा धकेलिएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमले एक किसिमको तरङ्ग पैदा भएको छ । यहि कुरालाई लिएर मान्छेहरु अहिले पक्ष विपक्षमा उत्रिएका छन् । आफ्ना विचार सामाजिक सञ्जाल मार्पmत् अभिव्यक्त गरिरहेका छन् । के बिरोध गर्ने नाममा जसलाई जेपनि भन्न, लेख्न र बोल्न पाईंन्छ त ?

के हो वाक तथा अभिव्यक्ति स्वतन्त्रता ?
वाक स्वतन्त्रता स्वतन्त्र रुपले आफ्ना विचार अभिव्यक्त गर्न पाउने अधिकार हो । यो प्राचिन ग्रीसबाट करिब २४ सय वर्ष अघि आएको एउटा प्रजातान्त्रिक आदर्श हो । यसभित्र बोलिने वा लेखिने भाषा मात्र पर्दैनन् । कलात्मक रुपमा पनि विचार सम्प्रेषण गर्न सकिन्छ । यो मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्रमा उल्लेखित आधारभूत मानव अधिकार हो । अभिव्यक्ति स्वतन्त्रता सापेक्ष हुन्छ । संविधानले पनि निरपेक्ष हुन्छ भनेर ब्याख्या गरेको छैन । हाम्रो संविधानले पनि धारा १७ मा विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाइ मौलिक हकको रुपमा सुनिश्चित गरेको छ ।

धारा १७ (२) (क) मा प्रत्येक नागरिकलाइ विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने उल्लेख गर्दै प्रतिबन्धात्मक वाक्यांशमा त्यस्तो अधिकार भएतापनि त्यस ब्यवस्थाले ‘नेपालको सार्वभौमसत्ता , भौगोलिक अखण्डता,राष्ट्रियता र स्वाधिनतामा वा संघीय इकाई वा विभिन्न जात जाति धर्म सम्प्रदाय बीचको सुसम्बन्धमा खलल पर्ने , जातिय भेदभाव तथा छुवाछतुलाइ दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, गाली बेइज्जती, अदालतको अवहेलना हुने अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकुल हुने कार्यमा मनासिव प्रतिबन्ध लगाउने’ भन्नेकुरा स्पष्टरुपमा उल्लेख छ । त्यसैले आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकार हनन नहोस् भन्ने ख्याल राखिनुपर्छ । संविधानको यस धाराको मर्म हरेकलाई त्यतिसम्म मात्र छुट हुन्छ जतिसम्म जाँदा अरुलाई दख्खल नपुगोस् भन्ने हो । जो कोहीलाई पनि आफ्नो हात हल्लाएर हिड्न स्वतन्त्रता हुन्छ तर अर्कालाई ठोक्किने गरि हिड्नु भनेको स्वछन्दता हुन्छ र यसो गर्नु सभ्य संस्कार र सभ्यता होइन ।

अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको गहना नागरिक चेतनाको अनिवार्य अवयव हो । साँचो स्वतन्त्रताको पर्याय हो र लोकतान्त्रिक व्यवस्थाको मापन गर्ने प्रमुख आधार हो । सिद्धान्ततः अभिव्यक्ति स्वतन्त्रतामा कसैले अंकुश लगाउन सक्दैन भनिए पनि व्यवहारतः अभिव्यक्ति स्वतन्त्रताको अधिकार अनियन्त्रित नै हुन्छ भन्न सकिदैँन । यसका पनि सीमाहरु हुन्छन् र नागरिक समाजप्रति निर्वाह गर्नुपर्ने दायित्वहरु पनि हुन्छन् । तसर्थ स्वतन्त्रता कानूनको सीमाभित्र हुनुपर्छ ।

लोकतन्त्र भनेको लोकको शासन मात्र नभएर लोकको सम्मान पनि हो । लोकतन्त्रको सुन्दरता नै आलोचना÷प्रत्यालोचना हो । तर, चरित्र हत्या किमार्थ होइन। अरुको सम्मान गर्न नजान्नेले आफू सम्मानित भएर बाच्न पाउनुपर्छ भन्न सुहाउँदैन । सार्वजनिक पद धारण गर्नेले आलोचना सहनै पर्छ । तर, उसलाइ ब्यक्तिगत र निजी मामिलामा दख्खल पुग्नेगरी गाली बेइज्जती गर्ने , टिकाटिप्पणी गर्न सभ्य समाजलाई सुहाउँदैन । दलका शीर्ष नेतृत्व र राष्ट्रप्रमुखलाई सार्वजनिकरुपमा सामाजिक सञ्जालमार्फत ट्रोलको शिकार बनाउनु, तुच्छ गालिगलौज गर्नु कसैका लागि पनि शोभनीय हुन्न । राष्ट्रपति र प्रधानमन्त्रीको व्यक्तिगत चरित्रमा प्रश्न उठाउने अधिकार कसैलाइ पनि छैन । यस किसिमका गालिगलौज र लाञ्छना अशिष्टताको पराकाष्ठा हो । अनैतिक र अराजनीतिक समेत हो ।

अहिले सामाजिक सञ्जालमा देखिएका विकृति र बिसंगतीपूर्ण विचार अभिब्यक्ति र पोष्टहरु सकारात्मक भन्दा नकरात्मक देखिन्छन् । स्वस्थ आलोचना र समालोचना भन्दापनि निन्दा केन्द्रित देखिन्छन । आलोचना र विरोध नगरिने र विकल्प नखोजिने कुनै कर्म, धर्म, शास्त्र, शासक, सृजना कोही र केही पनि छैन । त्यसैले इमान्दारीपूर्वक आफ्नो काम गर्नुपर्छ । सिमलको रुखमुनि उभिएर आँपको खोजी गर्ने र आप नपाएको रिसले सालको रुखलाई सराप्नेको पछि लाग्नु समयको बर्बादी मात्रै हो । सामाजिक सञ्जाल अहिलेको समयमा अभिव्यक्ति स्वतन्त्रता अभ्यास गर्ने सर्वाधिक शक्तिशाली माध्यम भएको छ ।

तर, अनैतिक कार्य गर्ने, अदालतको अवहेलना हुने, अर्काको चरित्र हत्या गर्ने र अवाञ्छित लाञ्छना लगाउन प्रतिबन्ध गरेको छ यसको नियमन गर्ने साइबर कानूनले भन्ने कुरा पनि बिर्सनु हुन्न । लोकतन्त्रको जननी बेलायतमा समेत सामाजिक संजाल जथाभावी प्रयोग गर्नेलाइ पाँचहजार पाउण्ड जरिवाना र जेलको समेत ब्यवस्था छ । हाम्रो लोकतन्त्र त्यति पुरानो होइन । यसमा अभ्यस्त हुन र प्रणालीलाई परिस्कृत गरेर लैजान हामीले धेरै कुरा सिक्नुपर्ने हुन्छ । हामी आँफैले लडेर ल्याएको यो सर्वोत्तम व्यवस्थाको मर्म माथि नै आघात पुग्नेगरी प्रस्तुत हुनु भनेको आँफै माथि प्रहार गर्नु हो । आकाशतिर फर्केर थुक्नुजस्तै हो । सामाजिक सञ्जालमार्फत क्षणिक आत्मरतिमा रमाउन त सकिएला, निषेधाज्ञाले सिर्जना गरेको फुर्सद कटाउन, कुण्ठा र आक्रोश पोख्न त सजिलै होला तर यसले कस्तो समाज निर्माण होला ? विचार गर्ने बेला भएको छ ।

तसर्थ हामी सबै अरु कसैको विचारमा म सहमत हुनैपर्छ भन्ने छैन, तर अर्काकोे अधिकार र स्वतन्त्रताको सम्मान गर्न सिक्नुपर्दछ । यो नै सभ्य, सुसंस्कृत नागरिकको कर्तव्य हो ।

https://www.globalaawaj.com/archives/106560
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।