Mar 29, 2023
परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरक्षेत्र भित्र रहेका सामुदायिक पोखरीहरुमा माछापालन कार्यक्रम शुरु गरेको छ । सामुदायिक पोखरीको संरक्षण एंव समुदायलाई उत्पादनमा जोड्ने अभिप्रायले नगरले सामुदायिक माछापालन कार्यक्रम शुरु गरेको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए ।
पोखरी तालतलैया र सिमसारमा माछापालनका लागि नगरले ३ लाख रुपैया बजेट समेत प्रबन्ध गरेको छ । उक्त योजनाअन्तरगत मंगलवार बर्दघाट–१३ पनईस्थित ३ बिघा १४ कठ्ठा क्षेत्रफलको सामुदायिक पोखरीमा माछाका भुरा हाल्ने कार्यक्रम सम्पन्न गरिएको नगर प्रमुख बस्यालले बताए ।बर्दघाट नगरपालिका पशुपंन्छी तथा मत्स्य विकास अधिकृत भरत लम्सालका अनुसार सामुदायिक पोखरीमा माछा उत्पादन गरी समुदायकै लागि आयआर्जन गर्ने उद्धेश्यले कार्यक्रम संचालन भइरहेको हो । आज शुरुको दिन भएकोले २० केजी भुरा छोडिएको छ – उनले भने (एक क्विन्टल भुरा दिने कार्यक्रम हो । अब कार्यक्रम विस्तार गर्दै जान्छौ ।नगरले समुदायलाई कमन कार्प , सिल्भर कार्प, बिगहेड कार्प , रहु र नैनी जातका भुरा दिने कार्यक्रम रहेको लम्सालले बताए ।
कार्यक्रमबाट पोखरी संरक्षणका साथै भुराबाट उत्पादित माछा बिक्रीबाट आएको आम्दानी स्थानीय समुदाय र युवा कल्बहरुको हुने भएकोले समुदायको आयबृद्धि हुने लम्सालको विश्वास छ ।यसैबर्ष बुद्धमंगलतालमा पनि १ क्विन्टल भुरा दिने कार्यक्रम छ – लम्सालले बताए ।गतबर्ष बाउन्न घोला सिमसारमा भुरा छोडिएको थियो ।
प्रतिकृया दिनुहोस्