ताजा अपडेट »

कहिले घट्ला कोरोना संक्रमण ?

आइतबार, ०२ जेठ २०७८, ०८ : ०४
6 Shares

बुटवल । छिमेकी भारतमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेर केही मत्थर हुन थालेसँगै नेपालमा पनि त्यस्तै हुने विज्ञहरूले अनुमान गरेका छन् । संक्रमण करिब एक सातासम्म यथावत् रहने वा बढ्ने, त्यसपछि केही समय स्थिर रहेर ओरालो झर्न थाल्ने उनीहरूको अनुमान छ ।

विज्ञहरूका अनुसार गत वर्ष भारतमा संक्रमण घटेको केही सातामै नेपालमा पनि घट्न थालेको थियो । ‘कोभिड–१९ को सन्दर्भमा भारत र नेपालको टाइमलाइनमा दुईदेखि चार सातासम्मको फरक देखिएको छ,’ काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सकी महामारीविद् डा. अर्चना श्रेष्ठले भनिन्, ‘भारतका विभिन्न ठाउँमा संक्रमण तल जाने क्रम सुरु भइसकेकाले नेपालमा पनि दुईदेखि चार सातामा घट्ने देखिन्छ ।’ उनले भारतमा यसै साता कोभिडको संक्रमण बिस्तारै कम हुनेतर्फ लागेको बताइन् ।

‘भारतमा संक्रमण विस्तार भएको केही सातामै हामीकहाँ पनि त्यस्तै भयो । दुई साताअघि भारतमा अक्सिजनको हाहाकार, अस्पतालमा मृत्युलगायतका खबर आएका थिए, त्यस्तै दृश्य यहाँ अहिले देखिएको छ,’ उनले भनिन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. जीडी ठाकुरले पनि न्यूनतम एक सातासम्म कोभिडको केस बढ्दै जाने त्यसपछि स्थिर भएर पुनः कम हुन थाल्ने आकलन गरे । भारतमा कोभिडको दोसो लहर मन्द हुन थालेको संकेत देखिएको ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए । ‘हामीले पनि जेठ पहिलो सातादेखि संक्रमण घट्न थाल्ने अपेक्षा राखेका छौं । जेठ पहिलो साताको अवस्थाले मुलुक कता जाने हो निर्धारण गर्छ ।’

नेपालमा कोभिड–१९ संक्रमण पछिल्ला तीन सातामा अत्यधिक फैलिएको हो । संक्रमितको तथ्यांक उकालो लाग्न थालेको भने चैत अन्तिमबाट हो । गत चैत २९ मा ३ हजार १ सय २५ नमुनाको पीसीआर गर्दा ९.६९ प्रतिशत अर्थात् ३ सय ३ जनामा संक्रमण देखिएको थियो । चैत २९ देखि एक साता अर्थात् वैशाख ४ गतेसम्ममा ३ हजार ९ सय ६६ नयाँ संक्रमित थपिएका थिए । वैशाख ५ देखि ११ गतेसम्ममा १३ हजार ४ सय २९ नयाँ संक्रमित भेटिएका थिए । चैत २९ देखि जेठ १ गतेसम्म १ लाख ६८ हजार ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १७ हजार ९ सय ७१ नमुनाको पीसीआर परीक्षण गर्दा ४४.७७ प्रतिशत अर्थात् ८ हजार ४६ जनामा कोरोना पोजिटिभ देखिएको छ । शुक्रबारको संक्रमण दर ४०.४१ प्रतिशत थियो । वैशाखयता कोभिडले करिब १ हजार ६ सय जनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ ।

६० भन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइएको र धेरै जिल्लामा निषेधाज्ञा दोस्रो सातामा गइसकेको हुनाले भारतीय ट्रेन्डअनुसार यता पनि संक्रमण घट्ने अपेक्षा गरिएको ईडीसीडीका निर्देशक डा. पौडेलले बताए । भारतमा ६ मे (वैशाख २३) देखि कोभिडका नयाँ संक्रमित भेटिने दर घटिरहेको छ । पछिल्ला ६ दिनमा भारतमा कोभिड–१९ को पोजिटिभिटी दरमा ५.६ प्रतिशतले कमी देखिएको छ । कोभिड केसमा समेत ११ प्रतिशतसम्म कमी देखिएको छ । भारतका १८ राज्यमा लकडाउन र १४ राज्य तथा केन्द्र शासित प्रदेशमा आंशिक लकडाउन छ ।

ईडीसीडीका पूर्वनिर्देशक डा. ठाकुरले आफूहरूले नेपालमा संक्रमण विस्तार हुन थालेको समय वैशाख १ लाई मानिरहेका उल्लेख गर्दै भने, ‘त्यस आधारमा ४५ दिनमा संक्रमण उत्कर्षमा पुग्छ । त्यसपछि पहिले जसरी बढेको थियो, त्यसरी नै घट्न थाल्छ,’ उनले भने । उनले शनिबार मुलुकभरको संक्रमण दर ४४.७७ रहेको र यो केही समययता ४५ प्रतिशत हाराहारीमा नै रहेको र ५० प्रतिशतसम्म जान सक्ने देखिएको बताए । केही जिल्लामा संक्रमण दर ७० प्रतिशतसम्म देखिएको छ । जनस्वास्थ्यविद् डा.राजेन्द्र बीसीका अनुसार कोभिड–१९ को पहिलो लहरमा कात्तिक ५ मा सर्वाधिक संक्रमित ५ हजार ७ सय ४३ जना पाइएका थिए । कात्तिक १० मा सर्वाधिक संक्रमणदर ३४.८ प्रतिशत थियो । मंसिर लागेपछि भने संक्रमण घटेको थियो ।

डा. ठाकुरका अनुसार भारतको महाराष्ट्रमा २४ अप्रिल, कर्नाटकमा ९ मे, केरलामा १२ मे, उत्तर प्रदेशमा २७ अप्रिलमा कोभिड संक्रमण उच्च बिन्दुमा पुगेको अनुमान गरिएको छ । हालै चुनाव भएका पश्चिम बंगाल, तमिलनाडु, असम, पुडुचेरीमा नयाँ केसको संख्या बढिरहेको छ । नेपालमा शनिबारको सक्रिय संक्रमित संख्या २४.५१ प्रतिशत अर्थात् १ लाख ९ हजार ७ सय ४० छ । भारतमा भने ३६ लाख ७३ हजार ८ सय २ जना अर्थात् १५.०७ प्रतिशत सक्रिय संक्रमित छन् ।

सरकारले कोभिड संक्रमितलाई समयमै उपयुक्त उपचार सुनिश्चित गरे मृत्युदरमा कमी ल्याउन सकिने डा. ठाकुरले बताए । उनले कोरोनाको तेस्रो लहर आउने सम्भावना जीवितै रहेको पनि बताए । ‘जनस्वास्थ्य मापदण्डमा निरन्तर कडाइ गर्दै सबै नागरिकलाई खोप सुनिश्चित गर्नुपर्छ । अस्पताल, आईसीयू, भेन्टिलेटर अक्सिजनलगायत पूर्वाधार व्यवस्था गरेर उपचारको क्षमता विस्तारमा सरकार केन्द्रित रहनुपर्छ,’ उनले भने । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।