ताजा अपडेट »

जीतगढी विजय उत्सवमा कोरोनाको प्रभाव

मंगलबार, ०७ बैशाख २०७८, १७ : ४९
2 Shares

बुटवल । नेपाल–अङ्ग्रेज युद्धमा नेपालले विजय प्राप्त गरेको ऐतिहासिक दिनको अवसर पारेर आज बुटवलस्थित जितगढी किल्लामा विजय उत्सव मनाइएको छ । विजयोत्सव कार्यक्रम हरेक वर्ष बुटवल उपमहानगरपालिकाको आयोजनामा भव्य कार्यक्रमको आयोजना गरेर मनाउने गरिए पनि यस वर्ष भने कोरोना सङ्क्रमण बढ्ने सम्भावनाका कारण सङ्क्षिप्त कार्यक्रम आयोजना गरियो ।

विसं १८७२ वैशाख ७ गते आजकै दिन नेपालले अङ्ग्रेजलाई सो गढीमा भएको युद्धमा पराजित गरेको थियो । बुटवल उपमहानगरपालिका–१ मा रहेको यो गढी तत्कालीन अङ्ग्रेज सरकारका आधुनिक सेनालाई नेपालले परास्त गरेको ऐतिहासिक किल्ला मानिन्छ । किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले आधुनिक हतियारसहित सुसज्जित अङ्ग्रेज फौजलाई परास्त गरेको थियो ।

बुटवलको जितगढीलगायतका देशका कैयौँ भागमा अङ्ग्रेज फौजले आक्रमण गरेको थियो । जीतगढीमा अङ्ग्रेजलाई हराएको नेपाल अरु किल्लामा भने आफैँ हारेको थियो । सम्पदास्थलमा भएको कार्यक्रममा कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गरियो । साथै वीर शहीदको सम्झना र सम्मानमा श्रद्धाञ्जलि अर्पण गरियो । कोभिड–१९ को महामारीका कारणले यसपाली सार्वजनिक समारोहको आयोजना नगरिएको उपमहानगरले जनाएको छ । सम्पदास्थल किल्ला परिसरमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा विशेष ध्यान दिइएको थियो ।

जीतगढीलाई पर्यटनको केन्द्र बनाउने गुरुयोजना

किल्ला संरक्षण गर्दै उपमहानगरले गुरुयोजना बनाएको छ । गुरुयोजनाअनुरुपका काम अहिले धमाधम भइरहेका छन् । जीतगढीको महत्व र गरिमा नयाँ पुस्तालाई बुझाउने गरी बुटवलले स्थानीय पाठ्यक्रममा यो विषयलाई समावेश गरेको छ । जीतगढीमा उतिबेलाकै झल्को दिने खालको कलात्मक गेट, उस्तै पोशाकका उजिरसिंहको पूर्ण कदको शालिक, उनीसँगै लडेका नेपाली सेनाका १२ कमाण्डरको अर्धकदको शालिक र छेउमा विशाल राष्ट्रिय झण्डा फहराउने गरी गुरुयोजनाअनुरुपका काम अगाडि बढेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।

साथै त्यतिबेला खनिएको सुरुङको उत्खनन् गरी संरक्षण गर्ने काम भइरहेको छ । जीतगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटका आधार क्षेत्र, नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा लिएर त्यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्ने गरी गुरुयोजना बनाइएको प्रमुख सुवेदीको भनाइ छ ।

सन् १८०४ मा नेपालको एकीकरणका क्रममा पाल्पा राज्य गाभिएपछि नेपालको सिमाना अवधसम्म पुगेको थियो । पाल्पाबाट भागेर गएका राजखलक र भारदारले अङ्ग्रेजको साथ लिएर पाल्पा फिर्ता लिन चाहेका थिए । त्यसैकारण नेपाल र अङ्ग्रेजबीचको सम्बन्ध बिग्रिएको थियो । बिग्रिएको सम्बन्ध अन्ततः युद्धमै परिणत भयो । शुरुका युद्धमा हारेको नेपालले जीतगढीमा भने अङ्ग्रेजलाई पराजित ग¥यो । अमरसिंह थापा (साना) का नाति २० वर्षे उजिरसिंह कर्णेल नियुक्त भएपछि उनैको नेतृत्वमा नेपालले अङ्ग्रेजसँग निर्णायक युद्ध लड्यो र जित्यो । उपमहानगरले विजय भएको दिनको मिति यकीन गर्दै विजयोत्सव दिवस मनाउँदै आएको छ ।

सानाकाजी अमरसिंह थापा, सरदार सुर्जे थापा, लेप्टेन अम्बर अधिकारी, कुम्भेदान वृषशुर थापा, कुम्भेदान कृपासुर थापा, जमदार भीमसेन देउजा, जमदार सुरवीर बोहोरा, हवल्दार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, थरघर नकुल बानियाँ, शमशेर रानामगर, काजी वीरभञ्जन पाँडे र जुठे बस्नेतलगायतका वीर नेपाली घरेलु हतियार लिएर तत्कालीन अङ्ग्रेज सेनासँग जाइलागेका इतिहास रहेको छ । जीतगढीमा उजिरसिंहसहित १३ नेपाली वीर सपुतको शालिक निर्माण भएको छ ।

जीतगढी नै पर्यटनको आधार क्षेत्र

सो किल्लालाई उपमहानगरपालिकाले पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी गुरुयोजना बनाएको हो । किल्लासँगैका कभर्डहल, वडा कार्यालयलगायतका संरचाना हटाइएको छ भने अरु संरचना क्रमशः हटाइने छ । जीतगढी किल्ला विश्व इतिहाससँग जोडिएको थलो रहेकाले यसलाई संरक्षण, सम्वद्र्धन र सदुपयोग गर्नेतर्फ उपमहानगर गम्भीर भएर लागेको बताउँदै प्रमुख सवेदीले जीतगढी नै यसक्षेत्रको पर्यटन र इतिहासको आधार क्षेत्र बन्ने दाबी गर्नुभयो । “ संसार जित्दै आएको तत्कालीन अङ्ग्रेजले नेपालमा भने हार्नुप¥यो, कस्तो ठाउँ रहेछ त त्यो भन्दै अङ्ग्रेजका कोही न कोही सन्तान खोज्दै यहाँसम्म आउनेछन्”, प्रमुख सुवेदीले भने, “समृद्धिका आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई सोहीअनुरुप विकास गर्नुपर्ने छ ।”

किल्ला क्षेत्रमा तत्कालीन पहिचान झल्किने वातावरण बनाउन लागिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । उपमहानगरपालिकाले बनाएको जीतगढी गुरुयोजनामा अहिले नेपाली सेनाले सहकार्य गरिरहेको र विभिन्न सेनाका शालिक निर्माण भइरहेको उनले बताए । गुरुयोजना अनुसार दुई बिघा दुई कट्ठा ८।५२ धुरमा पहिलो चरणमा विभिन्न संरचना निर्माण भइरहेका छन् । जीतगढी बटौली युद्ध सङ्ग्रहालयको निर्माण चलिरहेको र त्यो गुरुयोजनाअनुरुपकै अर्को पाटो रहेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिए ।

तत्कालीन मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर पर्यटकीय आकर्षणको स्थल बनाउने बुटवलको योजनामा निजी क्षेत्रकोसमेत सहकार्य रहेको उपप्रमुख एवं अनुगमन समिति संयोजक गुमादेवी आचार्यको भनाइ छ ।किल्लाको आसपासमा पर्खाल लगाएर सङ्ग्रहालय, पार्क, स्मारक, पुरानो बुटवललाई सांस्कृतिक शहर बनाउने र तिनाउ किनारमा रात्रीकालीन बजार बनाउनेसम्मका योजना रहेको उपमहानगरका शहरी विकास महाशाखा प्रमुख वरिष्ठ इञ्जिनीयर सुमन श्रेष्ठले जानकारी दिए । जीतगढी नजिकैदेखि नुवाकोटगढीसम्म निजी क्षेत्रको लगानीमा केबलकार निर्माणको काम शुरु भएको छ भने तिनाउमा जलपर्यटनको योजना बनिरहेको छ ।

रासस
लेखकको बारेमा
रासस