१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

टीकापुर । टीकापुरमा आगोले पोलिएका १७१ को नि:शुल्क शल्यक्रिया गरिएको छ । बर्न इन्ज्युरी (आगोले पोलेको) बाट पीडित बिरामीको उपचार स्थानीयस्तरमै गर्नका लागि टीकापुर अस्पतालमा भएको चार दिने नि:शुल्क शिविरमा १७१ को शल्यक्रिया भएको हो ।

Advertisement

शिविरमा आगोले पोलिएर प्राथमिक उपचार नपाएकै कारण विभिन्न समस्या भएका ७०७ ले उपचार सेवा लिएका छन् । जटिल समस्या भएका १७७ लाई थप उपचारका लागि काठमाण्डौंको सुष्मा कोइराला मेमोरियल अस्पताल रेफर गरिएको छ । शिविरमा पहिचान भएका यी बिरामीको शल्यक्रिया निःशुल्क गरिने सुष्मा कोइराला मेमोरियल अस्पतालका प्लाष्टिक सर्जन डा. सन्तोष भण्डारीले जानकारी दिए । कैलालीको टीकापुरमा पहिलोपटक सर्जनसम्बन्धी समस्या भएका बिरामीको उपचारका लागि शिविर आयोजना भएको हो ।

“बिरामी धेरै आए । हामीले बिहान ८ बजेदेखि राति अबेरसम्म सेवा दियौँ, आगलागी भएर प्राथमिक उपचारसम्म नपाएर नसा खुम्चिएका, घाउ भएकाजस्ता समस्या भएका बिरामी शिविरमा आए”, डा. भण्डारीले भने, “टीकापुर अस्पतालमा सम्भव भएका बिरामीको शल्यक्रिया यहीँ गर्यो, केही दिन निगरानीमा बस्नुपर्ने, लामो उपचार लिनुपर्नेलाई सुष्मा कोइराला अस्पतालमा आउन भनेका छौँ ।” टीकापुर नगरपालिका र जानकी गाउँपालिका, टीकापुर अस्पतालको आयोजना र टीकापुर सरोकार समूहको साझेदारीमा शिविर आयोजना भएको हो । शिविरमा काठमाण्डौंको सुष्मा कोइराला मेमोरियल अस्पतालका विशेषज्ञसहित १६ जनाको स्वास्थ्यकर्मीको टोलीले सेवा दिएको हो ।

टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावल आगोले पोलिएका दूरदराजका मानिसलाई सेवा दिने उद्देश्यले शिविर सञ्चालन भएको बताए । नगर प्रमुख रावलले आउँदा दिनमा आगोले पोलिएर उपचार गर्न समस्या भएका नागरिकलाई नि:शुल्क उपचारका लागि उपचार सहयोग गर्नेजस्ता कार्य शुरु गर्ने आश्वासन दिए । “हामीले अब आगोले पोलिएका मानिसको उपचारमा स्थानीय तहले आर्थिक सहायता दिने कार्यक्रम ल्याउने भएका छौँ”, उनले भने, “पहिलोपटक शिविर आयोजना भएकाले बिरामी धेरै आए । अब यस्तो शिविर वर्षमा दुई पटकसम्म गर्नुपर्छ भन्ने बुझेका छौँ ।”

टीकापुरमा स्वास्थ्य शिविर ल्याउन पहल गर्ने सुष्मा कोइराला मेमोरियल अस्पतालका सल्लाहकार डा. खगेन्द्र भण्डारीले विश्वमा पोलिएकै कारण १८ लाख मानिसको मृत्यु हुने गरेको र नेपालमा प्रत्येक वर्ष ५५ हजार ९०२ मानिसमा बर्न इन्ज्युरीको समस्या रहेको बताए । नेपालमा दुई हजार १०० मानिसको पोलिएर ज्यान जाने गरेको तथ्याङ्क छ । यो उपचार खर्चिलो भएकाले आफूहरु उपचारमा सहयोग होस् भनी टीकापुर आएको उनले बताए । शिविरमा आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने, आगोले पोलेर कपाल गुमाएका, आगोले पोलेर वा जन्मजात हातका औँला टाँसिएका, हात वा खुट्टामा जन्मजात पाँचभन्दा बढी औँला टाँसिएका, जन्मजात ओठ र तालु फाटेका, माशंपेशी खुम्चिएर शरीरको कुनै भाग चलाउन नमिल्ने, विष्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनुपर्ने अवस्था भएका बिरामीको उपचार भएको छ ।

शिविरमा खुट्टाको पैताला भित्रतिर फर्किएको, हात वा खुट्टा काट्टिएको ठाउँमा पाकेर, नचलेर वा अन्य कुनै कारणले पुन: शल्यक्रिया गर्नुपरेमा, कान तथा चिरिएको उपचार, शरीरमा मासु, कोठी, दाग तथा गाँठाको शल्यक्रिया तथा क्यान्सरसम्बन्धी शल्यक्रिया, बिरामीमा खाँटे घाउ भएका बिरामीले समेत उपचार सेवा लिएका छन् । टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपकबहादुर रावलले अस्पतालले यस्ता खाले समस्या भएका बिरामीको उपचारका लागि केयर युनिट सञ्चालन गर्ने सोच बनाएको बताए । “हामी स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरेर आगोले पोलिएका मानिसको तत्काल उपचारका लागि केयर युनिट सञ्चालन गर्ने योजनामा छौँ”, अध्यक्ष रावलले भने, “शिविरमा सुदूरपश्चिमका पहाडी जिल्लाका मानिससमेत आए । यसले स्थानीय तहलाई कस्ता खाले उपचार सेवा दिन आवश्यक छ भन्ने सुझावसमेत दिएको छ ।”

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा