ताजा अपडेट »

अस्तव्यस्त जिल्ला ब्याडमिन्टन संघ, क्लबहरुबाटै राष्ट्रिय स्तरका प्रतियोगिता

आइतबार, २५ माघ २०७७, १९ : ४९
6 Shares

बुटवल । ब्याडमिन्टन खेलसम्बन्धी गतिविधिसँगै युवाहरुको आकर्षण बढीरहेपनि रुपन्देहीको जिल्ला ब्याडमिन्टन संघ भने अस्तव्यस्त अवस्थामा पुगेको छ । ब्याडमिन्टनको विकास तथा खेलाडीहरुलाई संगठित गर्ने उद्देश्यले डेढ दशक अघि स्थापना भएको संघले अपेक्षित गति लिन सकेको छैन ।

लामो समयसम्म पनि स्थापनाकालका व्यक्तिहरु नै नेतृत्वमा रहेको ब्याडमिन्टन संघले गती लिन नसक्दा सरकारी निकायको समेत ध्यान जान सकेको छैन । इन्डोरमा खेलीने यो खेलमा नयाँ पुस्ताको आकर्षण बढे पनि नेतृत्व गर्ने संस्थानै बुढो भएर थला परेपछि खेलाडीहरु निराश हुनुपर्ने अवस्था कायम छ ।

नेतृत्वमा रहेका सदस्यहरुलाई नै संस्थाको स्थापना मिति बारे यकिन छैन । जिल्लामा के कति खेलाडीहरु छन् कुनै लेखा-जोखा छैन । संघमा रहेका आजीवन सदस्यहरु कति छन्, त्यो बुझ्न फाइलनै पल्टाउनुपर्छ । नेतृत्वमा रहेका सदस्यहरुलाई आफ्नो कार्यकालको अवधि कति भयो त्यसका लागि पनि औला भाँच्नुपर्ने अवस्था छ ।

जिल्लाका बुटवल, सिद्धार्थनगर, सैनामैना, देवदह, तिलोत्तमा लगायतका ठाउँहरुमा ब्याडमिन्टन क्लबहरु स्थापना गरी खेल गतिविधि सञ्चाल भइरहेका छन् । गतिविधि बढेसँगै यस खेलप्रतिको आकर्षण बढे पनि जिल्लाको सबैभन्दा पुरानो तथा अभिभावक संस्थानै अस्तव्यवस्त बन्नु ब्याडमिन्टन प्रेमीहरुका लागि दुर्भाग्य हो । संघले सक्रियता नदेखाएपनि जिल्लाका विभिन्न क्लबहरुले राष्ट्रिय स्तरका तथा स्थानीय प्रतियोगिताहरु भने आयोजना गरिरहेका छन् । केहिन दिनअघि बुटवलको लाफा समूहले राष्ट्रिय स्तरको ब्याडमिन्ट प्रतियोगिता सम्पन्न गरेको छ । त्यसअघि रुपन्देहीकै सैनामैना ब्याडमिन्टन क्लबको आयोजनामा राष्ट्रिय स्तरको प्रतियोगिता भयो भने तिलोत्तमाको शंकरनगरमा मेयर कप ब्याडमिन्टन प्रतियोगिता भएको थियो । विभिन्न संघ संस्थाहरुले साना-ठूला प्रतियोगिताहरुसँगै ब्याडमिन्टनको गतिविधि बढेको छ ।

ब्याडमिन्टनप्रति आकर्षण बढे पनि अभिभावकत्व ग्रहण गर्नुपर्ने जिल्ला ब्याडमिन्टन संघ भने आफैलाई खोज्नुपर्ने अवस्थामा पुगेको छ । संघका सचिव जीवन कुँवरका अनुसार आगामी फागुन १५ गते दोस्रो अधिवेशन गर्ने गरी तयारी थालिएको छ । लामो समयसम्म पनि नेतृत्व हस्तान्तरण गर्न नसक्नुको कारण कोभिड-१९ लगाएतका कारणहरु बताउने उनले सदस्यहरुकै कम चासोका कारण पनि नेतृत्व हस्तान्तण नभएको बताए । ‘खेलाडीहरु जिल्लाका विभिन्न ठाउँमा स्थापना भएका क्लबहरुमा आवद्ध छन् । हाम्रो विधान अनुसार क्लबहरुलाई हेर्ने होइन खेलाडीहरुलाई हेर्ने हो ।’-कुँवरले भने, ‘क्लबमा आवद्ध खेलाडीहरुको संघप्रति चासो कम भएर पनि संघ सक्रिय हुन नसकेको हो ।’

लाफा समुह बुटवलको आयोजनामा भएको राष्ट्रिय स्तरको प्रतियोगिता

डेढ दशक अघि दर्जन बढी ब्याडमिन्टनप्रेमीहरुको संक्रियतामा स्थापना भएको संघको अस्तित्वनै गुमनाम हुने गरी अस्तव्यस्त बनेको छ । तत्कालिन समयमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरहवामा काञ्जीहाउसको रुपमा रहेको जग्गामा कभर्ड हल निर्माण गरी ब्याडमिन्टनको विकासमा जुटेका हस्तिहरुनै संघको संस्थापकहरु हुन् । रुपन्देही ब्याडमिन्टन संघको स्थापनाकालका पुराना सदस्य तिलक सिं कोइरालाका अनुसार संस्था स्थापना भएपछि एक पटक मात्रै अधिवेशन भयो । ‘४ वर्षे कार्यकाल रहने संघको नेतृत्वका लागि विभिन्न कारणले अधिवेशन हुन सकेको छैन ।’-कोइरालाले भने ‘नेतृत्व हस्तान्तरण गर्न नचाहेको भन्दा पनि सदस्यहरुले समय दिन नसक्नु हो । यसैगरी कोभिडले गर्दा पनि अधिवेशन रोकिएको हो ।’

विभिन्न प्रतिनिधिहरुका अनुसार महङ्गो खेलका रुपमा रहेको ब्याटमिन्टनप्रति राज्यको पनि ध्यान जान सकेको छैन । खेलाडीहरुले खर्च गर्न सक्ने अवस्था नहुँदा ब्याडमिन्टनप्रति आकर्षण उल्लेख्य रुपमा बढ्न सकेको छैन । राज्यको ध्यान केन्द्रित गर्न तथा खेलको विकासका लागि जिल्ला ब्याडमिन्टन संघलाई पुनःस्थापना गरी सक्रिय गराउनु पर्ने उनीहरुको सुझाब रहेको छ । इन्डोरमा खेलिने खेल भएकाले संरचना निर्माणमै करोडौं खर्च हुनेहुँदा राज्यले लगानी गर्नु पर्नेमा क्बलहरु एकमत छन् । रुपन्देहीका विभिन्न स्थानमा गरी करिब दर्जन कभर्ड हल रहेका छन् भने केही स्थानमा स्थानीय सरकारको लगानीमा निर्माण हुने क्रम पनि सुरु भएका छन् ।

सैनामैना ब्याडमिन्टन क्लबको आयोजनामा भएको राष्ट्रिय स्तरको प्रतियोगिता

बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष गोपाल टण्डनका अनुसार पछिल्लो २÷३ वर्षको अवधिमा मात्रै आधा दर्जन बढी कभर्ड हल थपिएका हुन् । लामो समयसम्म जिल्ला संघ आफैमा गुमनाम जस्तै हुनुको मूख्य कारण आर्थिक समस्या भएको बताउँदै उनले नतृत्वदायि भूमिकामा संघले काम गर्नुपर्नेमा जोड दिए । अवको नेतृत्वले जिल्लामा दर्ता भएका तथा दर्ता नभएका क्लबहरुलाई समेत समेटेर लैजानुपर्ने उनको सुझाब छ । वर्षभरी नै गतिविधिहरु सञ्चालन गर्नुका साथै राज्यसंघ बजेट माग गर्नका लागि जिल्ला संघले नेतृत्व गर्नुपर्ने उनले बताए ।

यसैगरी सोही क्लबका आजीवन सदस्य दिप आचार्यले पनि संघको कार्यप्रति प्रश्न उठाएका छन् । संघको नेतृत्वले नै सक्रियाताका साथ काम गर्न नसक्दा राज्यबाट लगानी प्राप्त हुन नसकेको उनले उनले बताए ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।