ताजा अपडेट »

प्रचण्ड-नेपाल पक्षको आमहड्ताल : बुटवलसहित देशभर बन्दको प्रभाव

विहीबार, २२ माघ २०७७, ०९ : ०६
6 Shares

बुटवल । प्रचण्ड-नेपाल पक्षको नेकपाले गरेको आमहड्तालको प्रभाव बिहानैदेखि बुटवलसहित देशभर परेको छ । बुटवलको  राजमार्ग चाैराहामा बन्दकर्ताहरुले सडकमा ट्याक्टर तेर्साएर सडक बन्द गरेका छन् भने आइसिआइ पथ मिलनचाेकमा भने २ वटा ट्रक राखेर सडक अबरुद्ध पारेका छन् ।

बुटवलको बसपार्कबाट छुट्ने् लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने मोटरसाइकल लगायत केही निजी सवारी साधन  फुट्ट मात्रै चलेका छन् । यता प्रहरीले आमहड्ताल गराउदै हिडेका प्रचण्ड नेपाल समूहका केही कार्यकर्तालाई पक्राउ गरेको छ ।

बिहानैदेखि प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । उज्यालो नहुँदै सामाखसुसीबाट केही युवा पक्राउ गरेको प्रहरीले  कलंकीबाट पनि आधा दर्जन नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । कलंकीबाट नेतृ अष्ठलक्ष्मी शाक्यसहित नेता कार्यकर्ता प्रहरीले पक्राउ परेका  छ । यसैबिच काठमाडौंको गोंगबुमा  ट्याक्सीमा आगजनी भएको छ। बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा बन्दकर्ता आगजनी गरेका छन् ।

सरकारको सिफारिसमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक आयोगका पदाधिकारीहरुलाई शपथ खुवाएको थियो । आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै पद तथा गोपनीयताको शपथग्रहण गराइएको भन्दै त्यसकै विरोधमा आमहड्ताल घोषणा गरिएको हो ।

हड्तालका क्रममा अत्यावश्यक सेवा, परीक्षामा अवरोध नगर्ने नेकपा केन्द्रिय संघर्ष समितिले जनाएको छ । परीक्षा दिन जाने विद्यार्थीले प्रवेशपत्र देखाएर सवारी साधन ल्याउन पाउने बताइएको छ ।

यसैबीच, गृह मन्त्रालयले पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयले आमहडतालका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोधलगायत ध्वंशात्मक एवं अवाञ्छिनीय गतिविधि नगर्न नगराउन सबैमा अनुरोध गरेको छ ।

शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानूनबमोजिम कारवाही हुने समेत गृहले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।