January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

करेसाबारीमा शित्तल

पौरखी पात्रको सफलताको कथा

2.1K

शित्तल थापा क्षेत्रीको माइती गाउँ गुल्मी हो । बसाइँ सराई सरेर उनको परिवार रुपन्देहीको फर्साटिकरमा आइपुगेको थियो । २०६२ सालमा उनले प्रवेशिका परीक्षा गुल्मीबाटै द्वितीय श्रेणीमा उत्तीर्ण गरेकी हुन् । फर्साटिकरमा आएपछि कक्षा ११/१२ पास गरिन् । २०६५ मा तिलोत्तमा ४ विष्णुपुराका अर्जुन पौडेलसँग बिहे गरिन् । न्यू लाइट कलेजबाट २०६८ मा बिएड् उत्तीर्ण शित्तललाई यतिबेला कृषितर्फ जुनियर टेक्निकल सहायक विद्यार्थीका रुपमा सियारीको जनता माविमा पढ्दै गरेको पाउन सकिन्छ ।

भविष्यमा परम्परागत एवम् निर्वाहमुखी कृषिकर्मलाई आधुनिकीकरण र यान्त्रीकीकरण गर्दै निर्यातमुखी कृषि प्रणालीमा मद्दत गर्ने योजना छ । असल एवम् दक्ष कृषि प्रशिक्षक बन्ने सपना बुनेकी शित्तललाई आफू जस्तै महिलाहरुलाई स्वरोजगारी एवम् उद्यमशील बनाउने रहर छ । औपचारिक एवम् कोरा शिक्षाभन्दा कृषिमा आधारित उत्पादनमुखी प्राविधिक शिक्षाले स्वालम्वी र उद्यमी बन्न सकिने भएको हुँदा प्राविधिक शिक्षामा आफ्नो लगाव बढेको शित्तलले सुनाइन् ।

उनले पढेकीमात्र छैनन् । आफ्नो ज्ञान र सीपलाई व्यवहारमा रुपान्तरण गरेकी छन् । हुन त उनले कृषि कर्म थालेको ६/७ वर्ष पुग्यो । काठमाडौंमा रहँदा बस्दा डाक्टर केदार बुढाथोकी र कृष्णमुरारि घिमिरेको समीपमा रहेर जैविक खेती प्रणालीका बारे सिक्ने र जान्ने अवसर प्राप्त गर्दै सिकाईलाई माटोमा फुलाएर फलाएकी थिइन् ।

अहिले आफ्नै घर वरिपरि रहेको डेढ कठ्ठा जग्गामा रहर लाग्दो करेसाबारी बनाएकी छन् । ट्रेहरुमा उनले बेर्ना उत्पादन गरेकी छन् । सिर्जना, सम्झना लगायत जातका गोलभेडाहरु लटरम्म फलेका छन् । भेडेखुर्सानीका बोटले आफ्नै उत्पादन धान्न मुस्किल परेको छ । करेला, घिरौलाहरु झालमा उक्लिदै छन् । करेसाबारीमा फूलका वेर्नाहरु प्रशस्तै देखिन्थे । अन्य स्थानमाभन्दा उनले तरकारी, फूलका बेर्नाहरु सस्तो दरले बेच्ने रहेछिन् । मौसममा पाँच र बेमौसममा आठ रुपैयाामा बेर्ना बेच्दै आएको उनले सुनाइन् ।

करेसाबारीको एउटो कुनोमा सानो माछापोखरी रहेछ । वर्षमा दुईपटक बढी माछाका भुराहरु छाडेपछि डेढलाख रुपैयाँ माछाले आम्दानी दिने कुरा शित्तले सुनाइरहँदा पोखरीमा माछा खेलेजस्तै एकोहोरो मेरो मन पनि खेलिरह्यो । काम नपाएर बेरोजगारी भएँ भन्नेहरुका तस्वीर मेरा आँखामा नाचिरहे ।

उनका करेसाबारीमा काउली,बन्दा,खुर्सानी,टमाटर,भाण्टा फलिरहँदा रहेछन् । विशेष गरी जैविक मल, गड्यौला मल प्रयोग गरी करेसाबारीमा मनग्य तरकारी उत्पादन गर्ने शित्तलले तरकारी, तरकारीका बेर्ना र फूलका नर्सरीबाट एक लाख बढी वार्षिक आम्दानी गर्दै आएकी छन् । मिहिनेती तथा जाँगरिली शित्तल विहानै विष्णुपुराबाट सियारीको अमुवामा रहेको जनता माविमा पढ्न पुग्छिन् । दिउँसो खानासँगै साँझ अबेरसम्म उनको बास करेसाबारीमा नै हुने गर्छ । करेसाबारी उनको विश्वविद्यालयको प्रयोगशाला जस्तै हो । टनेल प्रविधि अपनाएर करेसाबारीलाई थप सुन्दर र आम्दानीमुखी उद्यमका रुपमा पहिचान गराउने शित्तलको भावी योजना छिट्टै पूरा हुनेछ ।

घरमा सासुआमा आशादेवी पौडेल, श्रीमान, आठ वर्षिया छोरी र आफू गरी चारजनाको परिवार छन् । सासु अति नै सहयोगी र कुरो बुझ्ने भएकै कारण उनको पढाई र काममा हरदम सहयोग मिलेको छ । चितवनबाट गड्यौला ल्याएर गड्यौला मल बनाएकी छन् । लकडाउनको चार महिनाको अवधिमा १२ हजारबढी बट्टाईका चल्ला बेचेकी छन् । एउटा पाल्न मिल्ने १५ दिने चल्लालाई ९० रुपैयाँमा बेच्ने शित्तलका अनुसार माउ बट्टाईले ४५ दिनमा अण्डा उत्पादन गर्न थाल्छे । एक क्यारेट( ३० थान) बट्टाईको अण्डालाई तीन सय रुपैयाँ पर्दोरहेछ । चल्लाबाट मात्र उनले करिव एघार लाख आम्दानी गरेकी छन् । अण्डा र मलबाट आउने आम्दानीको हिसाव जोडेकी छैनन् । बट्टाईका अण्डा कोरल्ने मेसीन ४५ हजारमा किनेकी छन् । उनले बट्टाई पाल्न थालेको एक वर्ष दुई महिना बढी भयो ।

शित्तल थापा क्षेत्री नाम जस्तै शान्त र शित्तल स्वभावकी छन् । खासमा उनी जाँगरकी प्रतिमूर्ति हुन् । सासुआमाबाट प्रेरित उनका श्रीमान् संस्थागत विद्यालयमा सामाजिक विषयका शिक्षक छन् । छोरीले एपेक्स स्कूलमा चार कक्षा पढ्दै छिन् । छोटो र मिठो परिवारको करेसाबारी उद्यममा सबैका उत्तिकै सहयोग रहेको शित्तलले सुनाउँदै गर्दा आफू आफ्नो उद्यममा खुसी रहेको बताइन् । आर्थिक रुपमा आम्दानी बढेको, सामाजिक प्रतिष्ठा बढेको, स्वरोजगार सिर्जना भएको र स्वस्थ र निरोगी हुन करेसाबारीको कामले सहयोग पुगेका शित्तलले सुनाइ रहँदा निकट भविष्यमा आफ्नो करेसाबारीलाई नमूना करेसाबारी र उद्यमका रुपमा चिनाउने चिन्तन गरिरहेको बताइन् ।

यतिबेला शित्तलले कोकोपीट, पोली ब्याग समेत बेच्दै आफ्नो ज्ञान र सीपलाई बजारीकरण गरिरहेकी छन् । छिमेकीहरुमात्र होइन अचेल बुटवलबाट समेत उनको करेसाबारीका बेर्ना र तरकारी किन्न आइपुग्दा रहेछन् । उनका लागि यो पनि सफलताको सूचक हो । छिमेकीहरुलाई आफूले जानेका ज्ञान र सीप निःशुल्क रुपले बाँड्दै आएकी छन् । कृषि नै समृद्धिको आधार ठानेकी शित्तलले कृषि कर्मलाई नै मुख्य उद्यम बनाउने सपना बुनेकी छन् ।

पछिल्लो अपडेट