ताजा अपडेट »

अर्घाखाँची सिमेण्टले रुपन्देहीको सियारीमा करोडको स्वास्थ्य केन्द्र बनाउँदै

सोमबार, २२ मंसिर २०७७, ०९ : ४८
10 Shares

भैरहवा । अर्घाखाँची सिमेण्ट उद्योग प्रालिले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं.२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । एक करोडको लागतमा मैनहियामा बन्ने उक्त स्वास्थ्य केन्द्रको भवनको सोमबार एक समारोहका बीच कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले कृषिको बिकासको लागि अहिले ३ वर्षको रणनीति तयार भएको बताए ।

उनले यस अघि कृषि मन्त्री र कर्मचारीले आफूले वितरण गर्न लागेको जबेटलाई स्थानीय तहसम्म पठाउने बताए । "अहिले पौने ५ अर्ब बजेट तल पठाएका छौ, एक महिना भित्र प्रत्येक पालिकामा भन्डारण गर्न मिल्ने गरि गोदाम बनाउने थप १ अर्ब पठाउने तयारी गरेका छौ ।" भुसालले भने । उनले अहिलेसम्मको परिणामले संतुष्ट नभएको र अब कृषि मन्त्रालय राम्रो कामको थालनी गरेको दावी गरे ।

निर्माण पश्चात् उक्त भवनमा सियारी गाउँपालिकाले ५ शैंयाको अस्पताल सञ्चालन गर्नेछ । उद्योगले स्थानीय क्षेत्रमा आफ्नो सामाजिक दायित्व अन्तर्गत सो स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका प्रबन्ध निर्देशक राजेशकुमार अग्रवालले बताए । उनले भने ‘ हामीले यस क्षेत्रमा उद्योग सञ्चालन गरिरहँदा रोजगारसँगै यहाँका स्थानीयको समस्यमा र दुःखमा पनि साथ र सहयोग गर्ने उद्देश्यले स्वास्थ्य सेवाको अभाव महसुस गर्दै सो का लागि स्वास्थ्य केन्द्र स्थापना गर्न लागेका हौं ।’ उनले एक वर्ष भित्र निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्ने बताए ।

सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले उद्योगले स्थानीय स्तरमा विभिन्न सहयोग गर्दै आएको बताउँदै स्वास्थ्य केन्द्र नमुना भएको बताए। उनले भने ‘ हामीले यस स्वास्थ्यकेन्द्रलाई ५ शैंयाको अस्पताल बनाउँदै यसै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने छौं ।’ शिलान्यास समारोह गाउँपालिकाका अध्यक्ष अयोध्या थारु,कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अर्घाखाँची सिमेण्ट उद्योग प्रालिको उद्योग सियारी गाउँपालिकामा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।