७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

टीकापुर । कैलालीको टीकापुरकी रुपा विकको घरमा आठ जनाको परिवार छ । चार बालबालिका छन्, उनीहरु विद्यालय उमेरका छन् । बाँकी तीन जना रुपाका श्रीमान्, देवर र ससुराले घरको काम छुनै मान्दैनन् । दिनभरि घरको कामले फुर्सद नपाउने रुपाको जीवनमा आराम भन्ने छैन । उनका आफ्ना सपना त परै जाओस्, घरको काममा कहिलेकाहीँ परिवारले सघाइदिए हुन्थ्यो भन्ने आशासमेत पूरा हुन सकेको छैन । “बिहान ४ बजेदेखि घरको काम थाल्छु, रातिको १० बजेमात्र सकिन्छ”, रुपाले भने, “तर श्रीमान् र ससुराले कुरा गर्दा काम छैन, घरमै बस्छिन्, खान्छिन् भन्छन्, यस्तोबेला निकै पीडा हुन्छ ।”

Advertisement

रुपाले गाईभैँसी पालेका छन् । उनले दूध बेचेको आम्दानी पनि श्रीमान्ले राखछन् । “मैले दिनभरि काम गरे पनि आवश्यक खर्च मसँग हुँदैन”, उनले भने, “मेरो कमाइमा पनि मेरो अधिकार छैन । म घरको काम गर्ने, बच्चा जन्माउने व्यक्तिजस्तै भएकी छु । पकाएर सबैको स्वाद पूरा गर्छु तर आफ्ना सपना सबै मारेकी छु ।” रुपाजस्तै, धनरुपा जैसीको घरमा पनि यस्तै छ । छोरा मानिसले काम गर्न हुँदैन भन्ने गलत अभ्यास उहाँको घरमा पनि छ । धनरुपाका घरमा श्रीमान्सहित चार जना छोरा छन् तर उनीहरु आफ्ना लुगासमेत धुँदैनन् । “घरमा काम केही गर्दैनन्, पुरुषको काम पैसा कमाउने हो, घरको काम गर्ने होइन भन्छन्”, धनरुपाले भने, “पानी पनि मुखनिरै लगेर दिनुपर्छ । यसरी सेवा गर्न कहाँ सकिन्छ ? तर बाध्यता छ । घरबार बिगार्नु छैन । सहेर बसेकी छु ।”

महिला र पुरुष एक रथका दुई पाङ्ग्राजस्तै हुन् । दुवै मिलेर काम गरे मात्र सफल जीवन जीउन सकिन्छ । दम्पतीबीच हरेक कार्यमा सहकार्य हुनुपर्ने हो । यसो नहुँदा घर संसार चलाउन समस्या सिर्जना हुने गरेको अधिकारकर्मी महिला बताउँछन् । “घर चलाउन दुवैको समान महत्व हुन्छ, तर हाम्रो समाजमा यो काम पुरुषले गर्ने, यो काम महिलाले गर्ने भनेर एक प्रकारको गलत सिमाना थोपरिएको छ”, अधिकारकर्मी नयनतारा श्रेष्ठले भने, “ यसले महिलामाथि हिंसा बढाएको छ । महिलाको प्रगतिमा बाधा पुगेको छ । त्यसैले त सबै विभेद अन्त्यको शुरुआत घरबाटै गरौँ भनिएको हो ।”

युगले कैयौं कोल्टे फेरिसक्दा पनि किन महिलाहरूको भागमा भातभान्सा र चुलोचौका नै परिरहेको छ ? गृहिणी महिलाको त कुरै छोडौं, किन पुरुषसरह घरबाहिरको काममा खटिने र समानस्तरमा काम गर्ने ‘जागिरे’ महिलाहरू पनि घरभित्रको कामको भारी आफ्नो मात्रै थाप्लोमा बोक्न विवश छन् ? “नेपाली समाजमा प्रायः घरभित्रको काम महिलाहरूकै जिम्मा हो भन्ने सोचाइ छ र पुरुषहरूले खाना पकाउने, भाँडा माझ्ने, लुगा धुने गरे इज्जत जान्छ भन्ने मानसिकता छ । तर यो मानसिकतालाई भत्काउने हिम्मत गर्नु त परकै कुरा भयो, झनै यसलाई जोगाउने र उकेरा दिने काम महिलाबाटै भइरहेको हुन्छ”, अधिकारकर्मी श्रेष्ठले भने, “ हामीले घरबाहिर निस्केर पुरुषसरह पढ्ने, जागिर खाने हिम्मत त ग¥यौं तर घरभित्रका कामको बाँडफाँट गर्ने हिम्मत अझै गर्न सकेका छैनौं । घरका पुरुष सदस्यलाई हामी भान्साको काम गर्न दिन चाहँदैनौं । कसैले आफूखुसी भान्साको काम गर्न खोज्यो भने पनि भन्छौं, त्यहाँ फोहोर भयो, त्यहाँ पानी पोखियो, त्यो यस्तो भयो, त्यो उस्तो भयो, भैगो म आफैं गर्छु ।”

गृहिणी महिलालाई भन्दा कामकाजी महिलालाई घर र नोकरीबीचको तालमेल मिलाउनुपर्दा बढी बोझ हुने गरेको शिक्षिका ललिता शाहीले बताए । “आर्थिक व्यवस्थापनलगायत घरको अन्य कामकाजमा पुरुषको सहयोग भए पनि घरको काम, भान्साको काम, सरसफाइ, चाडबाडका समयमा पुरुषले भन्दा पाँच गुना बढी महिला खटिनुपर्छ”, उनले भने, “घरपरिवारबाटै महिलालाई सहयोग गर्नुपर्छ । महिला खुशी भएमात्र घरमा शान्ति हुन्छ ।”

समाज विस्तारै परिवर्तन हुँदैछ । विगतलाई हेर्ने हो भने अहिलेको पुस्ता पहिलेभन्दा परिवर्तन हुँदै गएको देखिन्छ । पहिलेभन्दा घरका अन्य कामकाजमा सहयोग गर्ने पुरुष पनि बढेका छन् । दूरसञ्चार कार्यालय टीकापुरमा कार्यरत ढुण्डीराज खरेल स्वास्थ्यकर्मी रहेकी श्रीमतीसँगै काममा साझेदारी गर्छन् । खरेलकी श्रीमती तारा स्वास्थ्यकर्मी हुन् । टीकापुर अस्पतालमा कार्यरत श्रीमतीको घरमा आफ्नै निजी क्लिनिक पनि छ । “म निकै व्यस्त हुन्छु । अस्पतालमा शल्यक्रिया कक्षमा ड्युटी हुन्छ । निकै थाकेर आउँछु, घर आउँदा श्रीमान्ले खाना पकाइसक्नु भएको हुन्छ”, ताराले भने, “उनले भान्छामा चुलो बाल्ने, बच्चा हुर्काउने काममा सघाउने मात्र होइन लुगा धुने, घर सफा गर्ने सबै काम गगर्छन्। हाम्रो घरमा कुनै विभेद छैन ।”

दुवै जना मिलेर काम गरेका कारण आर्थिक र सामाजिकरुपमा सफल भएको ढुण्डीराजको भनाइ छ । “हामीले मिलेर घरको काममा सहकार्य गरेका कारण सफल भएका हौँ । दुई छोरा डाक्टर पढाउन सक्यौँ, बुहारी पनि डाक्टर छिन्”, उनले भने, “आफैँले काम गर्दा आर्थिक बचत हुनुका साथै स्वास्थ्य राम्रो भयो । श्रीमतीलाई सघाउन के को लाज ? म त गौरव गर्छु ।”

दम्पती मिलेर घर चलाउनुपर्छ भन्ने चेतनाको विकास नभएकै कारण घरमा हुने हिंसा घटेको छैन । मिलेर घर चलाउँदा सहज हुन्छ भन्ने बुझाइको विकास हुन आवश्यक रहेको महिला अधिकारकर्मी कमला केसीको भनाइ छ । “कतिपय पुरुषलाई घरायसी काम वा बच्चाको रेखदेखमा सहयोग गर्दा उनीहरूका साथीभाइ अथवा घरका अन्य सदस्यले कुरा काट्छन् भन्ने पिर लाग्छ तर घरमा नसघाएकै कारण खुशी हराइरहेको पत्तै हुँदैन”, उनले भने, “घरमा काम बाँडफाँट गर्ने परिवारबाट अरुले पनि सिक्नुपर्छ ।”

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने