बुटवल । बुटवल उपमहानगरका लागि महत्वाकांक्षी योजनाका रुपमा रहेको झुम्सा खोला खानेपानी आयोजना विवादका बीच शिलान्यास भएको छ । पाल्पाको तिनाउ-४ झुम्सामा पर्ने मुहानबाट बुटवलमा खानेपानी ल्याउनका लागि विहिबार शिलान्यास गरिएकोमा मुहान प्रभावित क्षेत्रका जनताले असहमती जनाएको गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले बताए ।
तिनाउ गाउँपालिकाले स्थानीय जनप्रतिनिधि तथा प्रभावित क्षेत्रका जनतालाईसमेत जानकारी नदिई आयोजनाका लागि मुहानबाट पानी लैजान स्वीकृत दिएपछि विवादित बनेको हो । आयोजना शिल्यान्स हुनुभन्दा अघिल्लो रात गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ति र प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले गोप्य रुपमा मुहान प्रयोग गर्न स्वीकृती दिएको प्रवक्ता श्रेष्ठले आरोप लगाए ।
मुहान रहेको प्रभावित क्षेत्रका जनताले त्यहाँको जलाधार क्षेत्र संरक्षण, सडक निर्माण, प्रभावितहरुलाई रोजगारी लगायतका विभिन्न मागहरु राख्दै आएकोमा गाउँपालिका अध्यक्षले मनोमानी ढँगले निर्णय लिएपछि स्थानीयले दुःख व्यक्त गरेका छन् । बुटवल उपमहानगरपालिका र बुटवल खानेपानी संस्थानलाई गाउँपालिका अध्यक्षले गुपचुपमै मुहान प्रयोगको स्वीकृती दिएपछि आयोजनाको काम प्रभावित हुने देखिएको छ । ‘हामीलाई पनि हिजो मात्रै यस बारेमा पत्र आएको थियो ।’–ग्लोबल आवाजसँग कुरा गर्दै गाउँपालिका अध्यक्ष घर्तिले भने ‘आयोजनाले प्रभावित क्षेत्रमा संरक्षण लगायतका काम गर्ने भएपछि मुहान प्रयोगको स्वीकृत दिएका हौं ।’ प्रमुख प्रशासकीय अधिकृतसहित आफू दुई जनाले मात्रै निर्णय लिएको स्वीकार गर्दै उनले आयोजना प्रभावित नहोस भन्नका लागि यसो गरिएको बताए ।
प्रभावित क्षेत्रका जनताले जलाधार क्षेत्र संरक्षणका लागि वार्षिक रुपमा बजेटको व्यवस्था, प्रभावितहरुलाई रोजगार, सडक निर्माण लगायतका यस अघि राखेमा माग र सम्झौता विपरित गाउँपालिकाले स्वीकृती दिने निर्णय गरेपछि स्थनीयले विरोध जनाएका हुन् । सहमतीहरु बारे आफूलाई भोलि पल्ट शिलान्यासको दिन मात्रै जानकारी भएको बताउँदै प्रभावित वडामा अध्यक्ष दानबहादुर गाहाले विगतमा भएका सहमतीहरुलाई समेत ख्याल नगरी गाउँपालिका अध्यक्षले निर्णय लिएकोमा दुःख व्यक्त गरे ।
विहिबार शिलान्यास गरिने आयोजनाका लागि अघिल्लो दिन बुधबार तिनाउँ गाउँपालिका अध्यक्ष, बुटवल उपमहानगरापालिका र बुटवल खानी पानी संस्थान बीच सहमती भएको थियो । सहमती अनुसार प्रभावित क्षेत्रलाई भनि जलाधार क्षेत्र संरक्षण तथा वातावरणीय संरक्षणका लागि वार्षिक ४० लाख बजेटको व्यवस्था गर्ने सहमती भएको थियो । बुटवल उपमहानगरले २५ लाख तथा खानेपानी संस्थानले वार्षिक १५ लाख प्रभावित क्षेत्रको जलाधार क्षेत्र संरक्षणका लागि बजेट व्यवस्था गर्ने सहमती भएको संस्थान प्रमुख मोहनदत्त भट्टले बताए ।
त्यस क्षेत्रका स्थानीयहरुले भने वार्षिक ५० लाख बजेट विनियोजन गरिनु पर्ने माग गर्दै आएका थिए । यसैगरी सत्यवती जाने मोटर बाटोको स्तरोन्नती, अति प्रभावितहरुलाई रोजगारको व्यवस्था, पाइपलाइन क्षेत्रहरुमा पर्ने जनतालाई खानेपानीको धाराको व्यवस्था लगायतका माग राख्दै आएका थिए । यसरी उनीहरुले राखेका धेरैजसो मागहरुलाई व्यवास्ता गरी आयोजनाको शिलान्यास भएपछि विरोध सिर्जना भएको हो ।
खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थानले रुपन्देहीको बुटवल उपमहानगरका सबै वडामा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले अघि बढाएको योजनालाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका हुन् । संस्थानले पाल्पाको तिनाउ गाउँपालिकामा अवस्थित झुम्सा खोलामा बाँध तथा ईन्टेक निर्माण गरी उक्त खोलाको पानीलाई प्रशोधन (ट्रिटमेन्ट) गरेर बुटवलमा वितरण गर्न लागेको हो ।
झुम्सा खोलाबाट प्रतिदिन ३ करोड १० लाख लिटर पानी ल्याएर बुटवलमा प्रशोधन गर्ने र त्यहीँबाटै वितरण गर्ने योजना रहेको संस्थानको बुटवल खानेपानी संस्थानले बताएको छ । आयोजनाको ड्याम निर्माण तथा पाइप लाइन विस्तारका लागि दुई वटा टेन्डर भई काम सुरु भएको हो । बुटवल उपमहानगरका सबै वडाहरुमा २४ सै घण्टा खानेपानी उपलब्ध गराउने उद्देश्यले यो आयोजनाको डिजाइन तयार गरिएको छ । करिब ३ लाख जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने संस्थानले जनाएको छ । संस्थानको बुटवल खानेपानी शुद्धीकरण आयोजना पहिलो ठूलो आयोजना हो भने दोस्रोमा पोखराको मर्दी खोला खानेपानी आयोजना रहेको छ ।
खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले पहिलो चरणमा झुम्साखोलामा बाँध निर्माण गर्ने, ट्रस पुल बनाउने र पाइप बिछ्याएर पानी ल्याउने तथा दोस्रो आयोजनाको कामअन्तर्गत बुटवल–३ स्थित रामफेदीमा पानी प्रशोधन प्लान्ट बनाउने र भण्डारण ट्याङ्की बनाएर पानी वितरण गरिने जानकारी दिए । सो आयोजनाको कूल लागत रु ६ अर्ब ३५ करोड ३५ लाख छ ।
प्रतिक्रिया