१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

र प्रत्येक पाइलामा समयको हिसाबकिताब राख्नु थियो । ( देश देशावर पुस्तकको पेज नं. १५२ मा जीवा लामिछानेले लेखेका छन् यो वाक्य) हो ! मैले घरको वल्लो, कोठा पल्लो कोठा, छत, भूइँ तलामा गरेर कोरोनाको कष्टकर अवस्थाको हिसावकिताब राखि रहेको छु । स्वाब परीक्षण गरेको पनि २२ दिन भइसक्यो । १४ दिनमा गर्दा पनि पोजेटिभ देखिएपछि धैर्य गर्न मन लाग्यो तेस्रो परीक्षणका लागि । जीवन परीक्षण न हो । हरपल, हरक्षण, हर पाईलामा हाम्रो जीवनको परीक्षा र परीक्षण भइ नै रहेको सत्य हो । यतिबेला संसारभरका मानिसलाई कोरोनाले परीक्षा लिइरहेको छ । धेरै यो रोगबाट संक्रमित भएका छैनन् । कोही भएका छन् र सकुशल फर्किएका छन् जीवनको लयमा । कोही रोगबाट पार पाउन नसकेर मृत्युवरण गरेका छन् । सबैको हिसाबकिताब डब्लुएचओले राखिरहेकै छ ।

Advertisement

हिमालय बुक हाउसका सञ्चालक माधव गौतमले म संक्रमितलाई सहयोग गर्न घरमै देश देशावर र सिनेमा मन्थन पुस्तक पढ्ने सेवा दिएका थिए । पुस्तक पाएपछि कुन पुस्तक पढुँ पहिला लाग्यो मनमा । एकछिन त दुबै पुस्तक एकैपटक थालें । तर गाह्रो भो पढ्न । यसै त बिरामी मान्छे, अर्को विषयान्तर पुस्तक । अनि थालें देश देशावर पढ्न –घाम ताप्दै, एक खुट्टे चश्मा लगाउँदै, खोक्दै र तातोपानी पिउँदै । (एक दुई दिनमा पढेर सकिन्थ्यो होला तर म रोगीलाई पुस्तक पढ्न पनि पाँच दिन लाग्यो । ) पुस्तक पढ्दै जाँदा देश (भूगोल) भेष, भाषा, भावना, रहनसहन, संस्कृति, संस्कार, सभ्यता र सुरुआती(इतिहास) जातीयता, सुख, समृद्धि, पीडा, व्यथा र जीवनका सार सबै रहेछन् । मलाई भने त्यहाँभित्र रहेका वन,वातावरण,जैविक विविधता र पर्यटनका बारेमा एकसरो मन गयो।

तान्जानियामात्र पाइने एक प्रकारको रुख रहेछ–एमपिङ्गो । जुन काठबाट बाद्यबादनका सामग्री बनाउन सकिदो रहेछ । सरकारले उक्त रुखको संरक्षणमा ध्यान पुराएको रहेछ । त्यसैगरी ४० प्रतिशत् त राष्ट्रिय निकुञ्जले ढाकेको रहेछ । जंगली जनावरको हिसावले यो देश एक नम्बरमा पर्ने सूचना र सन्देशले म प्रफुल्लित भएँ । हाम्रो देशमा रहेको ४४.७४ प्रतिशत् जंगल यहाँ पाइने एकसिंगे गैडा र बाघको संरक्षणका लागि सरकारी तथा गैह्र सरकारी संस्थाहरुले खेलेको भूमिकाप्रति मलाई गौरव लाग्यो । श्रीलंकामा श्रीलङ्काली सेना र विद्रोही तमिल लडाकूहरु बीच ढाइ दशक बढी भएको लडाईले जंगली जनावरहरु त्यसमा नि हात्तीले आफ्नो खुट्टो गुमाउन पुगेको र अनाथालयमा राखिएका हात्तीको पीडादायी अवस्थाले जीवाले जिभ्रो टोकेका छन् । उनले हात्तीको बिस्टालाई प्रशोधन गरी कापी बन्ने र आफ्नो छोरोलाई कापी दिएको सम्झना गरेको छन् अनि भनेका छन्–मेरो गृह जिल्ला चितवनको सौराहमा हात्तीका बिस्टालाई समेत यस्तै प्रशोधन गरेर कापी बनाउन सकिएको भए,कति बिक्थ्यो होला ? उनले आफ्नो मस्तिष्कमा व्यापारिक नक्सा कोरे । आखिर उनी पेसाले व्यवसायिक भएपनि पढाईले त अभियन्ता न हुन् ।

भूगोलले संसारको दोस्रो ठूलो देश क्यानडा तर जनसंख्या जम्मा १५ करोड । संसारमा उपलब्ध पिउने पानी मध्ये २० प्रतिशत् त्यही देश दिएको कुराले जीवन दिने देश ठानें मैले । संसारकै आठौं धनी देश क्यानडा रहेछ । यो कुरा उनले आफ्नो पुस्तकमा गर्वका साथ पेश गरेका छन् । उनले लेखेका छन्–पहिलो यात्रामा दिमागभन्दा धेरै आँखा डुल्छ क्यार । साँच्चिकै उनका आँखा र मस्तिष्क कति छिटो चलेका छन् भन्ने कुरा त पुस्तक पढेपछि थाहा हुने छ । यात्रामा उनले नहेरेका,नदेखेका र नदाँजेका कुरा के पो होलान् ? उनको इन्जिनियरिङ्ग दिमाख हरपल विचार र भावनाको नक्सा कोरि रहन्छ । यही कुरा भेटिन्छ पुस्तक पढ्दा खेरि ।

उनले साइप्रसको यात्रामा त्यहाँको राष्ट्रिय जनावर लज्जालु भेडाको खोजी रहेका छन् । हाम्रा यातायातका साधन छेक्ने गरी बसेका गाईको बयान यहाँ छैन । दूध खाएर छोडिएका थारो गाईको वर्णन समेत छैन । त्यही देशको पाफोस सहरमा एउटा अनौठो रुख रहेछ । जहाँ आफूले मन पराएको मान्छेले लगाएको लुगाको टुक्रा बाध्यो भने अलि दिनमा त्यो मान्छे फर्केर आउँछ भन्ने विश्वास रहेछ । सोही रुखसँग उनले धरान बुढासुब्बाको बाँसको झ्याङ्गमा भक्तजनहरुले धजा वा कपडाको टुक्रा बाँध्दै आएको कुरालाई स्मरण गरेका छन् । यसले एक किसिमको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ भने रुख,विरुवाप्रतिको मानवीय श्रद्धा झल्किएको पाइन्छ । वनप्रतिको गहिरो समभाव पाइन्छ ।

संसारकै लामो नाईल नदी युगाण्डाबाट बग्दै इथियोपिया, सुडान, इजिप्ट, कङ्गो, केन्या, तान्जानिया, रुवाण्डा, बुरुण्डी, इरिट्रियासँगै मितेरी लगाएर भूमध्यसागरमा समाहित हुने कुराले मन सितलो हुन्छ । जुन नदीको मुहान भिक्टोरिया ताल रहेछ । बेलायती सेनाका एक भूगर्भविद् जोन ह्यानिङ् स्केपीले उक्त ताल पत्ता लगाएकै कारण बेलायती महरानी भिक्टोरियाको नामबाट उक्त तालको नामकरण गरिएको रहेछ ।

क्रोसियाको दुब्रोभ्निक सहरमा राता छाना भएका सुन्दर घरहरुमा पर्यटकहरुको अत्यन्तै घुइँचो लागेपछि पर्यटकहरुलाई खुवाउन र सुताउन नसकेपछि स्थानीयहरुबासीहरुले पर्यटकहरुसँग आफ्नो सहरमा कम आइदिन बिन्ति गरेको कुरा पढ्दा अनौठो लाग्यो । नेपालमा त्यस्तो भन्ने दिन कहिले आउला ? कोरोनाले पर्यटन व्यवसाय धरासायी भएको बेला त्यो कुरा पढ्दा त एकादेशको कथा जस्तो पो भान भो मलाई ।

पुस्तक पढिरहँदा धेरै नयाँ नयाँ कुरा थाहा पाइन्छ । जस्तो कि वर्षमा सबैभन्दा धेरै दूध खाने,वियर खाने,कफी खाने देशका नागरिकहरुका नालीबेली थाहा लाग्छ । कुन देशको झण्डामा के छ ? सामान्य ज्ञान पढे जस्तो लाग्छ । आइसल्याण्डमा जनसंख्याभन्दा धेरै कार भएको कुराले मन रोमान्स बनाइदिन्छ । पर्यटक घुमाउनलाई गरिएको व्यवसाय कति फष्टाउँदो छ भन्ने कुराको ज्वलन्त प्रमाण हो त्यो । त्यस देशका १० प्रतिशत् जनताले जीवनमा कम्तिमा एउटा पुस्तक प्रकाशन गर्छन् । यसको अर्थ हामीमा हराउँदै गएको पठन संस्कृतिलाई गिज्याइरहेको भान हुन्छ ।

युद्ध पर्यटन, युद्ध साहित्यका कुराहरु प्रशस्तै छन् पुस्तकमा प्रसंगसहित । त्यी कुराले उनले घुमेका पर्यटकीय गन्तव्यहरुसँग नेपाललाई हरेकपटक दाँजेको छन् उनले तर कहिंकतै नेपालप्रति हीनताबोध छैन । यो नै पुस्तकको गरिमा हो । गौरव हो ।

घुम्न,यात्रा गर्न र यात्राको वर्णन गर्न खुबै मन गर्ने मान्छे हुँ म । यात्रा गरिएका स्थानको भूगोल, संस्कृति, इतिहास तथा विशेषतालाई घोलेर लेख्नु नै यात्रा साहित्य रहेछ भनेर जीवाले लेखेको पढेपछि मनकै कुरा गरिदिए झैं लाग्यो । उनले आफ्नो परिवारसँग धेरै भ्रमण गरिरहँदा खुसी र आनन्द महसुस गरेका छन् । संसारका एकसय ३० बढी देशको भ्रमण गरिसकेका उनले आफ्नो उमेरको २५ प्रतिशत् त आकासमै बास गर्छन् कि झैं पो लाग्यो ।

रुसमा छात्रवृत्ति पाएर इन्जिनियरिङ्ग पढ्न गएको चितवनको एउटा ठिटोले उतै व्यवसायिक यात्रा गरेर नेपाली मन,मुटुलाई जोड्ने संस्थाको अध्यक्ष भएर सफल र सवल नेतृत्व समेत दिइसकेका छन् । यतिमात्र होइन,उनमा भएको ज्ञानको भण्डारलाई सरसर्ती संसार र देश देशावर पुस्तकमा अभिव्यक्त गरिसकेका छन् । अर्थराजनीतिकसँग सरोकार राख्ने उनी र उनको ज्ञानको दायरा फराकिलो रहेछ । नेपाल र नेपालीको श्रीवृद्धि र समृद्धिका लागि उनले खेलेको भूमिका अझै प्रष्टसँग सबैका बीच पुग्न सकेको छैन ।

उनी खासमा को हुन्, के हुन्, कसरी उनी रुस पुगे, पढाइपछि कसरी उनी व्यावसायिक वा उद्यमी बने ? त्यो क्षमताको विकास कसरी भयो ? आज संसारले चिन्ने जीवाको जीवन कथा पुस्तकका रुपमा आउने हो भने धेरैलाई प्रेरणा मिल्न सक्थ्यो । उनको जीवन भोगाईले धेरैलाई उत्प्रेरित गर्न सक्थ्यो । उनले देश देशावर पुस्तकमा छुसुक्क भनेका छन्–सङ्घर्षको त्यो समयमा जम्मा गरेको बीउ पुँजी नै मेरो आजको व्यावसायिक यात्राको जग हो ।

हुन त घर बनेपछि जग पुरिन्छ । आज धेरैले जीवाको जीवन जग हेर्ने रहर गरेका छन् । उनको कथा पढ्न खोजेका छन् अक्षरमा । उनका उत्प्रेरित भनाइहरु प्रत्यक्ष सुन्न चाहेका छन् । नजिकबाट उनलाई हेर्न र स्पर्श गर्न चाहेका छन् । थाहा छैन अहिले उनी कुन देशको आकासमा पक्षीसरि उडिरहेका छन् !

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै