बुटवल । कपिलवस्तुका ‘फुच्चे गाइड’ सम्पर्कविहिन भएको २३ दिनपछि बुधबार फेला परेका छन् । सानै उमेरमा ऐतिहासिक बुद्ध स्थल तिलौराकोट र बुद्धको जीवनी बारे परिचय दिएर र पर्यटकलाई व्याख्या गरी चर्चामा आएका राहुल शाहनीलाई फेला पारेपछि कपिलवस्तु प्रहरीले परिवारको जिम्मा लगाएको छ ।
कपिलबस्तु नगरपालिका-३ घर भएका ११ वर्षिय राहुल गत कार्तिक १७ गते विद्यालय जान भनी घरबाट निस्केका थिए । उनलाई बुधबार जिल्लाको यशोधरा गाँउपालिका वडा नं. ७ मर्यादपुर स्थितमा भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा प्रहरीले फेला पारी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।
राहुललाई फेला पारेपछि उनका बुबा रिंकु शाहनीले ग्लोबल आवाजसँग कुरा गर्दै राहुलको अवस्थामा सामान्य रहेको बताउँदै अन्य विवरण बारे पछि कुरा गर्ने प्रतिक्रिया दिए । सामान्य परिवारका राहुलले गौतमबुद्धले २९ वर्ष बिताएको स्थल तिलौराकोट आउने विभिन्न देशका पर्यटकलाई त्यहाँको भौतिक संरचनाका विषयमा बुझाउने गर्छन् ।
उनीसँग नेपाली, हिन्दी, अंग्रेजी, चिनियाँ, थाईलगायत सात देशका भाषाको ज्ञान रहेको छ । तिलौराकोटको ऐतिहासिक तथ्य र महत्व बारे विस्तृत रुपमा पर्यटकलाई जानकारी गराएर उनी चर्चामा आएका हुन् ।
प्रतिक्रिया