ताजा अपडेट »

थिति नबसेको राजनीति

मंगलबार, ०९ मंसिर २०७७, १९ : १०
16 Shares


यतिबेला करिब दुई तिहाईको जनमत सहित निर्वाचित नेकपा सरकार छ सत्तामा । देशको सामाजिक अवस्था कोभिड–१९ को कहरले अस्तब्यसत भएकोछ । अभिभावकिय दायित्व निर्वाह गर्ने भूमिकामा रहेको सरकार बिलखबन्दमा छ । प्रतिपक्ष गुमनाम छ । पार्टी भित्रको आन्तरकि किचलो छताछुल्ल भएकोछ । अनेक कोणबाट पक्ष बिपक्षमा मानिसहरु आफ्ना भावना सामाजिक सञ्जाल मार्फतअभिव्यक्त गरिरहेका छन् । देशकै ठूलो पार्टी नेकपा फुटको संघारमा पुगेको अड्कलबाजी भैरहेकोछ ।

पछिल्लो किचलोमा म भने तटस्थ र निरपेक्ष रहेर घटनाक्रम नियालिरहेको छु । द्घन्दवादी दर्शनमा विश्वास गर्ने कम्यूनिष्ट विचार आत्मसात गरेको हुँदा विषयको गम्भिरतालाई मैले द्घन्दात्मक हिसाबले हेर्ने गर्छु । द्घन्द वा घर्षण आफैंमा नराम्रो कुरा होइन । यसले कस्तो परिणाम दिन्छ भन्ने कुरा महत्वपुर्ण हुन्छ । भनिन्छ नि संगै सुत्दा गोडा ठोक्किन्छन् । अगुल्टो पनि एकआपसमा ठोसठास नपार्ने हो भने आगो बल्दैन । द्घन्दात्मक भौतिकवादका हिमायती कम्यूनिष्ट नेता कार्यकर्ता कुण्ठित हुन बिवश छन् । विज्ञानसम्मत जीवन्त दर्शन भन्ने बुझेर कम्यूनिष्ट कार्यकर्ता र शुभेच्छुक किङकर्तव्यबिमुढ भएका छन् । पार्टी र सरकारको किचलोले गर्दा कम्यूनिष्ट विचार माथि नै निर्मम प्रहार भैरहेकोछ । प्रतिबाद गर्ने, बहस गर्ने नैतिक धरातल खस्किएकोछ । सरकारले गरेका राम्रा काम मुखरित हुन पाएका छैनन् । पार्टी भित्रको प्रतिपक्षमा धैर्यता देखिँदैन । स्थिरताको नारा दिएर बटुलेको जनमत बिर्सेजस्तो देखिन्छ।

राजनीति हाम्रो जीवनको अपरिहार्य कुरा हो । यो सबै नीतिहरु भन्दा माथि हुन्छ । अंग्रेजिमा एउटा प्रचलित भनाई छ– “राजनीति फोहोरी मान्छेहरुले खेल्ने फोहोरी खेल हो । ” नेपालको राजनीतिक ईतिहास छोटो छ । खास गरेर २००७ सालको परिवर्तनपछि मात्र नेपालको राजनीतिको प्रभाव जनस्तरसम्म फैंलिदै आएको हो । संविधान, अधिकार, स्वतन्त्रता जस्ता कुरामा अहिले हामी धेरैजसो जानकार भएका छौं । राजनीतिक सचेतना बढेकोछ । सत्तरी वर्षको छोटो ईतिहासमा नेपालले ठूलाठूला राजनैतिक परिवर्तन ब्यहोरी सकेकोछ । विश्वमा प्रचलित लगभग सबैजसो राजनीतिक प्रणालीको अभ्यास भैसकेकोछ । सातसातवटा संविधान बनिसकेका छन् । तर बिडम्बना अझैपनि हाम्रो राजनीतिले सहि दिशा लिन सकिरहेको छैन । राजनीतिको थिति बस्न सकेको छैन । अस्थिरता नै नेपाली राजनीतिको पर्याय जस्तो भएकोछ ।

संविधान सभाबाट नयाँ संविधान जारी भएपछि जनअपेक्षा अनुसारको स्थीर सरकार त बन्यो तर त्यसको सकारात्मक प्रभाव सामाजिक आर्थिक क्षेत्रमा आशा गरेअनुसारको भैरहेको छैन । विगतमा पार्टी पार्टी बिचको अन्तरसंघर्षले अस्थिरता देखिन्थ्यो । अहिले झण्डै दुई तिहाइको जनमत पाएको सङ्घीय सरकार समेत अन्तरपार्टी संघर्षको कारणले धर्मराउने अवस्थामा पुगेकोछ । यद्यपि कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष विगतमा जस्ता कुनै सैेद्धान्तिक विषयमा नभएर पद र प्रतिष्ठासँग जोडिनु लज्जास्पद हो । नेता र गुट सापेक्ष कोटरीको साँघुरो राजनीतिले आम जनतामा निराशा उत्पन्न भएकोछ । समृद्ध नेपाल, सुखी नेपाली भन्ने नाराले जगाएको आशामा तुषारापात हुन पुगेकोछ । लोकतान्त्रिक सङ्घीय गणतन्त्रात्मक व्यबस्था संविधानमा त लेखियो तर, व्यबहारमा यो अमुर्त प्रतित भैरहेकोछ । असल राजनीतिक संस्कार निर्माण हुन नसक्दा प्रतिगामी आवाजहरु मुखरित भैरहेका छन् ।

राजनीतिमा गेम थिअरी अर्थात् खेल सिद्धान्त
राजनीति विज्ञानमा राजनीतिलाई एउटा खेलको रुपमा लिएका छन् दार्शनिकहरुले । जहाँ एउटा पक्ष हुन्छ र अर्को प्रतिपक्ष । दुइटाको बीचमा संघर्ष र अन्तरविरोध हुने गर्छन् । यो घर्षणको परिणाम सकारात्मक हुने अपेक्षा गरिन्छ । अर्थात् भनौं राजनीतिक खेलमा कहिले एउटा नेता, पार्टी वा पक्षले जित्छ, कहिले अर्को पक्षले । तर, देश र जनताले हार्ने वा कमजोर हुने परिस्थिती हुँदन ।लोकतन्त्रको अभ्यास गरिरहेका विश्वका देशहरु जहाँ राजनीतिको थिति बसेको हुन्छ त्यहाँको सरकार फेरबदल हुने कुराले देशको सामाजिक आर्थिक विकासमा त्यति ठूलो नकारात्मक प्रभाव पारेको देखिन्न । आबधिक निर्वाचनको माध्यमबाट जनमत बुझिन्छ । सार्वभौम नागरिकले चुनावी प्रकृयाबाट आप्mनो छनोट अभिव्यक्त गर्छन् । तर हामीकहाँ व्यबस्था लोकतान्त्रिक भनिएपनी यथार्थमा कहि गिनेचुनेका नेता र पार्टी र तिनका स्वार्थ वरपर नै राजनीति घुमिरहेको पाइन्छ।

नेपालको सन्दर्भमा भने हरेक ठूला राजनीतिक परिवर्तनमा साथ दिदै आएका जनतामा राजनैतिक परिवर्तनमा साथ दिदै आएका जनतामा राजनीतिले सकारात्मक प्रभाव छोड्न सकेको छैन । यतिबेला सचेत नागरिकहरुमा निराशा र चिन्ता छाइरहेकोछ नेताहरुको जुङ्गाको लडाइले जनता आजित भैसकेका छन् । न सत्ता पक्ष न त प्रतिपक्ष अझ भनौं बैकल्पिक राजनीतिक शक्ति बन्छौं भन्ने कतिपय नेता र पार्टीले पनि यतिबेला सन्तोषजनक प्रदर्शन गर्न सकिरहेका छैनन् । सबै उस्तै हुन कसैलाई पनि देश र जनताको चिन्ता छैन भन्ने अनुभूति भैरहेको छ । एउटा सामान्य खेलका पनि आप्mनै नियम हुन्छन् । खेलाडीका आफ्नै रणनीति हुन्छन् । खेल भावना हुन्छ ।

तर, नेपालको राजनीतिक खेलमा जाल, झेल, षडयन्त्र, धोकाधडी बाहेक केहि देखिन्न । प्रतिष्पर्धा स्वच्छ छैन । चाहे त्यो आम चुनावको बेला होस् वा सत्ता सञ्चालनका दौरान । तीब्र टकरावका साथ निर्धारित समयमा खेल सम्पन्न हुन्छ । समापनसँगै खेलाडिहरुले प्रदर्शन गर्ने हार्दिकताले खेलको मनोरञ्जन मोहक बन्छ । तर, राजनीतिमा किन यसो हुन सकिरहेको छैन ? न क्याप्टेन प्रति विश्वास छ न त रेफ्री प्रति नै ! राजनीतिक खेलका क्याप्टेन प्रधानमन्त्री र पार्टी अध्यक्षहरु हुन् भने व्यवस्थापिका संसद र न्यायालय रेफ्री । प्रेम र युद्धमा जे पनि जायज हुन्छ भन्ने मान्यता स्थापित गर्न खोजेजस्तो देखिन्छ ।

गेम थिअरी अर्थात् खेल सिद्धान्त व्यवहारिक गणितको एउटा शाखा हो । यसको व्यबहारिक प्रयोग आर्थिक र राजनीतिक द्वन्द्व विश्लेषण गर्ने औजारको रुपमा गरिन्छ । जसको प्रयोग समाज विज्ञान, अर्थशास्त्र, जीव विज्ञान, ईन्जिनियरिङ्ग, राजनीति विज्ञान, अन्तर्राष्ट्रिय संवन्ध। कम्यूटर विज्ञान र दर्शन शास्त्रमा हुन्छ । यस्तो प्रयोग कुटनीतिक परिस्थीतिमा व्यवहार बुझ्न गरिन्छ । जहाँ एउटा पक्षले छान्ने विकल्पको सफलता अर्को पक्षको रोजाईमा निर्भर हुन्छ ।

गेम थिअरी समाज विज्ञानमा तार्किक पक्षको महत्वपूर्ण छाता अथार्त् एकिकृत क्षेत्रको रुपमा लिईंन्छ । खासमा यो सिद्धान्त त्यस्ता प्रतियोगिता बुझ्न विकसित गरिएको थियो जहाँ एउटा व्यक्तिलाई दोश्रो व्यक्तिको गल्तिबाट फाईदा हुने अवस्था बन्छ । अर्थात् एउटाको जित (प्लस) हुँदा अर्को पक्षको हार (माइनस) हुन्छ । यसरी खेलको परिणाम/रिजल्ट शुन्य वा जिरो हुन्छ । फुटबल खेल होस् या तास खेल्दा एउटा पक्षले हार्दा अर्को पक्षको जित भैरहेको हुन्छ । वर्तमानको नेकपा किचलो पनि जिरो सम गेममा परिणत हुन्छ या सम्झौतामा टुंगिएर जितजितको अवस्था बन्छ हेर्न बाकी नै छ।

बन्दीको दुविधा (प्रिज्नर्स डिलेमा) र नेकपा भित्रको टकराव
गेम थिअरी नैतिक र मानक व्यबहारसँग सम्बन्धित सिद्धान्तहरु विकास गर्ने प्रयासमा पनि प्रयोग हुन्छ । तर्कसंगत व्यबहार बुझ्न प्रयोग गरिन्छ । हामीले देख्दै आएका छौं कि प्रायः गरेर तीनवटा पक्ष हुन्छन् । खेलाडी, रणनीति, परिणाम (पे अफ) । यो सिद्धान्तले खासमा द्घन्द र सहकार्यको अवस्थाको तार्किक विश्लेषण गर्छ । गेम थिअरीमा बन्दिको अवस्था दुई व्यक्तिबिचमा हुने शुन्य परिणाम खेलको एउटा उदाहरण हो । खेलमा दुई खेलाडीहरुले या त “सहयोग” वा “गल्ती” गर्ने छनोट गर्न सक्छन् । यदि दुबै आरोपितहरुले एक अर्कालाई सहयोग गरे भने दुबैलाई फाइदा पुग्छ । यदि एउटाले मात्र सहयोग गरे धोका दिनेवालालाई फाइदा हुन्छ । तर यदि दुबैले एक अर्कालाई धोका दिएमा दुइटैले हार्छन् ।


चित्रमा दुई व्यक्ति शंकास्पद अपराधका लागि जेलमा छन् । केरकारको क्रममा एउटाले अर्कोलाई धोका दिएर आफु निर्दोष हुन खोज्दा अर्को सजाएको भागिदार हुन्छ । एउटा मौन बसेर अर्कोले धोका दिदा मौन बस्नेलाई जेल सजाय हुन्छ र आफु निर्दोश साबित हुन सक्छ । दुबै मौन बस्दा सन्तुलनको साम्यावस्था बन्छ । दुबैले बराबरी सजाय पाउँछन् । यो परिदृश्यसंग नेकपाभित्रको वर्तमान दाउपेचलाई तुलना गरेर संभाबित परिणाम आँकलन गर्न सकिन्छ । हेरौं कुन पक्षको के रणनिती हुन्छ । सन्तुलन कायम हुन्छ वा दुबै सकिने खेल हुन्छ । वा एउटाले हार्ने र अर्कोले जित्ने शुन्य परिणाममा गएर खेल टुंगिन्छ ? इतिहास दोहारिएला वा राजनीतिको कोर्ष करेक्सन होला ?

२००७ सालपछिको परिवर्तनपछि नेपाली काङ्ग्रेसले दुई तिहाईको जनमत पायो । पार्टी भित्रको किचलोले ०१७ सालमा बहुदलिय व्यबस्था नै अपहरण भयो । ३० बर्ष पछि फेरि ०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भयो । आमनिर्वाचनमा फेरि नेपाली काङ्ग्रेसले सुबिधाजनक बहुमत पायो । आप्mनै आन्तरिक कारणले सरकार ढल्यो । मध्यावधि चुनाव भयो । सरकार बनाउने र ढलाउने खेल शुरु भयो । सन्त नेता किशुनजिलाई भावि प्रधानमन्त्री घोषणा गरेर नेपाली काङ्ग्रेस चुनावमा गयो । जनताले फेरिपनि पत्याए । बहालवाला प्रधानमन्त्री किशुनजि आफ्नै पार्टीको अपहेलनामा परे । संसदमा रुँदैरुँदै संवोधन गरेर राजिनामा गर्न विवश भए । देउवा असक्षम प्रधानमन्त्री करार भए । फेरि प्रतिगमन भयो ।

०४६ देखि ०५६ को एक दशक देशको संसदिय राजनीति अस्थिरताको केन्द्रबन्यो । माओवादी बिद्रोहको सकस बेहोर्नुपर्ने। यावत उतारचढावका बाबजुद पनि नेपाली जनताले लोकतन्त्र, नेता र पार्टी प्रति विश्वास राखि रहे । तर,अहिले फेरि उहिं तितो ईतिहास पुनरावृत्ति हुने खतरा बढ्दैछ । संसदीय व्यवस्था नै नेपाली माटोमा अफाप भएको पो हो कि ? यस्तो भान हुँदैछ । लेनिनले भनेजस्तै के संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो त ? अब देशले राजनीतिक अस्थिरता ब्यहोर्न सक्दैन । आशा गरौं अब हाम्रा नेता, पार्टीहरुमा असल राजनीतिक संस्कारको विकास हुनेछ । ब्यवस्था रह्यो भने सबैको पालो आउनेछ एकदिन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।