ताजा अपडेट »

नागरिकता लिन नक्कली बुवा र आमा

मंगलबार, २५ कार्तिक २०७७, ०५ : १२
14 Shares

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ। वडाध्यक्ष पदमपाणि सुवेदी सहितलाई नक्कली बुवा बनाएको भन्दै कार्यालयले कारबाही गर्न लागेको हो।निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार वडा नम्बर ५ की स्वस्तिका मल्लले नागरिकता लिन खोजेकी थिइन्।  उनले इन्द्रबहादुर मल्ललाई बुवा र मिरा शाहलाई आमा बनाएर नागरिकता लिन खोजेकी थिइन्।

नागरिकता लिन खोज्दा छोरी भनिएकी स्वस्तिकाको जन्म मिति २०५७ असोज १ गते थियो। तर बुवा-आमाको विवाह दर्ता भने वि.सं २०६२ जेठ १६ गतेको पाएपछि प्रशासनले अनुसन्धान अघि बढाएको थियो।  छोरी स्वस्तिकाको जन्मदर्ता विसं २०७० मा गरेको पाइएको छ। जन्मिएपछि जन्मदर्ता कुनै पनि समयमा गर्ने प्रचलन छ। 

जन्म भएको मिति बुवा-आमा भनिएकाको विवाह भएको मितिभन्दा अघि देखिएपछि शंका लागेर प्रशासनले अनुसन्धान गरेको शर्माले बताए। वडा कार्यालयको सिफारिससहित कात्तिक १७ गते नागरिकता बनाउन आएका उनीहरूबाट नक्कली कागजात भेटिएको हो। कागजपत्र पेस भएसँगै कार्यालयले अनुसन्धान सुरू गरी वडा अध्यक्ष, वडा सचिवसहित छ जनाको बयान लिएको छ। अन्य चार जनाको बयान लिने क्रम जारी रहेको कार्यालयले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।