ताजा अपडेट »

सैनामैना बिर्सेको छैन

शनिबार, ०३ साउन २०७७, १२ : ११
12 Shares

तिमीसँग तिनाउ तर्दा, रुन्छ मन छुट्टिनु पर्दा
सैनामैना बिर्सेको छैन …सानो छँदा यो गीत रेडियो नेपालबाट खुब सुनिन्थ्यो । अति नै मन पथ्र्यो । कसले रचे,कसले संगीत भरे र कसले गाए होलान् ठ्याक्कै त थाहा छैन । तैपनि यो गीतले आज समेत मेरो मनमा अड्डा जमाएकै छ । कस्तो होला सैनामैना ,के होला सैनामैना भन्ने जिज्ञासा मनमा ताजै थियो । सैनामैना पुग्ने रहर सानैदेखि थियो ।

सैनामैना दर्पणमा उल्लेख भए बमोजिम सिंगो सैनामैना क्षेत्र अक्षर र लिपिमा नलेखिएको प्राचीन ऐतिहासिक र पुरातात्विक संग्राहलय हो । यस्तो लेखिएको रहेछ । तैपनि पुस्तकका माध्यमबाट सैनामैना पुग्ने प्रयास गरेको छु ।

साविकका पर्रोहा,दुधराक्ष र सालझण्डी गाविसहरु मिलेर सम्वत् २०७३ को फागुन २७ गते सैनामैना नगरपालिका बनेको हो । यो नगरपालिका रुपन्देही जिल्लामा पर्दछ । प्रदेश नं.५ भित्र रहेका एक सय नौं वटा पालिकाहरु मध्ये यो पनि एउटा पालिका हो । ११ वटा वडा रहेको यो नगरपालिकामा सम्वत् २०६८ को जनगणना अनुसार ५५ हजार आठ सय २२ जनसंख्या रहेको छ । अहिले करिब ८० हजार जनसंख्या पुगेको अनुमान गर्न सकिन्छ । सबै जातिको बसोबास रहेको यो नगरपालिका ऐतिहासिक,धार्मिक,सांस्कृतिक,पुरातात्विक एवम् पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण नगरपालिका हो ।

१६२.१८ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो नगरपालिका जिल्ला सदरमुकाम भैरहवाबाट उत्तरपश्चिम दिशामा रहेको छ । यो नगरपालिकाको उत्तरतर्फ पाल्पा जिल्लाको तिनाउ, रैनादेवी छहरा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिका रहेका छन् । दक्षिणमा शुद्धोदन, कञ्चन र गैडहवा गाउँपालिका रहेका छन् । यसैगरी पश्चिममा कपिलबस्तुको बाणगंगा नगरपालिका र पूर्वमा बुटवल उप-महानगरपालिका रहेको छ । यो नगरपालिकामा ऐतिहासिक एवम् पुरातात्विक सैनामैना क्षेत्र,स्वयम् उत्पतिमान शिव ज्योतिर्लिङ्ग पर्रोहा परमेश्वर बोलबम धाम,मलमला मन्दिर, मलमल चौराबाबा, महेरवादेवी, बोलबम पर्यटकीय पार्क, रानी कुवा, रानीबगिया, जर्लैया सीमसार क्षेत्रका कारण आफ्नो पुरानो परिचयलाई नयाँ तरिकाले परिभाषित गर्न खोजिरहेको छ । नेपाल सरकारले घोषणा गरेको सय गन्तब्यमध्ये सैनामैना पनि एउटा नयाँ पर्यटकीय गन्तव्य हो ।

नगरपालिका बनेपछि भएको पहिलो निर्वाचनमा चित्रबहादुर कार्कीको नेतृत्वमा निर्वाचित नेतृत्वले आफ्नो नगरपालिकाले गरेका कार्यहरुको मध्यवाधि समीक्षा र त्यसका उपलब्धिहरुलाई समेत लिपिवद्ध गर्ने काम गरेको छ । आफ्नो स्थानीय साधन,स्रोत तथा संघीय एवम् प्रदेश सरकारको आर्थिक सहयोगमा आफ्नो पालिकाले गरेका उन्नति र प्रगतिका कार्यहरुलाई दस्तवेजीकरण समेत गरेको छ । यो आफैमा ऐतिहासिक काम समेत हो । भोलिका पुस्ताका लागि इतिहास बनाउने काम गरेकोमा नगरपालिका परिवार धन्यवादको पात्र बनेको छ ।

यो नगरपालिकाले विशेष गरेर भौतिक संरचना निर्माण,मानवीय साधन÷स्रोतलाई दक्ष बनाउने अभियान,कृषिलाई आधुनिकीकरण र आम्दानीको मुख्य पेसा बनाउने अभ्यास,पशुपालन र बजारीकरणमा जोड दिएको पाइन्छ । त्यसैगरी शिक्षालाई प्रविधिमैत्री र प्राविधिक तथा सीपमूलक शिक्षामा जोड, नदी, खोलामा तटवन्ध, व्यापार/व्यवसायलाई प्रोत्साहन तथा औद्योगिक नगरी निर्माणका निम्ति पहल गरिएको देखिन्छ । युवा र खेलकूदका क्षेत्रमा गरिएको प्रयास उल्लेखनीय रहेको पाइन्छ । स्वास्थ्यलाई जनतासँग जोडिएको अवस्था छ भने धार्मिक तथा ऐतिहासिक क्षेत्रको संरक्षण र सम्वद्र्धनका निम्ति नगरपालिकाले विभिन्न खाले योजनाहरु तर्जुमा गरेको छ । सुसंस्कृत नगर निर्माणका आधार खडा गर्नका निम्ति विस्तृत योजना तयार गर्ने काम भइरहेका छन् ।

पर्यटनका सहाराले नगरलाई माथि उठाउनका निम्ति चालिएका कदमहरु प्रशंसनीय छन् । पुरातात्विक सम्पदाहरुको संरक्षण र सम्वर्द्धनमा गरिएका प्रयासहरुमा कमी देखिएको छैन । यहाँका भाषा, कला, संस्कृति, संस्कार संरक्षणमा नगरपालिकाको भूमिका पक्कै पनि अब्बल मान्न सकिन्छ । नगरबासीहरुलाई दिइने सेवामा द्रुत गति छ । विकासले फड्को मारेकै छ । सञ्चारको सहारामा विकासका गतिविधिहरुलाई नागरिकका घरदैलामा मात्र होइन जनजनका मनमस्तिष्कमा समेत पुराउने काम भएको छ । सञ्चारमाध्यमसँगको सहकार्यले नगरलाई नौलो उँचाई थपेको समेत पाउन सकिन्छ ।

नगरको ऐन/कानून, यिनमावली, कार्यविधिहरु बनाउने काममा कुनै ढिला सुस्ती भएका छैनन् । जसको सहायतामा नगरपालिका दिशानिर्देशित भएको छ । सेवा प्रवाह,न्याय सम्पादनका कार्यहरुको गतिमा कुनै कमी देखिदैन । जनसभागितालाई पहिलो प्राथमिकतामा राखिएको छ । उपभोक्ता समितिहरुलाई दक्ष, योग्य र कार्यमुखी बनाउने काममा कुनै कञ्जुस्याइँ गरिएको छैन भन्ने कुरा मध्यावधि समीक्षा तथा उपलब्धि पुस्तिकाले झल्काएको छ ।

निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो चुनावी घोषणा पत्रमा राखेका योजनाहरुलाई क्रमशः पुरा गर्दै जाने कामलाई समेत छाडेका छैनन् । नगरप्रमुख आफै केन्द्रीय राजनीतिज्ञहरुसँगको समीपमा छन् भने प्रदेश सरकारसँगको समन्वय, सहकार्यका साथै आफ्नै स्थानीय सरकारका प्रतिनिधिहरुसँगको सहयात्रा र कर्मचारीहरुको सहयोगमा नगरपालिकाले अग्रगति लिएको देखिन्छ ।

खासै विवाद,टसल र पौंठेजोरी खोज्नेहरुको सामना गर्नु परेको छैन नगरप्रमुख र नगरपालिकाले भन्ने देखिन्छ । बाहिरी फेरो, यहाँ देखिएका कामको प्रगति र स्थानीय बासिन्दाहरुको मनोभावले सो कुरा सहजै बुझ्न सकिन्छ । नगरपालिकाले चीनको कान्नान सहरका बीच भगिनी सम्बन्ध कायम गरेको छ । जसको कारण भाइचारको सम्बन्ध बिस्तार भई विकास निर्माणमा समेत पक्कै सहजता मिल्ने छ ।

सैनामैना चक्रपथ, तिनाउ दानव कोरिडोर, सैनामैना ढोरपाटन सडक लगायतका महत्वपूर्ण आयोजनाहरुको रुपरेखा समेत कोरिसकेको यो नगरपालिकाले विपद् व्यवस्थापन, हरियाली प्रवद्र्धन, खानेपानी तथा सरसफाइमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । स्वच्छ नगर बनाउने अभियानमा नगरपालिका खुलेर लागेको छ । नगरलाई व्यवस्थित गर्न आवास योजना र भवनसंहितालाई समेत उच्च प्राथमिकता दिएको पाइन्छ । सामुहिक भवन, सामाजिक संस्कारहरु सञ्चालन गर्ने भवनहरुको समेत व्यवस्थापन गरेको देखिन्छ । राजश्व तथा आन्तरिक आम्दानीलाई तदारुक्ताका साथ उठाउने कामलाई कर्मचारी प्रशासनले जोड दिएको पाइन्छ ।

नयाँ नगरपालिका नयाँ जोशजाँगरसहितका जनप्रतिनिधिहरु र कर्मचारीहरुकै समग्र एकताको प्रतिविम्व नै सैनामैना नगरपालिका हो । समृद्ध नेपाल र सुखी नेपाली निर्माणको अभियानमा यो नगरपालिकाले तर्जुमा गरेका योजना, कार्यान्वयन पक्ष र त्यसको प्रभावकारिता नै काफी छन् । तैपनि देशकै नमूना नगरपालिका बनाउनका निम्ति अझै कसरत जरुरी देखिन्छ । यसका लागि योग्य जनप्रतिनिधिहरु, सहयोगी कर्मचारीहरु, शालीन नगरबासीहरुको हातेमालोसँगै प्रदेश र संघीय सरकारसँग समन्वय, सहकार्य र सम्बन्धलाई विराट बनाउनु पर्ने खाँचो भने छँदैछ । त्यसैले पनि सैनामैना बिर्सेको छैन ।

-( सैनामैना नगरपालिकाको मध्यावधि समिक्षा तथा उपलब्धि-२०७७ का आधारमा लेखिएको )

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।