ताजा अपडेट »

रातारात तिलोत्तमा सडक किनारका रूख काटिए, सिसिटिभिमा देखिए ३ जना

शुक्रबार, १९ असार २०७७, १२ : ४८
48 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको ६ लेन सडकमा रहेका रुख काट्ने ३ जना व्यक्ति सिसि टिभी फुटेजमा देखा परेका छन् । मणिग्रामदेखि उत्तरपट्टी रहेको डिभाइडरमा हुर्किसकेका स्टोनियाका ३२ वटा रुख बिहीबार राति अज्ञात व्यक्तिहरुले काटिदिएका थिए । ‘सडकमा राखिएको सिसि टिभी फुटेजमा ३ जना व्यक्तिले रुख काटेको देखिएको छ ।’-नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिँदै भने प्रहरीले उनीहरुलाई छिट्टै पहिचान गरी पक्राउ गर्ने छ ।

यसअघि गत वर्ष साउन १ गते राति तिलोत्तमा ड्राइभरटोल–नयाँमिल खण्डको ६ लेन सडकको बीचको डिभाइडरमा राखिएका पाँचवटा बुद्धका मूर्ति फोडिएका थिए । ती मूर्ति फोड्नेको अहिलेसम्म पहिचान हुन सकेको छैन । रुख काट्नेको पहिचान गरी हदैसम्मको कानुनी कारबाही गरिने नगर प्रमुख घिमिरेले बताए ।

यसैगरी तिलोत्तमामा राखिएका डस्बिन तोडफोड गर्नेहरुलाई भने नगरपालिकाले पक्राउ गरी कारबाही गरेको थियो । उनीहरुले नगराका सडकमा राखिएका ३० वटा डस्बिन तोडफोड गरेका थिए । प्रति डस्विनको मूल्य ४ हजार परेको नगर प्रमुख घिमिरेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।