काठमाडौँ । ‘सगरमाथा संवाद’को सन्देशसहित हिमाल आरोहणमा निस्किएको सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेका हुन् ।
उनले आज बिहान ९ः२० बजे सगरमाथाको चुचुरोबाट ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका सगरमाथा बेसक्याम्पमा रहनुभएका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिए । छन्त्यालसँगै वङ्दी शेर्पाले पनि सोही समयमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।
जेठ २ काठमाडौँमा जारी सगरमाथा संवादको सन्देशलाई विश्वमाझ प्रवर्द्धन गर्ने उद्देश्यले सद्भावना दूतको रुपमा छन्त्यालले सगरमाथा आरोहण गरेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिए ।
सहायक निरीक्षक छत्यालले गत वैशाख २२ गते छ हजार ११४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । उनी ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिइ सगरमाथा आरोहण लागि गत वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
उनलाई वैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित बिदाइ गरेका थिए । सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय उच्च भूभाग विपद् उपशाखामा कार्यरत छन्।
प्रतिक्रिया