बुटवल । प्रगतिशील इञ्जिनियर्स एसोसिएसन नेपाल (PEAN) लुम्बिनी प्रदेश कमिटीको तेश्रो अधिवेशन भोलि बैशाख २९ गते सोमबार बुटवलमा आयोजना हुँदैछ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको र कार्यक्रम भव्य र गरिमामय रूपमा सम्पन्न हुने विश्वास गरिएको प्रचार प्रसार समिती संयोजक इन्जिनियर हेमराज शाहीले बताए ।
‘गुणस्तरीय इञ्जिनियरिङ सेवा र पूर्वाधार, समृद्ध राष्ट्र निर्माणको बलियो आधार’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो अधिवेशन बुटवल उपमहानगरपालिका–८ स्थित पुष्पलाल स्मृति भवनमा बिहान १० बजेबाट सुरु हुनेछ । कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको छ ।
कार्यक्रममा इञ्जिनियरिङ क्षेत्रका वर्तमान चुनौती, अवसर, सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य, युवा इञ्जिनियरहरूको भूमिकालगायत विविध विषयमा छलफल र प्रस्तुति रहने जनाइएको छ । अधिवेशनले संगठनात्मक दृष्टिले पनि आगामी वर्षहरूको मार्गचित्र कोर्ने कुरा प्रदेश अध्यक्ष इन्जिनियर दिपक भट्टराईले बताए ।
लुम्बिनी प्रदेशका बाह्र वटै जिल्लाबाट प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहने आयोजकको भनाइ छ । साथै, कार्यक्रममा प्राविधिक क्षेत्रका विज्ञ, शिक्षाविद्, राजनीतिक विश्लेषक, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति अपेक्षित गरिएको छ ।
प्रचार प्रसार संयोजक शाहीका अनुसार अधिवेशनमार्फत संगठनको आन्तरिक सुदृढीकरण मात्र नभई, नीतिगत तहमा इञ्जिनियरहरूको आवाज बलियो रूपमा उठाउने कार्यसूची अघि सारिनेछ । उनले भने, “देशको समृद्धि पूर्वाधार विकासमा निर्भर छ र त्यसको मेरुदण्ड भनेको इञ्जिनियरहरू हुन् । अधिवेशन त्यसै दिशातर्फको एउटा सशक्त कदम हुनेछ।”
कार्यक्रमको प्रचारप्रसारदेखि व्यवस्थापनसम्म सबै पक्षमा तयारी सम्पन्न भएको जानकारी दिँदै आम इञ्जिनियर तथा सरोकारवालालाई उपस्थित भई कार्यक्रम सफल प्रदेश अधिवेशन संयोजक इन्जिनियर सुरेश पौडेलले आग्रह गरे ।
प्रतिक्रिया