ताजा अपडेट »

हाम्रो नववर्ष : वर्षप्रतिपदा (चैत्र शुक्ल-प्रतिपदा)

शनिबार, ०१ बैशाख २०८१, ०८ : ०९
58 Shares

राजामारम दास

हामी चैत्र महिना शुक्लपक्षको प्रतिपदा तिथिलाई संवत्सरको पहिलो दिनका रूपमा मनाउने गर्दर्छौँ । हाम्रा पात्रोमा पनि यस दिनलाई वत्सर-आरम्भ अथवा संवत्सर आरम्भ भनी उल्लेख गरिएको पाइन्छ ।

‘संवत्’को सामान्य अर्थ हो वर्ष । यसलाई संवत्सर पनि भन्ने गरिन्छ । पृथ्वीले सूर्यलाई एक पटक परिक्रमा गर्न लाग्ने अवधि अथवा छ वटा ऋतुको एउटा पूर्ण चक्र नै एक संवत्सर हो । र, प्रभवदेखि क्षयसम्म रहेका यस्ता साठी वटा संवत्को चक्रलाई ‘षष्टि संवत्सर’ भनी हामी वैदिक सनातन धर्मावलम्बीले प्रयोगमा ल्याउँदै आएका छौँ । प्रचलनमा आएका सबै संवत्हरूमध्ये सबैभन्दा जेठो र शाश्वत षष्टि संवत्सर नै हो । शाश्वत कुन अर्थमा भने यो कुनै शासक, पैगम्बर अथवा साहुमहाजनका नामबाट चलनमा आएको होइन । सनातन धर्म झैँ यो पनि सनातन छ । यसको गणना तिथि, ऋतुचक्र, सूर्य, चन्द्र र नक्षत्रहरूमा आधारित छ ।

संवत्सर परिवर्तन चैत्र शुक्ल प्रतिपदाबाट हुन्छ । तिथि अनुसार चैत्र महिनाको शुक्ल पक्षको प्रतिपदा तिथिबाट हाम्रो नयाँ वर्ष शुरु हुन्छ । यो गणना चन्द्रमा आधारित र प्रकृतिसम्मत, शाश्वत हो । यसमा कालगणनाको विज्ञान रहेको छ । यस समयमा वसन्त ऋतुको आगमनसँगै वृक्ष–वनस्पतिहरू नयाँ पालुवाले सुशोभित हुन्छन् । वातावरण त्यसै–त्यसै उत्साहजनक र आनन्ददायक बन्दछ । लाग्छ, प्रकृतिले पनि नयाँ वर्षलाई स्वागत गरिरहेकी छन् ।

सौर पञ्चाङ्गका आधारमा राशी चक्रमा सूर्यको गति हुने क्रमलाई ‘दिनगता’ भन्ने चलन छ । त्यसैलाई छोट्करीमा ‘गते’ भनिएको हो । यसरी एक महिना एउटा राशीमा हुँदै १२ वटा राशीको एक चक्रमा मेषदेखि मिन राशीसम्म सूर्यको गति वर्षभरिमा हुने गर्दछ । मेष राशीमा सूर्य प्रवेश गरेको दिन मेष सङ्क्रान्ति, वैशाख १ गते–लाई हामीले नयाँ वर्षको रूपमा मनाउँदै आएका छौँ । यो मान्यता पनि खगोलीय परिवर्तनमा आधारित एवं वैज्ञानिक नै छ । यस दिनलाई भारतवर्षमा कतै गुडी पाडवा, युगादि आदि नामले पनि मनाउने परम्परा छ ।

चैत्र शुक्ल प्रतिपदाका केही विशेषताहरू—
🚩यसै दिन सृष्टिकर्ता ब्रह्माले सृष्टिको रचना गर्नुभएको शास्त्रीय मान्यता छ ।
🚩 घटस्थापना गर्दै वर्षमा पहिलो नवरात्र— वासन्तिक नवरात्र यसै दिन शुरु हुन्छ । हामी देवी भगवतीको आराधना गरेर साधना, शक्ति र सामर्थ्ययुक्त भई आगामी एक वर्ष कर्मशील हुनेछौँ भनी यसै दिन सङ्कल्पित बन्छौँ ।
🚩 त्रेतायुगमा भगवान् श्रीरामचन्द्रको र द्वापरमा पाण्डवज्येष्ठ युधिष्ठिरको राज्याभिषेक भई धर्मराज्य स्थापना भएको दिनका रूपमा पनि यसलाई स्मरण गरिन्छ । यसले हामीलाई आफ्नो जीवनका प्रत्येक पल तथा परिवार एवं समाजलाई धर्ममय बनाउने प्रेरणा प्रदान गर्दछ ।
🚩 यसै दिन सन्त झुलेलालको जन्मदिन मनाइन्छ । उहाँ सिन्ध प्रान्तमा जन्मनुभएको र त्यहाँका स्थानीय हिन्दूहरूको इष्ट देव समेत हुनुहुन्छ । मुसलमान नवाबले सिन्धका सारा प्रजालाई बलात् धर्मान्तरण गर्ने योजना बनाएको थियो । त्यसलाई सन्त झुलेलालले आफ्नो सद्प्रयासद्वारा विफल पारिदिनुभएको थियो ।
🚩 वैदिक धर्मका प्रचारक, आधुनिक कालमा इसाई र इस्लामका भ्रामक विचारको आलोचना गरी हिन्दू जनसमुदायलाई धर्मान्तरित हुनबाट बचाउने, समाज–सुधारक दयानन्द सरस्वतीले यसैदिन आर्यसमाजको स्थापना गरी ‘कृण्वन्तो विश्वमार्यम्’ भनी विश्वलाई श्रेष्ठ बनाउने कार्य थालनी गर्नुभएको थियो ।
🚩 समाजलाई निर्बल बनाउने विभेदहरू पन्छाएर समग्र हिन्दू समाजलाई सुसंगठित र निर्मल पारिनुपर्छ भन्ने भावका साथ विश्वको सबैभन्दा ठूलो स्वयंसेवी संगठन राष्ट्रीय स्वयंसेवक संघको स्थापना गर्नुहुने विचारक डाक्टर केशव बलिराम हेडगेवारको जन्म पनि यसै दिन भएको थियो ।

यी यावत् तथ्यले विश्वमै हिन्दूहरूलाई गौरवान्वित तुल्याउँदछन् । यी विविध सामाजिक–सांस्कृतिक घटनाको स्मरण गराउने तिथिका रूपमा वर्षप्रतिपदालाई हामी श्रद्धापूर्वक मनाउँदछौँ । हामी बाँचेको सृष्टिको पहिलो बिहानीदेखि निरन्तर रूपमा समयको स्पष्ट गणना राख्ने सामथ्र्य हाम्रो कालगणनाले बोकेको । सूर्य झैँ छ, निरन्तर र प्रकाशवान् । मनगढन्त होइन, टुप्पाबाट पलाएको होइन, वेदसम्मत छ अनि विज्ञानसम्मत पनि छ ।

रिसर्च गर्ने पद्धतिको प्रतिपादक प्राचीन ऋषिहरूको गहन खोज, अनुसन्धान, विचार, मन्थन, प्रयोग आदिका आधारमा निर्मित हुँदै आएको छ– हाम्रो संस्कृति र यसैको एउटा अनुपम देन हो ‘वैदिक कालगणना’ । यसैका आधारमा नयाँ संवत्सर आरम्भ चैत्र शुक्ल प्रतिपदा र नयाँ वर्ष (गते अनुसार) मेष सङ्क्रान्ति अर्थात् वैशाख १ गतेलाई भव्यताका साथ उल्लास एवं उत्सवपूर्ण तरिकाले मनाउनु हाम्रो कर्तव्य हुन्छ । हाम्रो नववर्ष विक्रम सम्वत् २०८१ को हार्दिक मंगलमय शुभकामना ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।