ताजा अपडेट »

प्रकृति : ‘च्यालेन्ज’ कि ‘चान्स’ !

मंगलबार, १० पुस २०८०, ०५ : ५५
72 Shares
मंगलबार, १० पुस २०८०
72 Shares

पुष महिना । जाडो महिना । तुसारो लाग्ने । घाम नदेखिने प्रायः । लुगा सुकाउँदा पनि राम्ररी नसुक्ने । फेर्ने लुगा नहुँदा एउटै लुगा महिनौं लगाइने महिना । बदाम खाँदै बदमासी कुरा गर्ने युवा उमेरको मन पर्ने महिना । जिउ तताउन जंगलतिर तरुल खन्न गइने मौसम । महिना । जुम्रा मार्दै जुगका कुरा गर्ने महिना ।

पुष, फासफुस । कवाहतै थियो । तर यतिबेला बुटवलतिर फागुन महिनाको जस्तै घाम लागेको छ । न्यानो छ । तुसारो परेको छैन । थुरथुरी पार्ने जाडो पनि छैन । बदाम खाँदै चउरमा बस्दा घामले चरक्कै पोल्छ । अँ साँचिक्कै ! बुटवलमा औद्यागिक मेला लागेपछि जाडो ह्वात्तै बढ्छ भन्ने चलन थियो । त्यो चलनलाई मौसमले च्यालेन्ज दियो ।

धेरैलाई लाग्दैछ होला किन माघ, फागुनमा जस्तै घाम चर्केको छ, पुषमा ? सुन्दैछु–उच्च पहाडीस्थलतिर गुराँस फुल्न थाल्यो रे ! गहुँलाई चाहिने तुसारो नपरेपछि तराइमा किसानहरु किच्रिक्क परेका छन् । हिमालतिर टिलिक्कै घाम परेको कारण हिउँ अडिन पाएको छैन रे गतिलोगरी । यस्तो किन भयो ?

गएको मंसिर महिनाको १४ देखि २६ गतेसम्म युएइमा कोप-२८ सम्पन्न भयो । ( The Conference of The Parties-COP अर्थात् देशहरुको सम्मेलन, विश्व जलवायु सम्मेलन ) यहाँ जलवायू परिवर्तनका बारेमा ब्यापक छलफल भयो । हुन त कोप–२७ मा पनि नभएको होइन । सम्पन्न विकसित औद्यागिक राष्ट्रहरुले फालेको कार्वडाइअक्सइड, मिथेन, नाइट्रोअक्साइड,भाप र फ्यरिनेटेड ग्यास उत्सर्जित भएर वायुमण्डलमा त्यस्तो एउटा कवच बनाउने गर्छ,जसले पुथ्वीबाट उत्सर्जित हुने ग्यासलाई अन्तरीक्षमा जान दिदैन । त्यसैकारण पुथ्वीको तापक्रम लगातार वृद्धि भइरहन्छ । अर्थात् हरित्गृह ग्यासका कारण पृथ्वीको तापक्रम बढ्दै जान्छ । (विशाल खड्का : पर्यावरणीय संकट) ।

सन् १९८० देखि यता हरेक वर्ष ०.१८ प्रतिशतले पृथ्वीको तापक्रम बढिरहेको छ । सन् २०१६ देखि सन् २०२० सम्ममा १.२ डिग्री सेल्सियस तापक्रम बढिरहेको छ । १.५ डिग्री सेल्सियस तापक्रम बढ्दा पृथ्वीबाट १४ प्रतिशत् वनस्पति र जीव लोप हुनेछन् । अहिलेसम्म जलवायु परिवर्तनका कारण ४७ प्रजातिका लोप भइसकेका छन् भने ११ हजार जीवजन्तुले यसको मार खेपीरहेका छन् । ५० प्रतिशत् कीतपतङ्गले बासस्थान गुमाइसकेका छन् ।

जलवायु परिवर्तनका कारण सन् २१०० सम्ममा संसारका कृषियोग्य ८ प्रतिशत् भूमि मरुभूमिकरण हुँदैछ । त्यसो भएमा हाम्रोजस्तो विकासोन्मुख देशहरु भोकमरीको चपेटामा पर्नेछन् । कारण विकसित एवम् औद्योगिक राष्ट्रका लापर्वाहीको कारण नै हुनेछ । यतिबेला विश्वमा हरितगृह ग्यास उत्सर्जन गर्ने देशहरुमध्ये चीन (२९.१८ प्रतिशत् ), अमेरिका (१४.२ प्रतिशत् ), भारत ( ७.०९ प्रतिशत् ), रुस (४.६५ प्रतिशत् ) र जापान (३.४७ प्रतिशत् ) पर्छन् । ( आठ अर्व मानिसहरुको साझा चुनौती ः पर्यावरणीय समस्या )

हामीले बुझ्नुपर्छ कि जलवायु परिवर्तनका कारण यतिबेला पुषको महिनामा समेत न्यानो पाइरहेका छौं । अहिलेको अवस्था यस्तो छ भने आफै सोच्नुस,भन्नुस त बैसाख जेठ महिनाको तापक्रम कति होला ? चराहरु आकासमा उड्ने छैनन् । बरु उड्दै गरेका चराहरु चर्को घामका कारण भ्वाक्क भ्वाक्क भूइँमा झर्नेछन् । त्यतिबेला मानव जीवनको अवस्था कस्तो होला ? अनुमान गर्न सकिन्छ । गर्मी बढेकै कारण सोमालियामा बाख्राले आफ्नो बर्किम्लो आफै खान थालेको छ । उँटले मरेको उँटको मासु खान थालेको छ । परेवा मांसहारी बन्न थालेको छ ।

त्यहि भएर कोप-२७ बाटै निर्णय भएको विषय हो कि वन,वातावरण र जैविक विविधता संरक्षणमा लागेका देशहरुलाई हरितगृह ग्यास उत्सर्जन गर्ने देशहरुले हानी–नोक्सानी कोष (Loss And Damage Fund ) खडा गरेर क्षतिपूर्ति दिने तर यो कोषमा जम्मा गर्ने भनिएको रकम हालसम्म उक्त देशहरुले कोषमा जम्मा नगरिएको संयुक्त राष्ट्रको प्रतिवेदनबाट थाहा हुन आउँछ ।

मंसिर १५ देखि फागुन १७ गतेसम्मलाई हिउँदयाम भनिन्छ । यस अवधिमा सरदर ६०.१ मिलीमिटर वर्षात् पर्नुपर्ने हो तर यता दसैपछि पानी पर्न सकेको छैन । यसले पनि यो वर्ष गर्मी अत्यधिक बढ्ने संकेत गरेको छ । हिउँदे खेती घट्ने कुरा त कृषिविज्ञहरुले अनुमान गरिसकेका छन् ।

जलवायु अनुकूलनका कामहरु गर्दै जानु अबको हाम्रो बुद्धिमता हुनेछ । जलवायु परिवर्तनका कारण देखा परेका समस्याहरुलाई बेलैमा पहिचान गर्ने र सोही अनुसारका अनुकूलनतामा आफूलाई ढाल्दै अघि बढ्नुको विकल्प छैन । कृषिप्रणालीमा, पशुपालनमा वा रहनसहन, बसोबास वा हाम्रा संस्कार र संस्कृतिमा समेत हामी आफैले ख्याल गर्नुपर्ने समय हाम्रै अघि उभिएको छ ।

बेमौसमा पानीपर्दा आकासतिर फर्केर धारेहात लगाउँदै गाली गर्ने होइन कि बरु ओतिनका लागि छाता, स्यागु,प्लाष्टिका ओताउ जे छ सोही प्रयोग गर्नु नै जलवायु अनुकूलन हो । असारमा पानी पर्न छाडेर साउन,भदौमा वर्षामास् सुरु भएमा सोही अुनसार धानका बीउहरु लगाउनु पर्यो । सोही समयमा फल्ने धान रोप्नु पर्यो । त्यही अनुकूलता भनेको ।

पृथ्वीमा अनेकौ समस्याहरु देखिदै जान्छन् । प्रकृति वा पृथ्वीसँग मुकाबिला होइन समन्वय र समायोजन गर्दै जानुपर्छ । प्रकृतिमैत्री वा प्रकृति अनुकूल हुँदै जान सकिएमा लामो समय बाँच्न सकिने छ नत्र डायनोसर बन्नुको अर्को विकल्प मानवसँग हुनेछैन । प्रकतिसँग च्यालेन्ज होइन, प्रकृतिको अनुपम चान्स लिनु नै सार्थक जीवन जिउनु हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।